पेरू । पेरूको उत्तरी क्षेत्रमा ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार विहानै आएको भूकम्पका कारण घरभित्र बसीरहेका स्थानीयबीच केही समय भागदौड मच्चिएको थियो भने भूकम्पपछि उक्त क्षेत्रमा विद्युत सेवा आइतबार दिनभर अवरूद्ध भएको छ ।
ग्रीनवीच समय अनुसार ७:४१ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरूको दक्षिणपूर्वी शहर लागुनासबाट ७५ किलोमिटर टाढा ब्राजिलीयाली सिमाना क्षेत्रमा ११० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जानकारी गराएको छ ।
भूकम्प शक्तिशाली भएको र यसको धक्का, मध्य तथा उत्तरी पेरू र छिमेकी मुलुक इक्वेडरमा समेत महशुस गरिएको बताइएको छ ।
भूकम्पका कारण भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त हुन सकेको छैन तर शक्तिशाली धक्का महशुस भएकोले यसबाट मानवीय क्षति तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पका कारण पुगेको क्षतिको विवरण लिन प्रहरी तथा स्थानीय समुदाय गाउँगाउँमा खटिइरहेको बताइएको छ ।
जमिनको सतहदेखि निकै गहिराइमा केन्द्रविन्दु रहेकाले यसबाट जमिनको सतहमा न्यून क्षति हुने गरेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पपछि पनि पराकम्पन आउनसक्ने भयमा घरभित्र पस्न वा आफ्नो काममा फर्किन नसकि खुला ठाउमा घुमिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्थानीयहरूले भूकम्पका कारण केही घरहरू भत्केका र थुप्रै निजी तथा सार्वजनिक भवनहरूमा आंशिक क्षति भएको बताएका छन् ।
प्रतिक्रिया