देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पश्चिम नेपालमा गौरा पर्वको रौनक शुरू

देशान्तर

धनगढी । ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा शुक्रवारदेखि विधिवत् रुपमा गौरा पर्वको शुरूवात भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुरू हुने गौरा पर्वको पहिलो दिन आज घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् ५ प्रकारको अन्न भिजाएर पर्वको विधिवत् शुरूवात गरेका हुन् ।

डोटी बहुमुखी क्याम्सका प्राध्यापक डा. बद्री बिनाडी अनुसार महिलाले व्रत बसेर गोरस, कलौ, मास, गहत र गहुँ मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै ५ अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । साथै महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने प्रचलन रहिआएको प्रध्यापक बिनाडीले बताए ।

गोरा पर्वमा विशेषगरी विवाहित महिला सप्तमी र अष्टमीको ब्रत बस्ने गर्छन् । उनीहरू सप्तमीका दिन गोरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी दुबधागो चढाउने गर्छन् भने अष्टमीका दिन व्रतालु महिला बिहानैदेखि गोरा मनाउने स्थल गोरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको बताइएको छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।

प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका वासिन्दाले महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला चहलपहल बढाएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।

गोरा विसर्जन नगरिएसम्म गोराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । देउडा र धमारी, ढुस्को, खेलसमेत खेल्ने गरिन्छ । गोरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःखसुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । गोरा पर्वलाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गोरा पर्वका लागि काम विशेषले घर बाहिर गएका व्यक्ति घर फर्किने गर्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गोरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

गोरा पर्वको आफ्नै ऐतिहासिक पक्ष रहेको छ । डोटेली लोक संस्कृतिको ज्ञाता समेत रहेका प्राध्यापक विनाडीले गोराको ऐतिहासिकताबारे प्रकाश पार्दै भने, ‘प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ गुफामा गएर निराहार रही भगवान शिवको उपासना गरेका थिए । फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्री लाभ गरिन् र सोही पुत्रीको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन । पछि सहस्त्रार्जुनले माफी माग्नु परेकाले गोरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गोरा पर्व मनाउन थालिएको किंवदन्ती रहेको छ ।’