काठमाडौं । आठ विषय र १४ प्रतिवेदनमा छलफल, तर ऊर्जा प्रसारण लाइनसम्बन्धी समझदारीमा मात्रै हस्ताक्षर हुने
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन तयारीका लागि मंगलबार बसेको परराष्ट्रसचिवस्तरीय बैठकले आठ विषयका १४ प्रतिवेदनमाथि छलफल गरेको छ । तर, बिमस्टेकको शुक्रबार समापन हुने सम्मेलनमा अन्तरदेशीय ऊर्जा प्रसारण लाइन स्थापनासम्बन्धी एउटा समझदारीपत्रमा मात्रै हस्ताक्षर हुने भएको छ । कनेक्टिभिटी, व्यापार, प्रविधि, आतंकवाद, कृषि, गरिबी निवारणका पुराना विषयमा छलफल मात्रै हुनेछ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार परराष्ट्रसचिवस्तरीय बैठकमा व्यापार तथा लगानी समेटिएको भन्सार सञ्चालन, कृषि, प्रविधि, सार्वजनिक स्वास्थ्य, यातायात तथा सञ्चार शीर्षकमा एक–एक, सडक, पानीजहाज, मोटर–भेइकल एग्रिमेन्टसँग सम्बन्धित तीन, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराधसँग सम्बन्धित दुई, गरिबी निवारणसम्बन्धी तीन, सार्क सचिवालयको प्रशासनिक तथा आर्थिक विषयमा दुई प्रतिवेदन प्रस्तुत भएका थिए । बिमस्टेक महासचिव सहिदुल इस्लामले प्रस्तुत गरेका १४ प्रतिवेदन विभिन्न समयमा तयार भएका थिए । यी प्रतिवेदन बुधबार सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय बैठकमा पेस हुनेछन् ।
परराष्ट्रसचिवस्तरीय बैठकले बिमस्टेकलाई थप प्रभावकारी बनाउन बिमस्टेक विकास कोष गठनको सम्भावना अघि बढाउने निर्णय गरेको छ । ‘यस सम्बन्धमा सदस्य–मुलुकबीच सहमति भएपछि प्राविधिक समूहले अवधारणा तयार गर्ने र सदस्य–मुलुकबीचको सहमतिमा निर्णय गर्नुपर्ने हुन्छ,’ प्रवक्ता पौड्यालले पत्रकार सम्मेलनमा भने । हाल १६ वटा कायक्षेत्रमध्ये घटाउने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । यससम्बन्धी छलफल बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा हुनेछ ।
सार्क बडापत्र निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ । बिमस्टेकका संयन्त्र गठनका लागि नियम र पद्धति तय गर्न प्रारम्भिक प्रक्रिया थाल्ने पनि सहमति भएको छ ।
बिमस्टेक ग्रिड इन्टरकनेन्सन स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यी एजेन्डाबारे पनि परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकको अध्यक्षता गर्नेछन् । बैठकले विमस्टेक घोषणापत्र, हस्ताक्षर गर्ने समझदारीपत्रलाई अन्तिम रूप दिनेछ ।
शुक्रबार बडापत्र र एमओयू
शुक्रबार ११ बजे बिमस्टेको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् र बिमस्टेक अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । लगत्तै १२ बजे बिमस्टेक घोषणापत्र जारी हुनेछ । त्यसपछि बिमस्टेकको पाँचौँ सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे राष्ट्रपति सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ ।
पारितपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य दिनेछन् भने फोटोसेसनसहित १२ः३० बजे सम्मेलन सम्पन्न हुनेछ । शुक्रबार अपराह्न बंगलादेशका प्रधानमन्त्री हसिना, राति ८ः३० मा भारतीय प्रधानमन्त्री मोदी, अपराह्न ४ बजे म्यानमारका राष्ट्रपति मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री चा पनि अपराह्न स्वदेश फर्किनेछन् । भुटानका प्रमुख सल्लाहकार वाङचुक शनिबार बिहान पौने ९ बजे फर्किने कार्यक्रम छ भने श्रीलंकाका राष्ट्रपति सिरिसेना आइतबार अपराह्न ३ः३५ बजे फर्किने तय भएको छ ।
बिमस्टेकको पहिलो शिखर सम्मेलन ३१ जुलाई २००४ (थाइल्यान्ड), दोस्रो १३ नोभेम्बर २००८ (भारत), ४ मार्च २०१४ (म्यानमार)मा भएको थियो । नेपालमा चौथो शिखर सम्मेलन हुँदै छ भने श्रीलंकाले दुई वर्षपछि पाँचौँ सम्मेलन आयोजना गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।
संक्षेपमा बिमस्टेक
बिमस्टेकले पृथ्वीको कुल जमिनी भूभागको ३ दशमलब ६३ प्रतिशत क्षेत्रफल ओगट्छ । यो क्षेत्रको जनसंख्या १ अर्ब ६५ करोड जनसंख्या (कुलको २२.३० प्रतिशत) छ । बिमस्टेक राष्ट्रमा भूगोल, जनसंख्या र अर्थतन्त्रका हिसाबले सबैभन्दा ठूलो देश भारत हो । बिमस्टेक क्षेत्रको कुल ६७ प्रतिशत भूगोल र ८० प्रतिशत जनसंख्या भारतमा छ । बिमस्टेकले कुल विश्व व्यापारको ३ दशमलव ६५ प्रतिशत ओगटेको छ ।
भारतपछि यो क्षेत्रमा कुल गार्हस्थ उत्पादनमा थाइल्यान्ड, भौगोलिक क्षेत्रफलमा म्यानमार, जनसंख्यामा बंगलादेश दोस्रो स्थानमा छन् । सन् २०१६ मा विश्वको कुल गार्हस्थ उत्पादनमा बिमस्टेकको सेयर ४ दशमलव ३ प्रतिशत थियो भने १५ वर्षअघि (सन् २००१ मा) जम्मा २ दशमलव ४ प्रतिशत मात्रै थियो । सन् २०१६ सम्म कुल गार्हस्थ उत्पादन ३ दशमलव ६ ट्रिलियन अमेरिकी डलर रहेकोमा सन् २०३० मा ७ दशमलव ७ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
युएसएडलगायत संस्थाले अध्ययन गरेर तयार पारेको पुस्तक बिमस्टेक इनर्जी आउटलुक, २०३० अनुसार यो क्षेत्रमा ६५ अर्ब टन कोल, ६ दशमलव ४ अर्ब ब्यारेल तेल, ८७ ट्रिलियन क्युबिकफिट प्राकृतिक ग्यास, २४३ मिलियन टन बायोग्यास र ३९० गिगावाट ऊर्जाको सम्भावना छ । सन् २०३० सम्म ऊर्जाका लागि मात्रै १ हजार ५६ अर्ब डलर लगानी गर्नुपर्नेछ ।
बिमस्टेक मन्तव्य : ओलीलाई २२ मिनेट, अरूलाई १५ मिनेट
प्रधानमन्त्री एवं बिमस्टेक अध्यक्ष केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनको उद्घाटन बिहीबार पौने ४ बजे गर्नेछन् । उनले २२ मिनेट उद्घाटन मन्तव्य दिएर एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि क्रमैसँग बाँकी सदस्य–मुलुकका प्रमुखले १५–१५ मिनेट मन्तव्य दिने कार्यक्रम छ ।
ओलीपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले बोल्नेछन् । उनीहरूको मन्तव्यसँगै पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ ।
बिहीबार साँझ होटेल हायातमा रात्रिभोज हुनेछ । त्यसक्रममा वर्णानुक्रमअनुसार साँझ ७ः२५ बजे बिमस्टेकका कार्यकारी प्रमुखहरू होटेल पुग्नेछन् । हायातको गोदावरी होल्डिङ रुममा प्रधानमन्त्री ओलीले सदस्य मुलुकका कार्यकारी प्रमुखलाई स्वागत गर्नेछन् । रात्रिभोजमा पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । पौने ७ बजे सांस्कृतिक नाचगानसहित रात्रिभोज सुरु हुनेछ भने ९ः२० मा समापन हुनेछ । राति १०ः१५ मा प्रधानमन्त्री ओली अतिथिलाई होटेल सोल्टीमा स्वागत गरेर बालुवाटार फर्किनेछन् ।
शितल निवासमा सामूहिक दिवाभोज
बिमस्टेक सम्मेलनमा आएका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूसँग राष्ट्रपति विद्या भण्डारीले बिहिबार बिहान दिवाभोजसहित भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । बिहान साढे ११ बजे शितल निवासमै राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सँग उनीहरूले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन् ।
नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब
नेपालमा बिमस्टेकका सदस्यराष्ट्रको प्रत्यक्ष लगानी न्यून छ । श्रीलंका, भुटान, थाइल्यान्ड र म्यानमारको लगानी तथ्यांकले निराशाजनक देखाउँछ । भारत र बंगालदेशको लगानी भने तुलनात्मक रूपमा बढी छ ।
नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । जुन नेपालमा भित्रिएको कुल वैदेशिक लगानीको करिब ३५% हो । २४ जेठ ०५४ मा बिमस्टेक स्थापना भएयता नेपालमा कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगानी स्वीकृत भएको छ ।
बुधबार र बिहीबार आउँदै भिभिआइपी
म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार अपराह्न काठमाडौं ओर्लिए । अन्य भिभिआइपी बुधबार र बिहीबार आउँदै छन् । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार बिहान ८ बजे भुटान एयरलाइन्सबाट आइपुग्दै छन् । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना दिउँसो २ः३५ मा एयर इन्डियाबाट आइपुग्दै छन् ।
बिहीबार बिहान ८ः३० बजे भारतीय सेनाको विशेष विमानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ९ः१५ मा बिबिसी १८७१ को विशेष उडानबाट बंगलादेशकी प्रधानमन्त्री शेख हसिना तथा थाइल्यान्डका राष्ट्रपति जनरल चन ओ चा स १०ः१५ मा विशेष विमानबाट काठमाडौं आउँदै छन् ।
म्यानमारका राष्ट्रपति यु विन मिन्ट बुधबार लुम्बिनी जाने कार्यक्रम छ । कार्यकारी प्रमुखहरूको स्वागतका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल खटिएका छन् ।
बिजोग सडकले सारियो गोकर्णको ‘रिट्रिट’
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भिभिआइपी र भिआइपी पहुनाका लागि गोकर्ण रिसोर्टमा हुने भनिएको ‘रिट्रिट’ सोल्टी होटेलमै सारिएको छ । चाबहिल–जोरपाटी–दक्षिणढोका सडकको बिजोग हुँदा गोकर्णमा पार्टी नहुने भएको हो । यसअघि सडक निर्माण गरेर गोकर्णमै ‘रिट्रिट’ दिने सरकारको तयारी थियो । तर, अन्तिम समयसम्म पनि सडक निर्माण हुन नसकेपछि पाहुना बस्ने तथा सम्मेलन हुने सोल्टी होटेलमै रिट्रिट गर्ने निर्णय भएको छ । १५ भदौको बिहान ८ः३० बजे अतिथिहरूलाई पञ्चकन्याले माला लगाएर स्वागत गर्नेछन् । नयाँपत्रिका
प्रतिक्रिया