कुनै बेला १८ सयभन्दा माथि पुुगेको नेप्से परिसूचक ११ देखि १२ सयको आसपास घुमिरहेको छ । बजार बढ्ला भन्ने आशा बलियो बनिरहेको छैन । पछिल्लो समय नेप्से परिसूचक घटेर आएको छ । यो क्रममा लगानीकर्ताको करोडौं रुपैयाँ डुबिसकेको बताइरहेका पनि छन् । यस्तो अवस्थामा धेरै लगानीकर्ता अत्तालिएका मात्र छैनन् कतिपयले त बुुझ्दै नबुुझी सेयर बिक्री गर्ने हतारोसमेत देखाएका छन् ।
पछिल्लो समयमा नेपालको पुँजी बजारमा विभिन्न खालका भनाइ र विश्लेषणहरू पनि आइरहेका छन । कतिपयले सन् २०१८ भरिनै लगानीकर्ताहरूका लागि अफापसिद्ध भयो भनेर पनि टिप्पणी गरिरहेका छन् तर, पँुजीबजार भनेको जहिले पनि बढ्ने र घट्ने क्रममा नै आधारित रहेको हुन्छ भने जोखिमरहित पुँजी बजार विश्वमा कहीँ पनि हँुदैन । पुँजी बजारमा जहिले पनि जोखिम रहेकै हुन्छ ।
केहीका लागि अहिलेको बजारको अवस्था फाइदाजनक पनि छ । बजार घटेको समयमा सेयर खरिद गरेर केही समय होल्ड गरेर राख्नेहरूलाई पछि थोरै मात्र बजार बढ्दा पनि धेरै फाइदा हुन्छ । बजार बढेको अवस्थामा छिरेकाहरूको लागि भने अहिलेको अवस्था सकारात्मक हुन सकेको छैन । मुख्यगरी नेपालको पुँजी बजारमा सकारात्मक संकेतहरू नआउनमा दुईतीनवटा कारणहरू पनि रहेका छन् ।
पहिलो कुरा माग र आपूर्तिमा एकरूपता आउन सकेको छैन भने अर्को लगानीकर्ताहरूको मनोविज्ञानले पनि कतिपय कुराहरूमा प्रभाव पारेको देखिन्छ । अहिले बैंकिङभन्दा पनि जलविद्युत् क्षेत्रका कम्पनीहरू बजारमा आइरहेका छन् । फाइनान्सहरू पनि त्यत्तिकै बढेर आएका छन् । नयाँनयाँ कम्पनीहरू थपिँदै जाँदा आपूर्ति बढेर गयो भने त्योअनुसार बजारमा माग बढ्न सकेको छैन । यसलाई हामी सबैले स्वीकार गर्नैपर्छ । जस्ले गर्दा बजार सन्तुलित हुन सकिरहेको छैन ।
तेस्रो कारण बजारमा ब्याजदर बढेर जानु पनि एउटा कारण हो । आपूर्तिभन्दा माग बढी भएको भए सेयरको मुल्य पनि बढ्ने थियो र बजारमा सकारात्मक प्रभाव पर्ने थियो । तर, नेपालमा अहिलेको अवस्थामा मागभन्दा आपूर्ति धेरै छ । आपूर्ति धेरै भएपछि सेयरको मूल्य घट्न पुगेको छ र लामो समयसम्म सेयर किनेर राख्न नसक्नेहरूका लागि पहिले किनेको भन्दा पनि मूल्य कम भएकाले समस्या देखिएको हो भने अर्कोतर्फ सेयरको मुख्य घटेको समयमा सीमित लगानीकर्ताहरूले बढीभन्दा बढी सेयर खरिद गरेर राख्ने क्रम पनि बढेको छ ।
तेस्रो पक्ष बैंकहरूको ब्याज पनि बढेकाले ऋण लिएर लगानी गर्न पनि लगानीकर्ताहरू डराइरहेका छन् । सेयर धितोका विषयमा पनि नीतिगत कुराहरू आइरहेका छन् । नेपाल राष्ट्र बैंकले पनि यसलाई कसरी सरल बनाउने भन्ने कुरा सोचिरहेको छ । उसले बैंक तथा वित्तीय संस्थाहरूलाई सहजीकरणका लागि प्रयार गर्दैछ । यसलाई नेपाल धितोपत्र बोर्डले पनि एक महिनाभित्रमा केही सुधार ल्याउने भनेको थियो ।
अझै १०—१२ दिन जति बाँकी रहेकोले यसको तयारी पनि भइरहेको छ र यो अहिलेको तयारीलाई कार्यान्वयनमा ल्याएपछि केही सुधार हुन्छ भन्ने आशा पनि बोर्डले गरेको छ । अर्को कुरा नेपाली सेयर बजारलाई आधुनिकीकरणमा वा अहिलेको समयको मागअनुसार प्रविधिमा लाने भन्दै नेपाल स्टक एक्सचेन्जले पुरानो व्यवस्थालाई विस्तारै हटाउँदै नयाँ प्रविधिमा जाने तयारी गरिरहेको छ ।
नयाँ प्रविधिबाट सेयर कारोबार गराउँदा सबैपक्षलाई सजिलो हुने भएकाले यही पुस १७ गतेदेखि अनलाइन कारोवार लागू पनि भएको छ । नयाँ प्रविधिमा जाँदा सुरुमा केही समस्याहरू आउनु स्वाभाविक हो । यी कुराहरू विस्तारै समाधान हुँदै जान्छन् । अहिले चारवटा बैंकहरू मार्फत काम सुरु भइसकेको छ र पछि अरू बैंहरूलाई पनि विस्तारै यसमा सहभागी हुँदै जानेछन् ।
सेयर धितोका विषयमा अहिले नयाँ सुविधाहरू थपिँदै आएका छन् । राष्ट्र बैंकले पनि ४० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था मिलाएको छ । तर, ऋणमात्रै लिएर बजारमा प्रवेश गर्नु कति उपयुक्त हुन्छ भन्ने कुरामा त लगानीकर्ताहरूनै तयार हुनुप¥यो । लगानीकर्ताहरू ऋणमा कतिसम्मको जोखिम मोल्न तयार हुन्छन् यसले पनि भूमिका खेलेको हुन्छ । भोलि बजार घट्यो भने के गर्ने ? अहिलेको बजारको अवस्थालाई हेर्दा ऋण लिएर भए पनि लगानी गर्नुहोस् भन्न सकिने अवस्था छैन ।
अहिले बजारलाई प्रविधिमा लाने विषयले प्राथमिकता पाइरहेको छ । तर, नयाँ प्रविधिमा जाँदा केही प्राविधिक समस्याहरू देखिएका छन् र नेपाल धितापत्र बोर्डले पनि स्टकलाई चाँडोभन्दा चाँडो यो समस्या हटाउन आग्रह पनि गरिरहेको छ । हामीले बोर्डका तर्फबाट पनि लगानीकर्ताहरूलाई विभिन्न विषयमा जानकारी गराउँदै आएका छौं ।
हामी जिल्ला जिल्लामा जाँदा पनि आस्वा प्रविधि ल्याएर प्राथमिक बजारलाई सहज बनाए पनि दोस्रो बजारको लागि पनि नयाँ प्रविधिमा लानुप¥यो र हामीले पनि देशको जुनसुकै कुनाबाट पनि काठमाडौंमा खुलेको सेयर भर्न पाउनुप¥यो भनिरहनु भएको थियो । यो कुरा हामीले स्टक एक्सचेन्जलाई अवगत गराएका छौं र अब विस्तारै यसमा पनि सुधार आउँछ । यो प्रविधिमा पूर्णरूपले सक्षम भएपछि लगानीकर्ताहरू धेरै बढ्न सक्ने सम्भावना रहन्छ र माग र आपूतिको पनि सन्तुलन मिल्छ भन्ने विश्वास बोर्डले लिएको छ ।
यो प्रविधिमा लगानीकर्ताको विश्वास जित्न सकिएन भने भोलि यसले झन् ठूलो समस्या ल्याउन सक्छ । अहिले बजारमा जति सेयरको कारोबार भइरहेको छ त्यसको ८० प्रतिशत उपत्यका भित्रबाट मात्र भइरहेको छ । योभन्दा धेरै संख्यामा लगानीकर्ताहरू काठमाडौं बाहिर रहेका छन् ।
यो वर्षको बजेटमा पुँजी बजारका लागि केही राम्रा कुराहरू पनि आएका थिए । ब्रोकरहरूलाई भ्याट लगाउने कि नलगाउने भन्ने कुरा धेरै अगाडिदेखि अन्योल थियो । हुन त भ्याटका विषयमा केही विरोधहरू पनि आए । तर, जसरी भए पनि अब भ्याट लाग्दैन भन्ने कुरामा ढुक्क हुने अवस्था आएको छ । रियल सेक्टरका कम्पनीलाई पनि यो बजारभित्र ल्याउने र उनीहरूलाई केही समयसम्मका लागि कर सहुलियतको व्यवस्था गर्ने लगायतका कुराहरू आएका थिए र यिनीहरू कार्यान्वयनमा जाँदैछन् । तर, समस्या कहाँ भयो भने माथि भनिएका कुराहरू नै यसको समस्याका रूपमा आएका छन ।
एक हिसाब ब्याजदर बढेर आएको छ भने हाम्रो अनलाइनले अहिलेसम्म पनि राम्ररी काम गर्न नसकेको आस्था रहिरहेकै छ । यसरी आउने सामान्य समस्याले गर्दा पनि यो बजारका लागि आएका राम्रा पक्षहरूले प्रक्रिया अगाडि बढ्न सकेको छैन । केही आएका राम्रा विषयहरू पनि ओझेलमा परेर नराम्रा कुराहरू सतहमा आइरहेका छन र यसले लगानीकर्ताहरूलाई अलमलमा पार्ने र संशकित बनाइरहेको छ ।
भोलि के हो के हो भन्ने अवस्थामा लगानीकर्ताहरूले ढुक्क भएर लगानी गर्न सक्ने कुरा पनि आउँदैन । फेरि यो बजार भनेको सरकारको बलले भन्दा पनि लगानीकर्ताहरू कसरी बजारलाई हेरिरहेका छन् र हेर्छन् भन्ने कुराले बढी महत्व राख्दछ । यो बजार जोखिमपूर्ण नै भएकाले लगानीकर्ताहरूले ध्यान पु¥याउन पनि उत्तिकै आवश्यक छ ।
अहिले नेपाल धितोपत्र बोर्ड र स्टक एक्सचेन्जले पनि विभिन्न समयमा विभिन्न खालका सूचनाहरू उपलब्ध गराउँदै आएको छ । लगानीकर्ताले पनि कुन कम्पनीको सेयर खरिद गर्न लागेको हो त्यसका विषयमा जानकारी लिएर मात्र लगानी गर्नुपर्छ । अहिले हरेक कम्पनीहरूले आफ्नो ब्यालेन्स सिट निकालेका हुन्छन् । त्यसबाट पनि धेरै कुराहरू बुझ्न सकिन्छ । हाम्रो बजारमा अहिलेसम्म बैंंक तथा वित्तीय संस्थाहरूकै बाहुल्य छ । उनीहरूले हरेक तीनतीन महिनामा विवरणहरू निकालिरहेका हुन्छन् ।
त्यसकारण लगानीकर्ताहरूले बजारमा छिर्नुभन्दा पहिले थोरै भए पनि बजार र कम्पनीका बारेमा जानकारी लिनुपर्छ । अहिले प्रायः गरेर ब्यालेन्स सिट हेर्न नजान्नेहरू कम मात्र छन् । आफूले बुझिएन भने नजिकै अरू को हुन सक्छ । उनीहरूबाट पनि लगानी गर्दा कस्तो प्रतिफल आउँछ भन्ने कुराहरू बुझ्न सकिन्छ ।
अहिलेको बजारमा ७० देखि ८० करोडमाथिको कारोबार भएको छैन । एकपटक १८ सयको बिन्दुमा पुगेर ओरालो लागेको बजारले त्यसपछिको समयमा ७० देखि ८० करोडभन्दा माथिको कारोबार भएको रेकर्ड छैन । औसतमा अहिले ४० देखि ५० करोडसम्मको दैनिक कारोबार भइरहेको छ भने १० देखि १२ हजार कित्तासम्म अहिले नियमित किनबेच भइरहेको छ । कुनै समय दैनिक दुई अर्बको हाराहारीमा पनि कारोबार भएको थियो । अहिले ११ र १२ सयको हाराहारीमा बजार घुमिरहेको हुनाले लगानीकर्ताहरू पनि ‘पर्ख र हेर’को अवस्थामा बसिरहेका छन् ।
सबैले बजारमा छिरेपछि थोरै भए पनि प्रतिफलको आशा गरेकै हुन्छ । भोलिका दिनमा ब्याजदरको अवस्था कस्तो हुन्छ । देशको राजनीतिक वातावरणमा केही नयाँ परिवर्तन आउँछ कि वा सरकारले कुनै सेयर बजारका लागि लगानीकर्ताहरूलाई राम्रो खबर दिन्छ कि भनेर पनि लगानीकर्ताहरूले खुलेर लगानी गरेको अवस्था छैन । सेयर बजारको नीति भनेको माथि उक्लिएको समयमा निस्कने र तल झरेको समयमा भित्र छिर्ने हो । सबैभन्दा यसलाई मनन् गर्न आवश्यक छ । लगानी गर्दा आफूले लगानी गरेको कम्पनीका विषयमा केही न केही अध्ययन गरेमात्रै लगानी गर्नुपर्छ ।
यो बजार जोखिमपूर्ण बजार भएकाले अरूले भनेको भरमा वा साथीभाइको लहलहैमा लागेर सेयर किन्न लागियो भने यसले नाफाभन्दा घाटा नै धेरै दिने भएकाले अहिलेको सेयर बजारमा छिर्न खोज्ने लगानीकर्ताहरू जानेर र बुझेर मात्रै लगानी गर्नुपर्छ नत्र यो बजारमा धेरै जाखिमहरू रहेका हुनाले नबुझिकन गरिएको लगानी भोलि गएर डुब्न पछि सक्छ । त्यसकारण जहिले पनि सेयरमा लगानी गर्दा होस् पु¥याएर मात्र गर्नुपर्छ ।
प्रतिक्रिया