देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस : कार्यसम्पादन र अनुशासन कहाँ अड्कियो ?

देशान्तर

काठमाडौं । संसदीय निर्वाचनमा नराम्ररी पराजित भएपछि नेपाली कांग्रेसभित्र हारको कारण खोज्ने काम अहिलेसम्म टुंगिएको छैन । कांग्रेस केन्द्रीय समितिदेखि जिल्ला सभापति भेला हुँदै महासमिति बैठकमा पुग्न लागेको यो एजेन्डा कहिले टुंगिने हो भन्ने निश्चित छैन । तर सभापति शेरबहादूर देउवाले दर्जनौं पटक कांग्रेस चुनाव हार्नुमा अन्तरघात मुख्य कारण रहेको बताउँदै आएका छन् । ‘चुनाव हराउने अन्तरघातीलाई कारबाही गर्छु ।’, सभापति देउवाले अधिकांश सार्वजनिक कार्यक्रममा भनेका थिए ।

चुनाव हारेको दोष सबैले आफूमाथि लगाउँदा अन्तरघातीलाई दोष दिने सभापति देउवा अहिले तिनै अन्तरघातीलाई कारबाही गर्न डराएका छन् । कांग्रेसको विधानअनुसार पार्टी हितविपरीत काम गर्नेलाई अनुशासन समितिले आवश्यक छानबिन गरी कारबाही गर्न सक्छ । तर सभापति देउवाको घोषणाका बाबजुद अनुशासन समिति नै बन्न सकेको छैन । कांग्रेस केन्द्रीय समितिको अघिल्लो बैठकमा बन्ने तय भएका अनुशासन समिति र कार्यसम्पादन समिति गठनको प्रस्ताव नै सभापति देउवाले राख्न सकेनन् ।

देउवापक्षीय नेताहरूले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम नदिएका कारण समिति गठन हुन नसकेको बताएका छन् । तर महासमिति बैठकको मुखैमा अनुशासन समिति बनाउँदा जिल्लाहरूबाट उजुरी आउने क्रम बढ्ने र त्यसले आफ्नो पक्षलाई घाटा हुन सक्ने सुझाव केही नेताहरूले सभापति देउवालाई दिएका थिए । उजुरी लिन थालेपछि आफूपक्षीय नेताहरूको नाममा उजुरी आउँदा उनीहरू चिढिने तथा विपक्षीले पनि अनुशासन समितिबारे प्रश्न उठाइरहने भएपछि रणनीतिक रूपमा अनुशासन समिति गठन नगरिएको हो । सभापति देउवाले यसअघि विधानविपरीत बनाएर विघटन गरिएको कार्यसम्पादन समिति पनि गठन गर्न सकेका छैनन् । विधानअनुसार पदाधिकारीबाहेक कार्यसम्पादन समितिमा २२ जना केन्द्रीय सदस्यहरू रहन्छन् । पार्टीको वरीयताअनुसार कार्यसम्पादन गठन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले सभापति देउवासँग माग गरेका छन् । वरीयताका आधारमा कार्यसम्पादन समिति बनाउँदा आफ्नो समूहको प्रतिनिधित्व कम हुने भएपछि देउवाले भागबन्डाका आधारमा कार्यसम्पादन गठन गर्ने तयारी गरेका थिए ।

देउवाले वरिष्ठ नेता पौडेलसँग १० जनाको नाम मागे पनि महामन्त्री कोइराला र नेताहरू कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायतसँगको छलफलपछि पौडेलले नाम नदिने र वरीयताको आधारमा कार्यसम्पादन गठन गर्नुपर्ने अडान लिएका थिए । पौडेलको अडानपछि सभापति शेरबहादूर देउवा कार्यसम्पादन समिति गठनलाई पर सार्ने निष्कर्षमा पुगेका थिए । आधा कार्यकाल सकिँदासम्म पनि आफूले गठन गर्नुपर्ने विभाग र समितिलाई देउवाले पूर्णता दिन सकेका छैन । केन्द्रीय समितिमा बहुमतको दम्भ देखाए पनि यस्ता समिति र विभाग गठनमा भने देउवाले निर्णय लिन सकेका छैनन् । विगतमा पार्टी नेतृत्वसँग भागबन्डा गर्ने संस्कृतिलाई हुर्काउन भूमिका खेलेका देउवा आफू सभापति भएपछि भने अरूलाई भूमिका दिन कञ्जुस्याइँ गर्दै आइरहेका छन् ।

अबको महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने लक्ष्य लिएका देउवा यो बीचमा अप्रिय र विवादित निर्णय लिनभन्दा त्यसलाई बेवास्ता गरेर अघि बढ्न चाहेका छन् । अनुशासन समिति गठनमा भएको ढिलाइ र कार्य सम्पादन गठनमा देखिएको उदासीनता त्यसैको उपज रहेको चर्चा कांग्रेस वृत्तमा रहेको छ ।