काठमाडौं । नेपाली कामदारहरू मलेसिया जान नपाएको महिनौं भइसक्यो । सरकारले सिन्डिकेट खारेज गरेको घोषणा गर्दै मलेसिया सरकारसँग नयाँ श्रम सम्झौता गरेसँगै नेपाली कामदारलाई मलेसिया जाने बाटो अवरुद्ध हुँदै आएको छ । मन्त्रालय स्रोतका अनुसार अब नयाँ श्रम सम्झौताबमोजिम नेपाली कामदार आपूर्तिका लागि नयाँ व्यवस्था लागू गर्ने तयारी सुरु गरेको छ । नयाँ व्यवस्था लागू भएसँगै नेपाली कामदारको लागि मलेसियाको बाटो खुल्नेछ ।
मलेसियाले नयाँ व्यवस्था लागू गर्ने चाल पाएसँगै फेरि त्यसमा सिन्डिकेट कायम गरेर व्यवसाय हत्याउने खेल सुरु भएको छ । मलेसियामा कामदार आपूर्तिका लागि फेरि नयाँ भेन्डर भित्र्याउने खेल सुरु भएको हो । यो खेलमा दर्जनौं म्यानपावर व्यवसायीहरू सक्रिय भइरहेको जानकारहरू बताउँछन् । नयाँ भेन्डर भित्र्याउने खेलमा गोविन्द थपलिया, कैलाश खड्का र भीम रोक्का मुख्य रूपमा लागिपरेका छन् । उनीहरू नयाँ भेन्डर भित्र्याउने खेलमा अग्रपंक्तिमा रहेको स्रोतले बतायो । मलेसियाले सिन्डिकेटधारी पुरानो कम्पनीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउनुका साथै केही कम्पनी निलम्बनसमेत गरेको छ । सोही मौका छोपी थपलिया, खड्का र रोक्का नयाँ भेन्डरका लागि लागिपरेका हुन् । मलेसियाली सरकारले भेन्डर छनोटका लागि दरखास्त नै आह्वान गरिसकेको छ ।
श्रम मन्त्रालय स्रोतका अनुसार मलेसियाली सरकारको सो आह्वानअनुसार २२ ओटा कम्पनीले निवेदन दिएका छन् । ती कम्पनीमाथि अनुसन्धान भइरहेकोले केही समयपछि एक कम्पनी छनोट हुने बताइएको छ । मलेसिया सरकारले नेपाली कामदार आपूर्तिका लागि निवेदन मागेपछि नेपालमा पनि नयाँ भेन्डरका लागि ब्यवसायीको निकै दौडधुप चलेको हो ।
दौडधुप गर्नेहरूमा कारबाहीमा परेका पुराना भेन्डर राम श्रेष्ठ पनि छन् । त्यतिमात्र हैन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पनि मरिमेटेर लागिपरेका छन् । त्यस्तै एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सोसाइटी ट्राभल्सका सञ्चालक रवि सिंह हाइड्रो व्यवसायी पूजा चन्द ठकुरी, मलेसियामै व्यवसाय गर्दै आएका ओज श्रेष्ठ, हरि भट्टराई, सन्तोष कार्की पनि नयाँ भेन्डरका लागि दौडधुप गरिरहेका छन् ।
यतिमात्र हैन शिखर म्यानपावरका सञ्चालक विजय मानन्धर, वैदेशिक रोजगार व्यवसायी संघका केही पदाधिकारी तथा म्यानपावर व्यवसायी रघु पुरी पनि यो खेलमा लागेको स्रोतले बतायो । स्रोतका अनुसार केहीले त आआफ्नो समूह बनाएर सिन्डिकेट हत्याउने योजना बुनिरहेका छन् । पुराना सिन्डिकेट खडा गरेका भेन्डरहरूलाई कारबाही गरेसँगै मलेसिया जाने कामदारहरू माथि हुने ठगी रोकिएला भन्ने धेरैको आशा रहँदै आए पनि पछिल्लो चलखेलले पुरानै बल्झिन लागेको प्रति मन्त्रालयका एक अधिकारीले देशान्तरसँग चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया