काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी माघ सात गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नु चुनौतिपूर्ण कार्य सरकारसामु रहेको बताए । बिहिबार नेपाल विद्यार्थी संघले कंँग्रेस केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन परिचालनसम्बन्धि अभिमूखिकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकतावद्ध भएर लागि पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीलाई विजयी बनाउने जिम्मेवारी युवा÷ विद्यार्थीहरुको काँधमा रहेको भन्दै सबैलाई संगठनको गतिविधि प्रभावकारी बनाउन पनि निर्देशन दिए । कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी गराउन युवा र विद्यार्थीहरुको मुख्य भूमिका हुने बताए । उनले आगामी तीन वटै तहको निर्वाचनलाई पार्टीले कठिन परिक्षाको घडीमा रुपमा लिएको उल्लेख गर्दै त्यसमा सफलता हासिल गर्न सिंगो पार्टीपंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।
यसैबीच नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको छ । बैठक दोस्रो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवार टुंगो लगाउनका लागि बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि चार वजेसम्मका लागि स्थगित गरिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । दोश्रो चरणको निर्वाचन हुने दुई महानगर, उपमहानगर तथा बढी विवादित बनेको नगर तथा गाँउपालिकाकाका उमेदवार चयनका बारेमा बैठकमा छलफल भएको थियो । स्थानीयस्तरमा टुंगो लगाउन नसकेपछि सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालयमा पठाइएको छ । नेता पौडेलले स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी भएकाले उम्मेदवारी चयनमा समस्या आएको उल्लेख गरे ।
प्रतिक्रिया