बाइसेचौबिसै राजाका सन्तान अझ नजिकको नाता पूर्व राजपरिवारसँग जोडिएका दिलीपप्रताप खाँडका पिताजी नै स्वतन्त्रताको आन्दोलनमा होमिए । पिताजीको पदचिन्ह पछ्याउँदै दिलीप पनि प्रजातान्त्रिक आन्दोलनमा होमिए । जनताका प्रतिनिधिले बनाएको संविधानअनुसार दिलीप पुर्खाको होइन पिताजीको बाटो पछ्याउँदै स्थानीय सरकारको प्रमुख बने । हुन त उनको पिता यामबहादुर खाँड पनि बीपी र गणेशनमान सिंहले चलाएको प्रजातन्त्र र समाजवादी आन्दोलनमा होमिएर र २०१५ सालको पहिलो आम निर्वाचनमा पश्चिम ९२ नम्बरको निर्वाचन क्षेत्रबाट कांग्रेसको टिकट पाएर प्रतिनिधिसभा सदस्य बने । पछि उनका काका र दाजुले पनि बाउको बिडो थामिरहे । त्यही पदचाप पछ्याउँदै दिलीपप्रताप जनताको प्रतिनिधि बनेका छन् । फरक यतिमात्र हो हिजो पुर्खा शासक भएर जनतामाथि शासन गर्दथे । समय त्यस्तै थियो आज तिनैका सन्तान समयसँगै बदलिएर जनताको प्रतिनिधि बनेका छन् ।
परिवारको त्यही राजनीतिक वातावरणका कारण कक्षा ६ मा पढ्दादेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भए । त्यसपछि नेपाल बिद्यार्थी संघको जिल्ला सदस्य, पृथ्वीनारायण क्याम्पसको इकाई कोषाध्यक्ष, अनि दिल्लीको बीएचयूको वैदेशिक क्षेत्रको सचिव हुँदै गाउँ फर्केको दिलीप खाँड कांग्रेसको राजनीतिमा क्रियाशील खाँड वालिङ नगरपालिकाको उपमेयर हुँदै अहिले मेयर भएका छन् । दिल्लीमा आईएस्सी सकेर पढ्न गएका खाँड नेपाल फर्केर अनि शिक्षक भएर तर राजनीति परिवारमा हुर्केको सानोदेखि राजनीतिक जानेको प्राणी किन बाहिर रहन सक्दथ्यो र २०५४ सालमा शिक्षकबाट राजीनामा दिएर वालिङका उपमेयर भए ।
वालिङको उपमेयरसँगै उनको राजनीतिमा माथि उक्लिन उपाय बन्यो । उपमेयर भए पनि लगातार पार्टीको जिल्ला सदस्य, क्षेत्रीय सभापति यसभन्दा अगाडि लगातार चार कार्यकाल नगर सभापति । अहिले पनि नगरसभापति कार्यरत भएको अवस्थामा वालिङका जनप्रतिनिधि भएका छन् । हुनलाई उनी नेपाल एकीकरण हुनुभन्दा अगाडिको आठटिका राज्यका राजाका सन्तान हुन् । तीनै राजाका सन्तान हुन् पूर्वराजा ज्ञानेन्द्र शाह पनि भीरकोट, गरौकोट, नुवाकोट, सतहकोट, कास्कीकोट, लमजुङ र गोरखा मिलेर बनेको आठटिका खाँड राजाहरूको राज्य थियोे । तीनै खाँड राजाका सन्तान् हुन दिलीपप्रताप खाँड अहिले पनि उनलाई दिलीप राजा भनेर धेरैले चिन्ने गर्दछन् । तीनै खाँड राजामध्येका यरबम खाँडले कास्कीकोट पुगेपछि कुलमण्डन शाह नाम राखेको र तीनै कुलमण्डन शाहका सन्तान पृथ्वीनारायण शाह भएको तथ्य छ । यिनै वालिङमा मेयर बनेका दिलीप प्रतापमा पाँच पुस्तामा श्रीभक्त खाँडले गरौकोटमा राजा थिए ।
सानैदेखि राजनीतिमा होमिएको परिवारमा हुर्किएका खाँडलाई कक्षा ६ देखि नै राजनीतिमा लाग्ने प्रेरणा आफ्नै आमाले दिएको बताए । २०३६ सालताकाको कुरा हो । उनलाई दिलीपको आमाले नै आन्दोलनमा पठाइन् । आमालाई पनि राजनीतिको नशा चढेको थियो । कक्षा ६ मा पढ्ने छोरोलाई आमा तेरा पिताजी कांग्रेस थिए । त पनि कांग्रेस हुनुपर्छ भने सिकाइन् । दिलीपले पछि मात्र जानकारी पाए त्योबेला आन्दोलन होइन रहेछ त्यो ३० वर्षे पञ्चायती व्यवस्था र बहुदल छान्नका लागि हुन लागेको जनमतसंग्रह भएको धेरै पछि मात्र जानकारी पाएको खाँडले बताए । उनलाई अहिले पनि कांग्रेसको चारतारे झन्डा बोकेर हिडेको धुमिल स्मृतिमा छ ।
२०५४ सालमा नै नगरपालिका बनेको वालिङमा अहिले अझै ठूलो क्षेत्रफल समेटिएको छ । सुरुमा तीनवटा गाविस समेटेर बनाइएको वालिङ नगरपालिकामा अहिले साविकको १२ वटा गाउँपालिका थपिनुका साथै मतादाता संख्या पनि ७७ हजार पुगेको छ । २०५४ सालको भन्दा चेतनाको स्तर धेरै भएको छ । २०५४ सालमा नै जनताको घरघरमा पुगेको खाँड फेरि भोट माग्दै जनताको घरदैलोमा पुग्दा मतदाताले धेरै कुरा सम्झाए । उनले पनि धेरै कुरा सम्झिए । भोट माग्न त जनताको घर दैलोमा पुगेका थिए । यो बीचमा उनी जनताको घरदैलोमा भोट माग्नमात्रै पनि २०५४, २०५६, २०७० सालमा पुगे तर त्यो बेला अर्कैका लागि भोट माग्न गएका थिए । अहिले आफ्नै लागि भोट माग्न गएर जनताको केहीपीर मर्काले पनि मन छोयो । स्थानीय तहलाई अधिकार पनि दिएको छ । अब जनताले मन छुने गरी भोट माग्ने बेला भनेकालाई प्राथामिकतामा राखेर काम गर्ने योजना बनाएका छन् ।
सबैभन्दा उनलाई मन छोएको विषय भनेको गाउँमा उमेर पुगेका र केही गर्न सक्ने मतदाता नै यो पटक उनले गाउँमा देखेनन् । तन्नेरीहरूले ठन्न भरिनुपर्ने गाउँका आमाहरू छोरो बिदेसिएको कथा गहभरि आँसु बनाएर सुनाउँदा उनले मन थाम्न सकेका छैनन् । त्यसैगरी नगरपालिकामा रहेका एउटा दलित बस्तीमा पुग्दा त्यहाँको चेतनाको स्तर देखेर पनि उनको मुटु चसक्क छोयो । अझै १८औं शताब्दीमा नै भएका हुन् कि जस्तो लाग्यो । मतदान गर्नका लागि मादक पदार्थको माग देखेर उनी अचम्ममा परे । यी दुई कुरालाई सुधार्ने उनको पहिलो योजना छ ।
यी दुवैका लागि शिक्षा र आत्मनिर्भर बनाउन जरुरी छ भन्ने उनलाई लागेको छ । त्यही भएर उनले नगरपालिकाले सहजकर्ताको भूमिका खेलेर एक गाउँ एक उत्पादन, एक गाउँ रंग अर्थात् हरेक घरमा एकएक वटा पाहुना घरजस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् ।
सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने स्तरको यसका अलावा कृषि र पशुपालनलाई पनि प्राथमिकतामा राख्ने तयारीमा उनी छन् ।
अर्को उनलाई बिझेको विषय भनेको उनी कुनैबेला राजाका सन्तान तर उनको त्यो बेलामा संस्कृति पुर्खाले छोडेर जान नसकेका कारण उनी केही कला र संस्कृतिसमेत जोगाउने अभियानमा जुटेका छन् । नगरको दुईवटा वडामा ९९ प्रतिशतभन्दा बढी मतदाता गुरुङ छन् । त्यहाँ गुरुङ संस्कृति जोगाउने तयारीमा लागेका छन् । त्यस्तै अर्को तीन वटा वडामा मगर बस्ती छ मगर बस्तीमा गरेको वाचा पूरा गर्ने योजनामा छन् । त्यसैगरी कुमाल र माझीहरूको कला र संस्कृति जोगाउने दायित्व पनि नगरप्रमुखकै काँधमा छ ।
सिंगो नगरको करिबकरिब दुई सयभन्दा बढी आमा समूह छन् ती आमा समूहको समृद्ध वालिङका लागि ठूलो हात हुन्छ । उनी अचेल तीन आमा समूहलाई अगाडि बढाउने योजनामा छन् । अहिले वालिङमा जम्मा १४ वटा वडा नगर छन् । ती सबै वडाहरूमा आमा समूह गठन गर्ने योजना बनाएका छन् । उनको भर पनि तिनै आम समूहप्रति छ, जसले समृद्ध वालिङको सपना पूरा गर्ने छन् अनि वालिङलाई स्मार्ट सिटी बनाउनका लागि मेयर होस्टेमा हैंसे गर्दै मद्दत गर्नेछन् ।
प्रतिक्रिया