देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरस रोकथामको तयारी पुगेन

देशान्तर

कोरोना भाइरस भनेको एकदमै सुक्ष्म जीव हो । एकदमै सानो हुन्छ । टिबि मलेरिया जस्ता रोगको भाइरस अलि ठूलो बनाएपछि साधारण माइक्रोसकोपबाट पनि देख्न सकिन्छ । तर कोरोनाको भाइरस साधारण माइक्रोसकोपबाट देख्न सकिदैन । कोरोना भाइरस विशेष माइक्रोसकोपबाट मात्रै देख्न सक्छौं । भाइरस भनेको स्वतन्त्र अस्तित्व भएको प्राणी होइन । बाच्नका लागि अरुको शरिरमा प्रवेश गर्नैपर्छ । उदाहरणका लागि भाइरस मानिसमा प्रवेश गर्नैपर्छ या अरु जीव जन्तुमा प्रवेश गर्नैपर्छ । मान्छेले खोक्दा बाहिर कुनै ठाउँमा बसेको हुन्छ । केही घण्टासम्म बाहिर त्यसरी रह्यो भने आफै मरेर जान्छ । यदि यस विचमा कसैमा प्रवेश गर्न सक्यो भने फैलिन्छ । यसबीचमा मानिसले हात लगायो भने हातको माध्यमबाट सर्न सक्छ ।

यसको जोखित त्यति धेरै छैन । बर्ड फ्लू पनि भाइरसबाट आएको हो । चराबाट सर्दै घरेलु चरामा सर्‍यो । त्यसको मासु खाने मानिसमा सर्‍यो । बर्ड फ्लूको मृत्युदर अहिले पनि ६० प्रतिशत छ । यसैगरी इबोलाको मृत्युदर ५० प्रतिशत छ । त्यो हिसाबले कुरा गर्ने हो भने कोरोना भाइरसको मृत्यु दर त साढे तीन देखि चार प्रतिशत मात्रै छ । विरामी यसले धेरैलाई पार्छ । किन भने यो स्वास प्रश्वासबाट सर्ने रोग हो । स्वास प्रश्वासबाट सर्ने रोग नियन्त्रण गर्न अलि गाह्रो हुन्छ । किन भने यो मान्छेका कतिपय व्यवहारसँग सम्बन्धीत हुन्छ । हात नधुने, रुमाल प्रयोग नगरेर हाँछ्यु गर्ने मानिसका ब्यवहारबाट सर्छ । जसका कारण ठूलो संख्यामा सर्‍यो । किन ठूलो संख्यामा सर्‍यो भन्दा यो नयाँ भाइरस हो । यस विषयमा पहिला मानिसले जानकारी पाएका थिएनन् । पृथ्वीका ६ अर्ब मानिसलाई नै भाइरसले आक्रमण गर्ने सम्भावना हुन्छ ।

भाइरस मानिसमा प्रवेश गरेको कसैले ७ दिन भनेको छ, कसैले १० देखि १४ दिनमा थाहा हुन्छ भनेको छ । तर यो नयाँ भाइरस भएकाले स्पष्ट कतै पनि भइसकेको छैन । यो केबाट आयो भन्ने पनि छैन र कति दिनमा निस्कन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । अहिले भन्दा मानिसको सरिरमा भाइरस प्रवेश गरेको १० देखि १४ दिनमा रोगको लक्षण देखिन्छ । ब्रिटिस मेडिकल जर्नल ल्याण्डसेट र मेडिकल जर्नल अफ अस्ट्रेलियाले विरामीहरुसँगको कुराकानीको आधारमा के भने भने ८५ प्रतिशत विरामीले मलाई ज्वरो आयो, खोकी लाग्यो र सास फेर्न गाह्रो भयो भन्ने कुराहरु गरे । त्यसबाहेक टाउको दुखेको, घाटी दुखेको कुराहरु पनि बताइएको छ । तर त्यो प्रतिशत सानो छ । १० देखि १५ प्रतिशत मात्रै यस्ता कुराहरु आएका छन् । तर केही विरामीहरुले यसका कारण मेरो होस नै हरायो भन्ने कुराहरु पनि गरेका छन् ।

कोरोनाविरुद्धको तयारी हामीले राम्रोसँग गर्न सकेका छैनौं । २००२ मा सार्स आयो, त्यसका लागि एक डेढ महिना एयरपोर्टमा हेल्थ डेस्क राखियो, त्यसलाई निरन्तरता दिइएन । तीन महिनापछि स्वास्थ्य मन्त्रालयले स्टाफहरु फिर्ता गरिदियो । २००९ मा स्वाइन फ्लू आयो पछि यो ‘एच वान एन वान’ भयो यसमा पनि तीन महिना एयरपोर्टमा स्टाफहरु राखियो त्यसपछि हटाइयो ।

२०१४ मा इबोला आएपछि हेल्थ डेस्क भने निरन्तर चलिरहेको छ । तर यस बीचमा केही समय स्टाफहरु खालि भएको थियो । यस विचमा चिकित्सकहरु धेरै चाहिन्छ, अस्पतालको व्यवस्था, जनशक्तिको तालिम लगाएतका कुराहरुमा भने ध्यान दिन सकेका छैनौं । अहिले सरुवा रोगबारे राम्रो अध्ययन गरेको एक जना मात्रै डाक्टर अनुप वास्तोला मात्रै हुनुहुन्छ । त्यसबाहेक यो विषयमा तालिम लिएको अर्को चिकित्सक स्वास्थ्य मन्त्रालयसँग छदैछैन । सरुवा रोगको नमूना संकलन गर्ने ल्याबमा बस्ने तालिम लिएकाको संख्या पनि कमि छ । नर्सहरुको पनि कमी छ । बर्ड फ्लूको बेला धेरै जनालाई तालिम दिइएको थियो । उहाँहरुलाई सरुवा नगर भन्दा भन्दै टेकु अस्पतालबाट कता कता लखेटियो ।

नेपालको तयारी भनेको जतिबेला आवश्यक पर्छ त्यतिबेलाबाट मात्रै शुरु गर्ने प्रचलन छ । यो एकदमै घातक हुन्छ । कानुनी आधार पनि तयार छैन । एयरपोर्टबाट तलाई कोरोना भाइरस लाग्यो भनेर समातेर टेकु अस्पतालमा लगेर भर्ना गर्न पाइदैन । नेपालको संविधानले कुनै पनि अधिकारीलाई त्यस्तो गर्ने अधिकार दिएको छैन । यो अधिकार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मात्रै हो । स्थानीय प्रशासन ऐन र सरुवा रोग ऐन लगाएर काम गर्न सक्छन् । विरामीहरुलाई अस्पतालमा राख्ने, प्रहरी खटाउने काम गर्न सक्छन् । स्थानीय प्रशासनमा त प्रहरी र सैनिक परिचालन गर्न सक्ने कुराहरु त लेखिएको छ । सरुवा रोग ऐनमा पहिला प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने अधिकारलाई काटेर स्वास्थ्य मन्त्रालयले तोकिएको बमोजिम भनेर राखेको छ । तर अहिलेसम्म यस विषयमा कुनै कुराहरु तोकिएको छैन । प्रयोगशालाको व्यवस्था, अस्पतालमा कुनै पनि श्यैया ८० प्रतिशत भन्दा बढी प्रयोग हुनु हुँदैन । बीर अस्पतालमा १०० प्रतिशत बेडमा विरामी राख्न पाउँदैन । यस्तो आवश्यकता हो भने अरु १०० बेड थपेर खाली राख्नु पर्छ । दुर्गमका सरकारी अस्पतालमा त बेड खाली होलान तर शहरका कुनै पनि सरकारी अस्पतालमा बेड खाली छैनन् । औषधीको भण्डारण गर्नुपर्ने, मान्छेलाई ‘क्वारन्टाइन’मा राख्ने सुविधा, धेरै जना विरामी भए भने कहाँ राख्ने योजना केही पनि छैन । यस्तो प्रकोप शक्तिशाली मुलुकले पनि थेग्न गाह्रो भइरहेका बेला हामीले पूर्व तयारी भने गर्नुपर्छ । त्यसका लागि पहिला नै योजनाहरु बनाएर बस्नु पर्ने अवस्था रहन्छ । अहिले २ सय जनालाई कोरोना भाइरसको टेस्ट गर्नु पर्ने अवस्था आयो भने यसको सुविधा हामीसँग छैन । यदि ती मानिसलाई भर्ना गर्नुपर्ने अवस्था आयो भने अस्पताल छैन । एन्टी भाइरल औषधी पनि उपलव्ध छैन । २ सय जनालाई उपचार गर्नका लागि डाक्टर र नर्सको एउटा ब्रिगेड नै तयार गर्नुपर्छ ।

तीन सिफ्टमा काम गर्नुपर्ने हुन्छ । त्यसरी काम गर्ने जनशक्ति हामीसँग छैन । मास्कको उपलव्धता छैन भने त्यस्ता विरामीसँग जाने चिकित्सकहरुले लगाउने विशेषखालको ड्रेस हुन्छ, त्यो कम्पितमा ५० हजारदेखि १ लाख सम्म राख्नु पर्ने त्यो पनि छैन । ४० जनालाई आईसीयूमा राख्नु पर्ने अवस्था आयो भने राख्ने ठाउँ पनि छैन । कुनै एरियमा ५० जनालाई देखियो भने त्यो एरिया नै सिल गर्नुपर्छ । सिल गर्ने अधिकार गृहमन्त्रालयले सिडीओलाई दिनु पर्नेहुन्छ । त्यस एरियाका सबै क्षेत्र शिल गरेर प्रहरी र आवश्यक परे सेना सम्म परिचालन हुनुपर्नेमा त्यसको आधार नै तयार भएको छैन । यसरी हेर्दा हाम्रो तयारी लोसे नै छ ।

हामीले नमस्कार गर्ने कामलाई नै निरन्तरता दिनु पर्छ । यो हाम्रो पुरानो संस्कार पनि हो । अंकमाल गर्ने, हात मिलाउने काम पहिला गरिएको थिएन । ३०-४० वर्ष अघि विदेशी डेलिगेशन आउँदा तत्कालिन सम्बन्धीत व्यक्तिहरुले हात मिलाउन शुरु गरेका हुन् । नेपालीले नेपालीसँग अहिले हात मिलाने फेसन नै भएको छ । दिनभरीमा कतिजनासँग हात मिलाइन्छ त्यो गन्नै नसकिने अवस्था छ । हात मिलाउँदा हातमा लागेको भाइरसले धेरै मानिसमा फैलाउँछ । हामीले अहिले गर्नुपर्ने काम भनेको हात नमिलाउँ, अंकमाल नगरौं र नमस्कार गरौं । साथै मास्कको पनि प्रयोग गरौं । अहिलेसम्मको अनुसन्धानले के पनि देखाएको छ भने दुई जना मानिसको दूरी कम्तिमा डेढ मिटर भयो भने खोक्दा पनि सर्दैन भन्ने देखाएको छ । साथै हामीले पटक पटक सावुन पानीले हात धुन जरुरी छ । साथै हामीले साना बच्चा देख्दा छुने र उनीहरुलाई म्वाई खाने प्रचलन पनि बढेको छ । यसलाई रोक्नु पर्छ । म त भन्छु अरुका बच्चा छुनै नपाइने गरि कानुननै बनाउन जरुरी छ । ठूला व्यक्तिहरुले बच्चालाई छुँदा म्वाई खाँदा अन्य सरुवा रोगहरुको पनि धेरै जोखिम हुन्छ ।

(डा. मरासिनी इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख हुन् ।)