काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रदेशको सीमांकनसम्बन्धी असन्तुष्टि हटाउन आठौँ प्रदेशको प्रस्ताव गरेका छन् ।
सरकार, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच निर्णायक वार्ता हुने भनिएको एक दिनअघि मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा ‘राजनीतिक तथा संगठनात्मक प्रस्ताव’ पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।
उनले मधेसी, आदिवासी जनजाति र थारू समुदायका माग पूरा गर्न झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिने प्रस्ताव राखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘प्रदेश–१ मा झापा, मोरङ, सुनसरी तीनवटै जिल्ला र त्यसका सम्पूर्ण भागहरू राखिएकोमा त्यसमा परिमार्जन गर्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा उल्लेख प्रस्ताव उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिन्छ ।’
आठाँै प्रदेश बनाउँदा हालको २ नम्बर प्रदेशमा पर्सादेखि धनुषासम्मका जिल्लाका अतिरिक्त मकवानपुर, सिन्धुली र उदयपुरका ती प्रदेशसँग जोडिने चुरे क्षेत्रलाई समावेश गर्नु उपयुक्त हुने प्रचण्डको प्रस्ताव छ । उनले यो विकल्पमा सहमति जुट्न नसके प्रदेश नम्बर २ सँग भाषिक, सांस्कृतिक सामीप्य रहने मोरङ, सुनसरीको दक्षिण–पश्चिम भागलाई प्रदेश २ मा राख्नुपर्ने प्रस्ताव पनि राखेको केन्द्रीय सदस्यले जानकारी दिए ।
५ नम्बर प्रदेशमा कैलाली र कञ्चनपुरका थारू बाहुल्य क्षेत्रलाई समावेश गर्नुपर्ने र त्यो प्रदेशमा रहेका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका छन् । ‘उक्त प्रदेशमा रहेको पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाई प्रदेश नं। ४ मा राख्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा भनिएको छ । अघिल्लो मंसिरमा सुरु भएर पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकमा प्रचण्डले ४३ पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् । प्रचण्डको प्रस्तावमाथि बिहीबारदेखि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
एमाओवादी केन्द्रीय बैठक
के छ दस्ताबेजमा ?
दस्ताबेजमा पार्टीको कार्यदिशा, रणनीति र कार्यनीति, वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन, संविधानको उपलब्धि र कमजोरी, पार्टी पुनर्निर्माण अभियान, वर्ग र राजनीतिक शक्तिको विश्लेषण, पार्टीको ६ महिने कार्ययोजना, डा। बाबुराम भट्टराईको बहिर्गमनबारे चर्चा गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
आगामी रणनीति ः समाजवादी क्रान्ति कार्यदिशा ः समाजवादी क्रान्तिको तयारी
एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार प्रचण्डले पार्टीको अबको रणनीति समाजवादी क्रान्ति हुने निष्कर्ष निकालेका छन् । प्रस्तावमा समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत नै सामन्तवादका अवशेषहरूको अन्त्य गर्ने तथा राष्ट्रिय स्वाधीनता हासिल गरी पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिँदै उत्पादक शक्तिको विकासद्वारा समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा निश्चित गरिएको ती सदस्यले जानकारी दिए ।
प्रचण्डले समाजवादी क्रान्तिको तयारी नगरे मुलुक सामन्तहरूको संयुक्त वर्गीय गठबन्धनको चंगुलमा फस्ने खतरा औँल्याएका छन् । खतराबाट बच्न सडक, सदन र सरकारको मोर्चाबाट संघर्ष गर्नुपर्ने उनको प्रस्ताव छ ।
बाबुराम पुँजीवादी सुधारवादी
प्रचण्डले डा. बाबुराम भट्टराईको पार्टी बहिर्गमनलाई माक्र्सवाद र कम्युनिस्ट आन्दोलनकै परित्याग भएको निचोड निकालेका छन् । उनले भट्टराईको नयाँ शक्ति पुँजीवादी सुधारवादी भएको बताएका छन् । ‘कुन विचारधारात्मक राजनीतिक र नैतिक मान्यताबाट प्ेररित भएर बाबुराम भट्टराईले आफ्नो झन्डै तीन दशक लामो पार्टीसँग एकलौटी सम्बन्धविच्छेदको घोषणा गर्नुभयो रु के यो एमाओवादी पार्टीसँगको मात्र सम्बन्धविच्छेद हो वा माक्र्सवाद र कम्युनिस्ट आन्दोलनकै परित्याग हो । प्रश्न निश्चिय नै निकै गम्भीर रहेका छन्,’ बाबुराम भट्टराईको पार्टी परित्यागबारे शीर्षकमा प्रचण्डले लेखेका छन्, ‘आज तथ्यहरूले के साबित गरेका छन् भने उहाँले भन्ने गरेको नयाँ शक्तिको वैचारिक आधार माक्र्सवाद होइन, बरु सामाजिक लोकतन्त्रका रूपमा पुँजीवादी सुधारवाद हो ।’
नाकाबन्दी गरेर अमानवीय हस्तक्षेप
प्रस्तावको ‘वर्तमान राजनीतिक परिस्थितिबारे’ शीर्षकमा प्रचण्डले भारतीय नाकाबन्दीको विरोध गरेका छन् । उनले भूकम्पपछिको राहत, उद्धार र पुनस्र्थापनामा पार्टीले खेलेको भूमिकाको पनि चर्चा गरेको एक केन्द्रीय सदस्यले बताए ।
भारतीय नाकाबन्दी अमानवीय भएको प्रचण्डको भनाइ छ । ‘यस सन्दर्भमा नेपाल र नेपाली जनताका लागि दुस्ख, आश्चर्य र क्षोभको कुरा यो हुन गएको छ कि नेपालको आन्तरिक विवादको निहुँमा भारत सरकारले नेपालका विरुद्ध नाकाबन्दीजस्तो कठोर कदम चालेर नेपाली जनतालाई भयानक यान्त्रणा दिइरहेको छ,’ प्रस्तावमा भनिएको छ, ‘एउटा सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र, भूपरिवेष्ठित राष्ट्र नेपालका विरुद्ध भारतले लगाएको यो अघोषित नाकाबन्दी राजनीतिक, नैतिक र अन्तर्राष्ट्रिय कानुन, अभिसन्धिका हरेक दृष्टिले अमानवीय हस्तक्षेपसिवाय अरू केही पुष्टि हुन सक्दैन ।’
नेपालमा पाँच वर्ग
अध्यक्ष प्रचण्डले प्रस्तावमा नेपालको वर्ग विश्लेषण गरेका छन् । उनले दलाल एवं नोकरशाही पुँजीपति र सामन्त वर्ग, राष्ट्रिय पुँजीपति वर्ग तथा धनी किसान वर्ग, निम्न पुँजीपति वर्ग तथा मध्यम किसान वर्ग, गरिब किसान तथा सहरिया निम्न वर्ग र औद्योगिक मजदुर तथा भूमिहीन किसान एवं कृषि मजदुर वर्ग रहेको विश्लेषण गरेका छन् ।
कुन पार्टी कस्तो राजनीतिक शक्ति ?
प्रचण्डले नेपाली राजनीतिक पार्टीहरूको पनि विश्लेषण गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार उनले राजनीतिक शक्तिहरूलाई चार कित्तामा व्याख्या गरेका छन् ।
गणतन्त्रविरोधी शक्ति, यथास्थितिवादी शक्ति, सुधारवादी र अवसरवादी शक्ति र क्रान्तिकारी शक्तिमा विभाजित गरेका छन् । उनका अनुसार गणतन्त्रविरोधी शक्तिमा राप्रपाका विभिन्न घटकहरू पर्ने प्रचण्डको व्याख्या छ । यथास्थितिवादी राजनीतिक शक्तिमा नेपाली कांग्रेस र पहाड, मधेसमा रहेका कतिपय क्षेत्रीय दलहरू, सुधारवादी र अवसरवादी राजनीतिक शक्तिमा, नेकपा (एमाले) लगायत सुधारवादी र संशोधनवादी राजनीतिक दलहरू र क्रान्तिकारी राजनीतिक शक्तिमा एमाओवादीलगायत माओवादी धाराका विभिन्न समूहहरू पर्ने उल्लेख गरेका छन् ।
एकताबारे उत्साही छैनन्
प्रचण्डले माओवाद मान्ने शक्तिहरूबीच एकतामा जोड दिएका छन् । तर, उनी तत्काल एकता हुनेमा आशावादी देखिएका छैनन् । ‘यसबीचमा पाँच माओवादी समूहका बीचमा औपचारिक रूपले कार्यगत एकता गर्दै पार्टी एकताका निम्ति अलग–अलग समूहसँग सैद्धान्तिक राजनीतिक छलफल पनि हुँदै आएका छन्,’ उनको प्रस्तावमा भनिएको छ, ‘तर, त्यो प्रक्रिया आजसम्म पार्टी एकताकै तहसम्म विकसित भने हुन सकेको छैन ।’
विष्ट र पराजुली फर्किए
असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय तहबाट राजीनामा दिएका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगर पार्टी काममा फर्किएका छन् । उनी मंगलबारको बैठकमा सहभागी भएका छन् । उनीसँग संविधानसभाको दोस्रो निर्वाचनपछि राजनीतिमा निष्क्रिय रहेका पोलिट्ब्युरो सदस्य ध्रुव पराजुली पनि बैठकमा सहभागी भएका छन् ।
एक वर्षसम्म बैठक
एमाओवादीको केन्द्रीय समितिको यो बैठक सुरु भएको एक वर्ष पुगिसकेको छ । २८ मंसिर ०७१ मा बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले २५ बुँदे प्रस्ताव पेश गरेका थिए । त्यसयता बैठक पटकपटक स्थगित हुँदै आएको थियो । प्रवक्ता शर्माले एक वर्षअघि सुरु भएको बैठक यसपालि सकिने बताए । ‘यो बैठक एक वर्षअघि सुरु भएकै बैठकको निरन्तरता हो,’ उनले भने, ‘यसपालि सकिन्छ ।’
गत १६ असोजमा काठमाडौंमा तीन र चार नम्बर प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षणमा प्रचण्डले भनेका थिए, ‘पार्टीको नाम छिट्टै गिनिज बुकमा दर्ता हुन्छ होला ।’ उनले गत मंसिरमा सुरु भएको बैठक अझैसम्म नसकिएको चर्चा गर्दै भनेका थिए, ‘एक वर्षसम्म संसारको कुनै पनि पार्टी बैठक बस्दैन ।’
]]>
प्रतिक्रिया