देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ: केन्द्रीय सदस्य साउद

देशान्तर

कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हुनका लागि उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न जानुअघि आयोजित सभालाई सम्बोधन गर्दै उनले भने – “स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई जिताएमा विकास र रोजगारीको व्यवस्था यहाँबाटै हुन्छ ।”

 

पूर्वमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य साउदले “विपक्षी दलले भनेको सुन्ने हैन, मुखको पछि हैन रुखको पछि लाग्नुस्” भन्दै पार्टीका नेता तथा कार्यकर्ताले दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवारलाई विजयी बनाउन जुन भूमिका खेल्नुभएको छ, त्यही भूमिकाको खाँचो अहिले रहेको बताए ।

 

सुकुम्बासी समस्या र निकुञ्ज बिस्थापितको समस्या समाधान गर्नका लागि काँग्रेस प्रतिबद्ध रहेको बताउँदै उनले महाकाली सिँचाइ परियोजनाको तेस्रो चरणको कार्य दु्रतगतिमा अगाडि बढेको जानकारी दिए ।

 

केन्द्रीय सदस्य साउदले सिँचाइको व्यवस्था भए कृषि उत्पादकत्वमा वृद्धि भई यहाँका बासिन्दा समृद्ध बन्ने बताउँदै काँग्रेस जिते मात्रै विकास र समृद्धि सम्भव छ भने ।

 

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहराले कञ्चनपुरका नौ वटै स्थानीय तहमा काँग्रेसको उम्मेदवारको विजय सुनिश्चित रहेको विश्वास व्यक्त गरे ।