देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रिटिश भर्जिन आइल्यान्डमा म र मेरो परिवारको नाममा कुनै कम्पनी छैन : चौधरी

देशान्तर

काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके)ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि उद्योगी÷व्यवसायी अरुणकुमार चौधरीले आपत्ती जनाएका छन् ।

उद्योगी अरुणकुमार चौधरीले विज्ञप्ति प्रकाशित गरेर आफूहरुले सञ्चालन गरेका कुनै पनि परियोजनामा विदेशी लगानी नल्याएको प्रस्ट पारेका छन्। उद्योगपति चौधरीले ब्रिटिस भर्जिन आइल्यान्डमा आफ्नो नाममा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा त्यस्तो नभएको दाबी गरेका छन्। ‘म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु। जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रस्ट हुन्छ,’ चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘सो कम्पनीको सेयरहोल्डर भनी छोराहरुको नाम जोडिएको छ त्यो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो।’

केटाकेटी सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भन्दा पनि नखोलेको उनले जनाएका छन्। ‘ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला,’ चौधरीको विज्ञप्तिमा भनिएको छ। त्यसैगरी, ट्याक्स हेवनमा दर्ता रहेका भनिएका दुई विदेशी कम्पनीमा आफूहरुको साझेदारी नरहेको चौधरीले बताएका छन्। ‘मेरो कुनै पनि स्विस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिङ्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन,’ विज्ञप्तिमा भनिएको।

अहिलेसम्म आफ्नो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडिआई) नआएको चौधरीले जनाएका छन। ‘मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीमा म र मेरो श्रीमती बाहेक अरु कसैको लगानी छैन। मेरा कुनै पनि कम्पनीमा एफडिआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस्,’ चौधरीको चुनौती छ। विदेशमा लगानी सम्बन्धी ऐनको व्यवस्थालाई आफू र परिवारका सदस्यले पूर्ण रुपमा पालना गर्दै आएको र आगामी दिनमा पनि अक्षरशः पालना गर्ने चौधरीको प्रतिबद्धता छ।