काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को तेस्रो बैठक बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ । नेपाल–भारतबीच भएको सन् १९५० को सन्धिका सबै धाराहरुमा केन्द्रीत रहेर बैठकमा छलफल हुनेछ । ईपीजीका नेपाल सचिवालयका कार्यकारी निर्देशक यादव खनालले सन् १९५० को सन्धिका विवादित धाराहरुमा केन्द्रीत रहेर छलफल हुने जानकारी दिए । सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको दुई पटक स्थगित तेस्रो बैठक काठमाडौंमा हुन लागेका हो। बैठक २३–२४ चैतसम्म अन्नपूर्ण होटलमा हुनेछ । इपीजीको पहिलो बैठक पनि गत असारको २०–२१ मा काठमाडौंमै भएको थियो। सो बैठकले नेपाल–भारतबीचका सम्पूर्ण सनिधसम्झौता र प्रावधान पुनरवलोकन गर्ने निर्णय गरेको थियो ।
पुसमा तय भएको तेस्रो बैठक भारतको उत्तर प्रदेशमा भएको निर्वाचनको कारण स्थगित भएको थियो । इपीजी नेपालका सदस्य राजन भट्टराईले सन् १९५० को सन्धिको नेपालको सरकार रहेका विषयहरुमा छलफल हुने जानकारी दिए । नेपाल र भारतको सम्बन्धमा आउने तिक्ततालाई अन्त्य गर्नका लागि सुझाव दिन बनेको ईपीजीले पुराना सन्धि–सम्झौता केलाउनेदेखि सीमा क्षेत्रमै गएर धारणा लिने काम गरेको थियो । नेपालको दबाब र लगातार प्रयासपछि ईपीजी गठन भएको हो ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा रहेको नेपालतर्फको ईपीजीमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र सांसद राजन भट्टराई सदस्य छन् भने बीजेपीका उपाध्यक्ष भगतसिंह कोसियारी संयोजकत्व रहेको भारतीय टोलीमा बीसी उप्रेती, महेन्द्र लामा र नेपालका पूर्व भारतीय राजदूत जयन्त प्रसाद छन् । इपीजीको कार्यकाल दुई वर्षको तोकिएको छ । दुवै देशले एक–एक लाख डलर बजेट दिने गरी यसको गठबन भएको थियो । त्यसअनुसार नेपालले ०७२ सालको पुस अन्तिम साता र भारतले फागुन ८ गते समूहमा आफ्ना सदस्य घोषणा गरेका थिए ।
प्रतिक्रिया