देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरक्षा निकायका प्रमुख सहभागी सुरक्षा गोष्ठी गृह मन्त्रालयमा शुरु

देशान्तर

काठमाडौं

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन प्रदेश नं ३ अन्तर्गतका जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी सुरक्षा गोष्ठी आज गृह मन्त्रालयमा शुरु भएको छ।

उक्त गोष्ठीमा प्रदेश नं ३ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित छन्। प्रदेश नं ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा पर्छन्। गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव नारायणप्रसाद शर्माले गोष्ठीको शुभारम्भमा राष्ट्रिय प्राथमिकताका रुपमा रहेको आगामी निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच प्रभावकारी समन्वयका साथ योजनाबद्ध ढंगबाट अघि बढेको बताए। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने गोष्ठीको मुख्य उद्देश्य रहेको सो अवसरमा जानकारी दिए।

गोष्ठीमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी तथा रक्षा र गृह मन्त्रालय मातहतका उच्च अधिकृतको पनि गोष्ठीमा सहभागिता रहेको छ।