देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतादेखि सभामुख महरा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको हर्कत

देशान्तर

  काठमाडौँ । संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन ।

संसद सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ । सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलब भत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । यो रकम संघीय संसदमा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार बढी हो । सचिवालयका अनुसार पदाधिकारी र सांसदको पारिश्रमिकमा मासिक १ करोड ७१ लाख ७१ हजार २ सय ९५ रुपैयाँ खर्च हुन्छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक जम्मा गरिदिने गरेको छ । सचिवालयले यो रकम महराको एभरेस्ट बैंकको खाता नम्बर ००१००५०१२०१९१७ र तिमिल्सिनाको यही बैंकको खाता नम्बर ००१२०५१६२००७४२ मा मासिक जम्मा गरिदिने गरेको छ ।

ऐनको अनुसूची २ अनुसार सभामुख र अध्यक्षले स्वकीय सचिवरसहसचिव तहको स्वकीय सचिव १ जना, उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना राख्न पाउँछन् । उक्त ऐनमा पदाधिकारीको निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउनुपर्ने व्यवस्था छ ।

ऐनको अनुसूची २ मा पदाधिकारी तथा सदस्यलाई दिइने अन्य सुविधाको व्यवस्थामा स्वकीय सचिवालयमा कसले कुन पदका कर्मचारीको तलबभत्ता पाउने भन्ने उल्लेख छ । ऐनमा भनिएको छ, ‘स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केलअनुसारको तलब मात्र पाउनेछन् । कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ । त्यस्तै गत असार ३२ मा प्रकाशित राजपत्रअनुसार कामदार तथा कर्मचारीले पाउने पारिश्रमिक बैंक खातामार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ ।

देशान्तरले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यले असोजमा पाएको पारिश्रमिक र भत्ता बुझेको भर्पाइ विवरणअनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले मासिक पारिश्रमिक ६० हजार ९ सय ७० बाहेक निजी सचिवालयका कर्मचारीको तलबबापत १ लाख २६ हजार ८ सय ६० रुपैयाँ समेत बुझेका छन् ।

सचिवालयले यो रकम देउवाको एभरेस्ट बैंकको खाता नम्बर ००१००५१६२०५८५७ मा मासिक जम्मा गरिदिने गरेको छ । देउवाले उपसचिव तहको स्वकीय सचिव १, कम्प्युटर अपरेटर १, सवारी चालक २ र कार्यालय सहयोगी २ जनाको तलब भत्ता बुझ्छन् । त्यस्तै प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले आफ्नो मासिक तलब ६० हजार ९ सय ७० बाहेक निजी सचिवालयका कर्मचारीको तलब भत्ताबापत १ लाख २६ हजार ८ सय ६० रुपैयाँका दरले जनही बुझेको पाइएको छ ।

प्रतिनिधिसभाका सत्तारूढ दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र सत्तापक्षका नेता दीनानाथ शर्माले तलब ६० हजार ९ सय ७० बाहेक १ लाख १० हजार ६ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलब बुझ्ने गरेका छन् । सचिवालयले उनीहरूको खातामा उपसचिव तहको स्वकीय सचिव १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ र कार्यालय सहयोगी १ को तलब जम्मा गर्ने गरेको छ ।

प्रतिनिधिसभा विपक्षी दलका सचेतक पुष्पा भुसाल, फोरमका प्रमुख सचेतक उमाशंकर अरगरिया, नेकपाका सचेतक शान्ता चौधरीले आफ्नो तलब ५७ हजार ७ सय ८० रुपैयाँबाहेक ८७ हजार १ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलब भत्ता प्रत्येकले बुुझेका छन । प्रतिनिधिसभा र राष्ट्रिय सभाका १६ वटा संसदीय समितिका सभापतिले आफ्नो तलब ६० हजार २ सय २९ बाहेक १ लाख २ सय ९० रुपैयाँ कर्मचारीको तलब बुझेका छन् ।

विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र सभापतिले उपसचिव तहको १ स्वकीय सचिव, सवारी चालक २, कार्यालय सहयोगी १ राख्न पाउँछन । सचिवालयले उनीहरूको तलब सचेतक र सभापतिको बैंक खातामै जम्मा गरिदिने गरेको छ ।

सांसदले भने मासिक तलब ५५ हजार २ सय ३० बाहेक शाखा अधिकृत तहको स्वकीय सचिवको तलब ३० हजार ५ सय रुपैयाँ बैंकमार्फत बुझ्ने गरेका छन । सचिवालयले उपलब्ध गराएको तलब पाउन धेरै सांसदले आफन्तको नाम स्वकीय सचिव हो भन्दै बुझाएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अहिलेसम्म निजी सचिवालयका कर्मचारीको तलब भत्ता पदाधिकारी र सांसदकै खातामा पठाउने गरेको बताए । कसको स्वकीय सचिव को हो, तथ्यांक अद्यावधिक गरेर कानुनअनुसार व्यवस्थित गर्नुपर्नेछ । व्यवस्थित गर्न गृहकार्य पनि भईरहेको छ ।

तलब भत्ता सांसदकैखातामा हाल्न दबाबपदाधिकारी र सांसदका केही स्वकीय सचिवले पूरा पारिश्रमिक नपाएको गुनासो गरेपछि मंसिर १९ मा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा छलफलसमेत भएको थियो ।

समितिकी सदस्य विन्दा पाण्डेले पदाधिकारी र सांसदका स्वकीय सचिवको तलब भत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउने व्यवस्था गर्नुपर्ने बताएकी थिइन । स्वकीय सचिवहरूलाई पनि सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषबाट लाभान्वित गराउन उनीहरूले पाउने तलब भत्ता हाम्रो खातामा होइन, उनीहरूकै खातामा पठाउने व्यवस्था गर्नु जरुरी देखिएको छ ।

स्वकीय सचिवको तलब सम्बन्धित व्यक्तिकै खातामा पठाउनुपर्ने प्रस्तावलाई समितिका सबै सदस्यले विरोध गरे । स्वकीय सचिवको भत्ता आफ्नै खातामा हाल्नुपर्छ भन्ने सांसदकै बैठकमा बहुमत थियो । जिल्ला र काठमाडौंमा गरी २ जना स्वकीय सचिव राखेकाले एक जनाको मात्रै खातामा तलब राख्दा व्यवस्थापन गर्न अप्ठ्यारो पर्ने उनीहरूले बताएका थिए । समिति सचिव कृष्णहरि खडकाले बैठकमा यस विषयमा सचिवालयमा छलफल भइरहेको जानकारी गराएका थिए । कति जना स्वकीय सचिव राख्न पाउने भन्दै केही सांसद सचिवालयका महासचिवलाई सोध्नसमेत पुगेका थिए ।