देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सेल्फी किङ’ मा विपिन

देशान्तर

भर्सटायल अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म ‘प्रसाद’ टिमसँग दोस्रो पटक सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म ‘सेल्फी किङ’ मा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले गर्नेछन् । उनी फिल्म ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् । 

अमेरिकामा फिल्म  मेकिङको पढाइ सकेर नेपाल फर्किएका उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् । यसअघि उनी तेलूगु फिल्म  ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर, विविध कारणले यो निर्माण हुन सकेन । अब उनले ‘सेल्फी किङ’ मा विपिनलाई एक्सन-कट गर्नेछन् ।
भदौ १० गतेबाट फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुने निर्माता मध्येका एक दिनेश राउतले बताए । फिल्मका लागि अहिलेसम्म प्रमुख भूमिकामा अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेत्री द्वय स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले फिल्म ‘बुलबुल’ मा सँगै काम गरेका थिए ।
फिल्मको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । यस वर्षको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’  पछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा ‘परी’ र ‘फनफनी’ छन् । अब यी दुई फिल्म उनले ‘सेल्फी किङ’ भ्याएपछि गर्नेछन् । निर्माण टिमले फिल्मको विषयवस्तु गोप्य राखेको छ ।