देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीशमा मिश्र अनुमोदन

देशान्तर

काठमाडौँ । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ । संसदीय सुनुवाईपछि मिश्रको नाममा सबै सदस्यहरुले अनुमोदन गर्न सहमत भएका हुन् । उनी पुस १७ गतेसम्म प्रधानन्यायाधीश हुनेछन् । राष्ट्रपतिबाट सपथ लिएपछि उनले औपचारिक रुपमा पदबहाली गर्नेछन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि सोमबार सुनुवाइ गरेको हो । संवैधानिक परिषदले गत भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो ।

यसअघि संवैधानिक परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाईपछि विभिन्न समस्याहरु देखाउँदै समितिले नाम अनुमोदन नगरेपछि मिश्रको नाम सिफारिस भएको हो । संसदीय सुनुवाईबाट अनुमोदन नभएका जोशी त्यसपछि निरन्तर बिदामा छन् ।

समितिमा मिश्र विरुद्ध ४ वटा उजुरी परेकोमा एउटा फिर्ता भइसकेको छ । समितिले उजुरीहरुको सनाखतका साथै उजुरीकर्तासँग समेत छलफल गरेको छ ।

२०७१ साल जेठ १३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मिश्रलाई अप्रत्याशीत रुपमा प्रधानन्यायाधीशको मौका परेको हो ।

यसअघि जोशीको नाम अनुमोदन भएको भए वरिष्ठतम् न्यायाधीशको हैसियतमा उनले पुस १७ गते अवकाश पाउने थिए । नाम अनुमोदन भएमा मिश्र ६५ वर्षे उमेरहदका कारण पुस १७ गते अवकाश पाउनेछन्। त्यसपछि चोलेन्द्रशम्शेर राणाको पालो आउनेछ ।