देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा आज निर्वाचनः मोदीको जीवनीमा आधरित चलचित्रमा बन्देज

देशान्तर

काठमाडौँ । भारतमा आज बिहीवार लोकसभाको पहिलो चरणको मतदान शुरु भएको छ । १८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन् । मतदान बिहान ७ बजे शुरु भएको छ । प्रमुख निर्वाचन आयुक्तले सबै मतदातालाई अत्यधिक रूपमा मतदान गर्न आह्वान गरेका छन् । केन्द्रमा सरकार बनाउन ७ चरणमा निर्वाचन हुँदै छ ।

पहिले चरणमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानाका सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ । साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शन गर्नु आचारसंहिता उल्लंघन भएको भन्दै उजुरी परेपछि तत्कालका लागि प्रदर्शनमा रोक लगाइएको हो ।

निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफैं निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी निर्वाचन नसकिँदासम्म चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाएको छ । भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर लोकसभा निर्वाचन हुन लागेको छ ।

निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुन लागेको छ । प्रमुख प्रतिस्पर्धी कंग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो ।

निर्वाचनको स्वार्थ देखिएको भन्दै कंग्रेसले उठाएको विषयमा आमसमर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई महसुस गरी प्रतिबन्ध लगाउने निर्णय ग¥यो ।

प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायले खेलेका छन् । चलचित्रमा मोदीले बाल्यकालमा रेलमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा भाजपामार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रूपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ ।

त्यसैगरी गुजरातको मुख्यमन्त्री भएको बेला उनले अनुकरणीय काम गरेको, ठूलाठूला समस्या समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको निर्माताले जनाएका छन । समग्रमा मोदीको सफलता देखाउने र उनीप्रतिको आकर्षण बढाउने मनसाय चलचित्रमा समेटिएको छ । यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक साताअघि अर्थात् अप्रिल ५ मा प्रदर्शन गर्ने भनिए पनि फेरि रोकिएको थियो । अहिले प्रदर्शनको तरखर भइरहेका बेला फेरि निर्वाचन आयोगले रोकिदिएको हो ।