काठमाडौँ । हिजो मध्यरातबाट परिरहेको वर्षा र उच्च पहाडी भेगमा हिउँ परेका कारण मुलुकका विभिन्न गन्तव्य जानुपर्ने पाँच दर्जन हाराहारी उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुनुपर्ने ती उडान प्रतिकूल मौसमका कारण रद्द भएका हुन् ।
मंगलबार मध्यरातदेखि परेको वर्षा जारी रहनुका साथै उच्च पहाडी भेगमा हिउँ परेपछि उड्डयन मौसम प्रतिकूल भएको छ । यसबाट ‘भिजिबिलिटी’ (दृश्यांश) शून्य हाराहारी भएपछि उडान रद्द भएका हुन् । पानी परेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले आज बिहानदेखि तालिकामा रहेका पाँच दर्जनहाराहारी उडान रद्ध भएको बताए ।
आचार्यका अनुसार त्रिभुवन विमानस्थलबाट आज बिहानका लागि तालिकामा रहेका सबै पर्वतीय उडान (माउन्टेन फ्लाइट) रद्द भएका छन् । मौसम खुलेका बेला काठमाडौंबाट दैनिक डेढ दर्जनसम्म माउन्टेन फ्लाइट हुने गरेका छन् । हाल बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सिम्रिक एयरले माउन्टेन फ्लाइट गर्दै आएका छन् ।
त्यसैगरी काठमाडौंबाट प्रमुख आन्तरिक विमानस्थल लुक्लाका लागि हुनुपर्ने डेढ दर्जन नियमित उडान सबै रद्द भएको आचार्यले बताए । फाप्लु जाने तालिकाका उडान पनि कुनै नभएको उनले जानकारी दिए ।
हाल त्रिभुवन विमानस्थलबाट तारा एयर, सीता एयर र समिट एयरले लुक्ला उडान गर्दै आएका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले लुक्ला तथा फाप्लुमा हिउँ परेका कारण त्यसतर्फ जानुपर्ने कुनै पनि उडान नभएको जानकारी दिए । सुगम भेगका विमानस्थलतर्फका उडानमा खासै समस्या नआएको भन्दै उनले देशभर मौसम प्रतिकूल भए पनि अन्तर्राष्ट्रिय उडान–अवतरणमा समस्या उत्पन्न भएको बताए ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता आचार्यका अनुसार आज नेपालगन्ज र सुर्खेत विमानस्थलबाट पश्चिमतर्फका दुर्गम विमानस्थल जानुपर्ने सबै उडान रद्द भएका छन् । जुम्ला, हुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यका सबै उडान नभएका हुन् ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले प्रतिकूल मौसमका कारण आज बुधबार तालिकामा रहेका आफ्नो कम्पनीका सबै माउन्टेन फ्लाइट रद्द भएको जानकारी दिए । मौसम सामान्य भएका बेलामा बुद्धले दैनिक दर्जनहाराहारी माउन्टेन फ्लाइट गर्दै आएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार सामान्य दिनमा दैनिक करिब ४ सयहाराहारी आन्तरिक उडान हुने गरेका छन् । काठमाडौंबाट पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भरतपुर, नेपालगन्ज, भैरहवा, धनगढीलगायत सुगम भेगका विमानस्थलका उडानमा प्रतिकूल मौसमले कुनै समस्या पारेको छैन ।
प्रतिक्रिया