तातोपानी (सिन्धुपाल्चोक) । भारतीय नाकाबन्दीयता सबैको ध्यान तातोपानी नाकातिर केन्द्रित छ । भूकम्पपछि बन्द रहेको उत्तरतिर सबैभन्दा चल्तीको यो नाका पुनः सुचारु गर्न नेपालतर्फ अब कुनै भौतिक संरचनाले रोक्दैन ।
अरनिको राजमार्ग पूर्णतः सुचारु भइसकेको छ । नेपाली भन्सार र अध्यागमन कार्यालय सञ्चालनमा आइसकेका छन् । जत्रै गाडी काठमाडौंसम्म पुग्न र जति धेरै सामान वैधानिक रूपमा आयात–निर्यात गराउन नेपाली अधिकारीहरू तम्तयार छन् । तर पनि नाका खुल्न नसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
‘हामी २४ घण्टा खटेर सेवा दिन तयार छौं,’ तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले भने, ‘चिनियाँ पक्ष खोल्न तयार रहे हाम्रोतर्फ कुनै समस्या छैन ।’
चीनबाट इन्धनलगायत अत्यावश्यक सरसामान ल्याउन सबैभन्दा उचित ठानिएको यस नाकाको अवलोकनमा गएको संसदको विकास समिति नेतृत्वको टोलीले त्यही महसुस गरेर फर्कियो । ‘यो नाका सुचारु गर्न अब कुनै बाधा नरहेको पाएँ,’ समितिका सभापति रवीन्द्र अधिकारीले भने, ‘यथासक्य छिटो यसका लागि सरकारलाई प्रतिवेदन बुझाउने छौं । साथै सरोकारवाला मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई बोलाएर यो नाका सुचारु गर्ने वातावरण बनाउन निर्देशन दिनेछौं ।’
सडक विभागका उपमहानिर्देशक केशवकुमार शर्माले अप्ठ्यारा ठाउँमा मर्मतसम्भार गरी सडक आवागमन योग्य बनाइसकेको जानकारी दिए । उनका अनुसार पूर्ववत् रूपमा फर्काउन १ अर्ब ६० करोड खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये योजना आयोगले ७७ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । ‘आन्तरिक स्रोतबाटै हामीले धेरै काम गरिसकेका छौं,’ उनले भने, ‘कोठे, झ्यालेभीर र लिपिङका साँघुरा ठाउँलाई मिलाउनासाथ ग्यास बुलेट ल्याउनसमेत सकिन्छ ।’ त्यस्तो स्थिति आए विभागले रातारात तयार गरिदिन सक्ने उनले प्रतिबद्धता जनाए ।
एमाले नेता तथा सिन्धुपाल्चोकका सांसद अमृत बोहोराले राष्ट्रिय आयमा राम्रो योगदान दिइरहेको तातोपानी नाका कुनै विलम्ब र कुनै बहानाबिना सुचारु हुनुपर्ने बताए ।
‘यो मार्ग ऐतिहासिक मात्र होइन, नेपाल–चीन सम्बन्धको कडीसमेत हो,’ उनले भने, ‘यसलाई पूर्ववत् सञ्चालनमा ल्याउन भौतिक पूर्वाधारमा पनि कुनै कन्जुस्याइँ गर्नु हुँदैन ।’
भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका बासिन्दा मर्माहत भएका छन् । ‘हामीले ज्ञापनपत्र लिएर जान बाँकी कुनै पनि संघसंस्था र निकाय छैनन् होला,’ उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष कमल श्रेष्ठले भने, ‘तर नाका खुल्न सकेन । यसमा उच्चस्तरीय राजनीतिक पहल नपुगेको हुनुपर्छ ।’
सिन्धुपाल्चोकवासीको मर्मसँगै जोडिएको छ यो नाका । अत्यन्त विकट भौगोलिक बनावटको यस जिल्लामा कृषि उब्जनी खास हुँदैन । ‘सर्वसाधारणको कामै बन्दव्यापार हो,’ स्थानीय कामी शेर्पाले भने, ‘त्यो पनि चिनियाँ सरसामानको । अहिले नाका बन्द भएपछि सिंगै जिल्लावासीको बिचल्ली भएको छ ।’
तातोपानी भन्सार प्रमुख पोखरेलका अनुसार यो नाका भएर बर्सेनि एक लाख पर्यटक तिब्बतको मानसरोबर जान्थे । ‘यहाँ ४५ वटा पर्यटकीयसहित ३ सय ५० होटल छन्,’ उनले भने, ‘ती सबै बन्दबराबर छन् । १४ सय कन्टेनरमा २८ सयले प्रत्यक्ष रोजगार पाएका थिए । तिनका व्यवसायी हजारभन्दा बढी थिए । सबैको बिल्लीबाठ छ ।’
तातोपानी भन्सारले वार्षिक सरदर ६ अर्ब राजस्व संकलन गथ्र्यो । उत्तरतिरका ९ नाकामध्ये तातोपानी सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । व्यस्त व्यापारिक गतिविधि हुने लिपिङ, कोदारी र तातोपानी क्षेत्र हाल सुनसान छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रथम उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठले खासामा नेपाली व्यवसायीका २ सय ५० देखि ३ सय कन्टेनर करिब ८ महिनादेखि अलपत्र रहेको जानकारी दिए । ‘नेपाली व्यापारीका करोडौंका सामान खासाका कन्टेनरमा कुहेका छन्,’ उनले भने, ‘नाका खुल्ने हो भने काम लाग्ने सामान ल्याउन सकिने थियो । सरकारले उच्चस्तरीय वार्ता गरेर यसको पहल नगर्ने हो भने यहाँका व्यवसायी भोकमरीमा पर्ने अवस्था आइसक्यो ।’
भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले तातोपानी नाका सकेसम्म छिटो सुचारु गर्न चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए । ‘ल्हासाको बैठकमा हामीले यसको महत्त्व र आवश्यकता प्रस्ट्यायौं,’ केहीअघि उक्त बैठकमा सहभागी रेग्मीले भने, ‘चिनियाँ पक्षले त्यसलाई सकारात्मक रूपमा लिएको अवगत गराएको छ ।’ भूकम्पका कारण यस राजमार्गमा नेपालका केही सम्भावित उपलब्धि पछाडि धकेलिएका छन् । सडक विभागका उपमहानिर्देशक शर्माका अनुसार चिनियाँ सहयोगमा अरनिको राजमार्गलाई डब्बल लेन बनाउनेबारे तयारी पूरा भएको थियो ।
त्यस्तै चीन सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको ७० प्रतिशत काम पूरा भएको थियो । त्यसलाई सञ्चालन गर्ने नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट कमिटीका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतका अनुसार २०१५ भित्र सक्नुपर्ने गरी चिनियाँ पक्षसँग सम्झौता भएको थियो । जुरेको पहिरोका कारण काममा बाधा परेपछि एक वर्ष म्याद थपियो । अग्लो डाँडाको फेदमा रहेको र माथिबाट पहिरो खस्न थालेको हुँदा यो केही जोखिमपूर्ण भने छ । ‘तर, रोकथाम गर्न सकिन्छ,’ निर्माता बेइजिङ रियलस्टेट ग्रुपको स्थानीय प्रशासक सुलोचना लामिछानेले भनिन् ।
प्रतिक्रिया