देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव बिथोल्ने गरि राष्ट्रिय जनता पार्टीद्धारा आन्दोलन घोषणा

देशान्तर

काठमाडौं । सरकारले माग पुरा नगरे स्थानीय निर्वाचनमा सहभागी नहुने बताउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चार दिने बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार अपरान्ह बसेको राजपाको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

सो बैठकले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ। असार १४ गते दोस्रो चरणको निर्वाचन तोकिएको छ। बैठकपछि आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको अौचित्य सकिएको बताए। उनका अनुसार राजपाले जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने निर्णय गरेको छ।

त्यस्तै जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ,असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने, असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने, असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने, असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने र असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने निर्णय भएको नेता महतोले जानकारी दिए।