काठमाडौं । नेकपा एमालेभित्रै अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना सुरु भएको छ । विशेषगरी ओलीका गतिविधि र अभिव्यक्तिका कारण पार्टी रक्षात्मक अवस्थामा पुगेको भन्दै ओलीको आलोचना सुरु भएको हो । ओलीको हल्का बोलीका कारण पार्टीको छवि पनि हल्का भएको भन्दै पार्टीभित्र आलोचना सुरु भएको एक एमाले नेताले बताए । विशेषगरी पार्टीका अन्य दुई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले आलोचना सुरु गरेका हुन् ।
पछिल्लो समयमा पार्टी अध्यक्षले जथाभावी बोल्दै हिँड्दा पार्टीको गरिमा घटेको आलोचना गर्ने नेताहरूको तर्क छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली व्यक्तिवादी भएको समेत उनीहरूको आरोप छ ।
ओलीकै कारण प्रधानमन्त्रीको चुनावका क्रममा संसद्को बैठकमा बोल्दा अध्यक्ष ओलीले पार्टीको प्रतिरक्षा मात्र गर्न परेको उनीहरूको तर्क छ । ओलीले संसद्को बैठकमा बोल्दा एमाले मधेस विरोधी नभएको भन्दै पार्टीको प्रतिरक्षा गरेका थिए । विगतमा पनि माओवादीसँगको गठबन्धन जोगाउन नसकेको आरोप एमाले अध्यक्ष ओलीमाथि लाग्दै आएको थियो । ओलीले प्रधानमन्त्रीको लोभमा माओवादीसँगको गठबन्धन जोगाउन नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । पार्टीलाई विधिपूर्वक चलाउँदै एकताबद्ध रूपमा चुनावमा लैजानुपर्ने काम गर्न नसकेको आरोप लागेको छ ।
त्यसैगरी निर्वाचनमा टिकट वितरणमा समस्या परेको बताइएको छ । काठमाडौंमा नाताले सालोलाई मेयर बनाएपछि भित्रभित्रै असन्तुष्टि बढेको छ । त्यसैगरी झापामा भतिजालाई स्थानीय तहबाट नै सिफारिस नभई जबर्जस्ती ओलीले टिकट दिएपछि असन्तुष्टि बढेको छ । टिकट वितरणमा समेत ओलीले पार्टीमा छलफल नगरी एकलौटी गरेपछि समस्या परेको बताइएको छ । ओलीका कारण पहिलो चरणको चुनावमा पनि पार्टीले अपेक्षा गरेअनुरूपको जित हात पार्न नसकेको भन्दै आलोचना भएको छ । त्यसैगरी दोस्रो चरणको चुनाव अगाडि पहिलो चरणको चुनावको समीक्षा गर्नुपर्ने माग पार्टीमा भए पनि ओलीले समीक्षा बैठक नबोलाएकोमा समेत तीव्र असन्तुष्टि देखिएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जस्तै शक्तिको चरम दुरुपयोग गरी उम्मेदवार छनोट गरिएको माधव नेपाल तथा झलनाथ खनाल पक्षले आरोप थियो । अहिले पनि बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्य, नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्दिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुलसीपुर प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णयपछि विवाद चुलिएको छ ।
खोटाङ, ओखलढुंगा सोलुखुम्बु तथा झापामा गरिएको निर्णयपछि पार्टीका आन्तरिक विवाद झन् सम्हाल्न नसकिने गरी छरपष्ट भएको छ । पार्टीभित्र ओलीको अत्याचारबाट आजित भएका नेताहरू सार्वजनिक हुन थालेका छन् । ओलीले पार्टीलाई प्राइभेट कम्पनीको रूपमा चलाएको र आफूखुसी निर्णय गर्दै आएको भन्दै वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालले इलामे कार्यकर्तालाई बताइसकेका छन् भने माधव नेपालले पनि आफू निकटका कार्यकर्तालाई यस्तो पाराले पार्टी चल्न नसक्ने जनाएका छन् ।
खनालले त पार्टीका कार्यकर्तासँग ओलीको अत्याचार जारी रहे पार्टी फुट्नेसम्मको चेतावनी दिएका छन् । ओलीले पार्टीलाई संस्थागतभन्दा पनि कोटरीको आधारमा चलाएको, गुटलाई संरक्षण गरेको, उचित जिम्मेवारी नदिएको तथा अराजकता मच्चाएको, थपिएको २२ वटा स्थानीय तहको विरोध गरी मधेसमा पार्टीलाई झन् कमजोर बनाएको भन्दै खनालले आलोचना गरेका थिए । नेता खनालले पार्टीभित्र गुटमा नलाग्ने नेता तथा कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीभित्र कमाउ धन्दा बढेको तथा जनतालाई हवाई सपना बेचेर ओलीले थाङ्नामा सुताएको गुनासो गर्न थालेका छन् ।
ओलीको अराजकतालाई ठेगान लगाउन कार्यकर्ता उठ्नुपर्ने, होइन भने पार्टी फुटाउन नै तयार हुनुपर्नेसम्मको अभिव्यक्ति दिएको स्रोतले बताएको छ । ओलीको कार्यशैलीप्रति अर्का नेता माधव नेपालसमेत असन्तुष्ट छन् । नेपालले त ओलीविरुद्ध मोर्चाबन्दी नै सुरु गरेका छन् । ओलीको ज्यादतीलाई नियन्त्रण गर्न पनि मोर्चाबन्दी जरुरी रहेको उनको ठहर छ । ओलीले तानाशाही शैलीमा पार्टी चलाएको भन्दै नेपालले सुरु गरेको अभियानले सार्थकता पाउन लागेका बेला खनालको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रतिक्रिया