देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिएका हुन् ।

छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग यही असार १४ गते हुने निर्वाचनमा केन्द्रित भएर आफ्ना सबै काम अघि बढाइरहेकामा सरकारको तर्फबाट त्यसमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।
उनले भने – “आयोगले असार १४ गतेको निर्वाचनका लागि दृढ भएर अघि बढौँ भन्ने आग्रह गरेको छ ।”

सुकै निर्वाचन गर्दा पनि केही न केही अप्ठेरो हुन्छ भन्दै उनले गृहमन्त्रालयले निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिएकाले निर्वाचनको बारेमा अब कुनै अन्योलमा नबस्न आग्रह गरे ।

निर्वाचनको सन्दर्भमा सरकारका तर्फबाट उपलब्ध गराइएको साधन स्रोत र सुरक्षाको प्रत्याभूतिप्रति विश्वस्त भएर निर्वाचनको जिम्मेवारी पूरा गर्ने ऐक्यबद्धताका साथ भोलि हुने मनोनयन र १४ गतेको निर्वाचनका लागि हामी अघि बढिरहेका छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।

आयोगको तर्फबाट सो अवसरमा निर्वाचनका लागि भएको सम्पूर्ण तयारीको बारेमा जानकारी गराएकामा आयोगका कामप्रति सरकार र सत्तासाझेदार दलको तर्फबाट धन्यवाद व्यक्त भएको थियो ।

छलफलमा नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव तथा गृहमन्त्री जनार्दन शर्मा सहभागी थिए ।

सो अवसरमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वर पौडेल र सुधीर शाहका साथै आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए ।