देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीका काम होइन तारा खसाल्ने कुरा मात्रै : वरिष्ट नेता पौडेल

देशान्तर

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढि कुरा गर्न थालेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले सामान्य सामान्य विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो–‘ प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखिएको छ । नेपाललाई अहिले सामान्य सामान्य विकास चाहिएको छ । तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका छन् ।’ वरिष्ठ नेता पौडेलले बर्तमान सरकारले ठुला आयोजना र काम सुरु भएका आयोजनाहरुलाई अलपत्र पारेर नालायकीपन देखाएको बताउनुभयो ।

पौडेलले भन्नुभयो– ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपिआर भएको थियो । तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो । त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके ।

व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र परेको छ ।’ नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधारहरु भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तीको विकास भएको बताउनुभयो ।

उहाँले ७० वर्षदेखि टुंगो लाग्न नसकेको व्यवस्थाको टुंगो लागेको बताउदै अब मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने बताउनुभयो । मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको बताउनुभयो ।