देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजसेवाका लागि एनआरएनए रोजें

देशान्तर

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा दुई कार्यकाल सफल नेतृत्व गरिसकेका डा. केशव पौडेल सफल एनआरएनए नेताको रूपमा चिनिन्छन् । पेसाले वरिष्ठ चिकित्सक डा. पौडेल एनआरएन अमेरिकाको नेतृत्वपछि आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको आईसीसीको सम्मेलनमा महासचिवको बलियो उम्मेदवारको रूपमा अघि बढेका छन् । तनहँु जिल्लाको व्यास नगरपालिका ९ सिस्नेरीमा जन्मनु भएका डाक्टर पौडेल जिल्लाबाट प्रवेशिका परीक्षा (एसएलसी) सकेलगत्तै मेडिकल कलेजबाट उच्च अध्ययन गरी चार वर्ष शिक्षण अस्पतालमा स्वस्थ्य सेवामा लाग्नु भएको थियो । नेपालमा विद्यार्थी जीवनको राजनीतिमा समेत सक्रिय डा. पौडेल तत्कालीन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, फ्याकल्टी बोर्ड विद्यँर्थी बोर्ड विद्यँर्थी प्रतिनिधि, प्राविधिक विद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य हुन् । नेपालको स्वस्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट चिकित्सकको पुरस्कारद्वारा सम्मानित डा. पौडेल सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा गएका थिए । न्युयोर्कको अपस्टेटबाट चार वर्ष अध्ययन पूरा गरी एमडी र टेनिसीबाट एमबीएको उच्च अध्ययन पूरा गरी सन् २०१४ देखि अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छन् । हाल अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष पदमा रहेका डा. केशव पौडेलसँग देशान्तर प्रतिनिधिले गरेको कुराकानी ।

चिकित्सा क्षेत्रमा त्यत्रो नाम कमाएको व्यक्ति कसरी एनआरएनको राजनीतिमा लाग्नु भयो ?

चिकित्सा क्षेत्र मेरो पेसा हो । यसैको माध्यमबाट मैंले परिचय पाएको छु । यो क्षेत्रमा पनि मैले व्यवस्थापन र नेतृत्वकर्ताको जिम्मेवारीहरू लिँदै आएको छु । विद्यार्थी जीवनमा गर्दै आएको नेतृत्वसँगै हरेक पाइलाहरूमा सामाजिक सेवाको भावनासंँगै नेतृत्व गर्दै आएको छु । एनआरएन विदेशमा बस्ने हामी नेपालीहरूको साझा सस्था हो । यो संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीहरूलाई आफूले सिकेको र जानेको कुराहरूको माध्यमबाट सेवा र सहयोग गर्नका लागि एनआरएनमा लागेको हो ।

एनआरएनए अमेरिकामा दुई कार्यकाल अध्यक्ष भएर के के गर्नुभयो ?

एनआरएन अमेरिका, मैले नेतृत्व गर्नुअघि सुषुप्त अवस्थामा रहेको थियो । यसलाई हामीले संस्थागत गरी आज यो अवस्थामा ल्याउन सफल भयौं । अमेरिकी नेपालीहरूमाझ एनआरएन के हो ? किन सदस्यता बनाउने भन्ने बारेमा बुझाउने कोसिस गरियो । यसका साथै संस्थागत रूपमा पनि हाम्रो नेतृत्वले गरेका हरेक निर्णयहरू पारदर्शी र सम्पूर्ण सदस्यहरूलाई तुरुन्तै थाहा पाउने गरी बैठकका माइन्युटहरू सम्प्रेषण गरेका थियौं । संस्थालाई सबल बनाउनका लागि राम्रो वेवसाइट पनि निर्माण गर्यौं । यसको साथै हामीले अमेरिकाका विभिन्न राज्यहरूमा च्याप्टरहरू गठन गर्यौं । नयाँ सदस्य बनाउने सवालमा पनि हामीले ५० वटै राज्यहरूमा सदस्यता विस्तार गर्न सफल भएका छौं । नेपाली समुदायमा आइपर्ने समस्या समाधानका लागि हामीले अमेरिकाको सबै राज्यहरूमा एनआरएनए हेल्प डेक्सको व्यवस्था गर्यौं । त्यस्तै एनआरएनको पहलमा नेपाली भाषामा सवारीचालक अनुमति, नेपाली पाठ्यपुस्तक र न्युयोर्कमा माउन्ट एभरेस्ट वे नामकरणमा गर्न पहल गर्यौं । त्यस्तै अमेरिकामा विज्ञ सम्मेलन गर्नुको साथै टीपीएसको लागि विभिन्न संघसस्थाहरूसँग परामर्श गरेका थियौं ।

विदेशमा बस्ने नेपालीले नागरिकता पाउनुपर्छ भनेर नेपाल सरकारको विभिन्न निकायसँगै राज्यव्यवस्था समितिमा उपस्थित भएर लविङ गर्यौं । त्यस्तै युवाहरूलाई शैक्षिक क्षेत्रमा प्रोत्साहन दिलाउन छात्रावृत्ति दिँदै आइरहेका छौं । प्रवासका साथै मातृभूमि नेपालमा विपत्तिमा परेको बेला त्यहाँको नेपाली जनताको सेवामा हामीले आर्थिक तथा भौतिक सहयोग गरिहेका छौं । त्यस्तै, नेपालको वातावरण संरक्षणको लागि प्रदूषण न्यूनीकरणमा एनआरएनए अमेरिकाले नेसनल इन्भाइरोमेन्ट एकेडेमीको गुरुयोजना निर्माणको लागि १० हजार डलर आर्थिक सहयोग गर्यौं । यसको साथै अमेरिकाभरि विभिन्न राज्यहरूमा सामुदायिक भवन बनाउनका लागि हामीले उत्प्रेरणा गर्ने काम गर्यौं । त्यसमा एक लाख डलरभन्दा बढी त म आफैंले सहयोग गरिसके भने अरू थुप्रै हाम्रा एनआरएनका साथीहरूले पनि उत्तिकै सहयोग गर्नु भएको छ ।

तपाईं महासचिवको उम्मेदवार किन ?

सानैदेखि मैले समाजमा गर्दै आएको सामाजिक सेवाको भावनाकै कारण विस्तारै अघि बढ्दै आएको छु । ममा संस्थामा कुनै पदलोपुता छैन । यो मेरो सामाजिक सेवाको नशा हो । समाजसेवामा लागेपछि विश्रामभन्दा पनि नशा र आदत लागेर नै लगातार लाग्दै आएको हो । विदेशमा नेपाल र नेपालीको सेवामा एनआरएनमा लागेर जुट्ने क्रममा पाएको अनुभवकै कारण यस पटक एनआरएन केन्द्रको महासचिव पदमा उम्मेद्ववारी दिएको छु । धेरै साथीहरू र शुभेच्छुकहरूको मायाले मलाई थप ऊर्जा मिलेको छ ।

स्वस्थ्य क्षेत्रमा क्रियाशील तपाईंले संस्थागत रूपमा कत्तिको योगदान पुर्याउनु भयो ?

म एनआरएनमा लाग्नुभन्दा पहिले देखिनै नेपालको स्वस्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्नेमा थिएँ । नेपाल अमेरिका मेडिकल फाउन्डेसनमा आबद्ध रहेर सक्रिय रूपमा काम गर्नुका साथै बोर्ड अफ मेम्बर र सल्लाहकारको रूपमा रहेर काम गरेँ । मैले मेरो मनबाट म एउटा स्वस्थ्यकर्मी हुँ । मैले एक पटकमा एक जना बिरामीलाई निको पार्न सक्छु, यो सत्यतथ्य हो तर म सामाजिक र सामुदायिक क्षेत्रमा गएर काम गरें भने धेरै मानिसको जीवनमा प्रभाव पार्न सकिन्छ भन्ने सोचेर एनआरएनमा लागेको हुँ । मैले व्यक्तिगत रूपमा कहीँ कसैलाई स्वस्थ्यसम्बन्धी या अरू कुनै विषयमा सहयोग गर्र्नेभन्दा पनि नीति निर्माणको तहबाट अथवा सामूहिक रूपबाट दैनिक जीवनमा आइपर्ने समस्याहरूमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा म लागेको हुँ । स्वास्थ्य सम्बन्धित कुरा गर्दा अमेरिका-नेपाल मेडिकल फाउन्डेसनको कोल्याब्रेसनमा काम गरिरहेका छौं । म एनआरएन अमेरिकाको अध्यक्ष हुँदा जब नेपालमा भूकम्प गएको थियो त्यतिखेर २४ जना स्वस्थ्यकर्मीको टोली लिएर नेपालमा पुगेर विभिन्न दुर्गम गाउँहरूमा गएर स्वस्थ्य उपचारको साथै अन्य सहयोग पनि गर्यौ ।