देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति एक्लै अघि बढ्न खोज्नु भयो- हृदयराम थानी

देशान्तर

नेपाली कांग्रेस यतिबेला केमा व्यस्त छ ?

नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनको तयारीमा आफ्नो ध्यान केन्द्रित गरिरहेको अवस्था छ । १४औं महाधिवेशन कसरी निष्पक्ष, धाँधलीरहित बनाउने भन्ने विषयमा बहस र छलफल भइरहेको छ । र, यो विवादको विषय पनि भएको देखिन्छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू १४औं महाधिवेशनलाई उत्सुकताका साथ पर्खेर बसिरहेको अवस्था छ ।

१४औं महाधिवेशनको तयारी सुरु भएको हो र ? अहिले त तयारीभन्दा पनि विवाद सुरु भएको जस्तो देखिन्छ ?

विवाद नै तयारीका लागि हो । महाधिवेशन कसरी गर्ने भन्ने विषयमा नै विवाद निस्किएको हो । तयारीकै लागि विवादहरू भएका हुन् । १४औं महाधिवेशनलाई लिएर उत्पन्न समाधान गरेर महाधिवेशनको तयारीमा कसरी सवै कार्यकर्तालाई समेट्न सकिन्छ, महाधिवेशन कसरी निष्पक्ष गर्न सकिन्छ भनेर नै हामीहरू बीचमा विवाद देखिएको हो । पार्टीलाई कसरी एक ढिक्का बनाएर १४औं महाधिवेशनमा लैजान सकिन्छ भनेर नै हामीबीच विवाद देखिएको हो ।

पार्टीलाई एक ढिक्का बनाउने कुरा गर्नुभयो तर कांग्रेस त कहिल्यै एकजुट भएको देखिँदैन ? फेरि तपाईंहरूले नै गुटगत सभापतिको भेला पनि गर्नुभयो ?

हामीले गरेको सभापति भेला पनि पार्टीलाई एक ढिक्का बनाउनकै लागि हो । पार्टी सभापतिले विधान विपरीत साथीभाइलाई छाडेर एक्लै अगाडि बढ्नु हुँदैन है, सबै सँगै जानुपर्छ भनेर नै पार्टी सभापतिलाई दबाब दिनका लागि हामीले जिल्ला सभापतिहरूको भेला गरेका हौं । म मात्रै एक्लै हिँड्छु भनेर कही पुगिँदैन । अहिले कम्युनिस्टहरूको दुई तिहाइको हाराहारीमा बहुमत रहेको अवस्था छ । त्यसैले सभापतिले सबैको मन बुझाएर, चित्त बुझाएर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नु पर्छ भन्नका लागि नै अहिले पार्टीभित्र छलफल, बहस वा भन्नुस् विवाद भइरहेको छ ।

संस्थापन इतर पक्षबाट बनाइएको वार्ता कमिटीमा तपाईं पनि हुनुुुहुन्छ । तपाईंंहरू संस्थापन पक्षसँग पटकपटक वार्तामा बस्नु भयो तर कुरा मिलेन । के हुन्छ वार्तामा ?

कतिपय कुराहरू तपाईंहरूलाई पनि थाहा छ । धेरै कुराहरूमा हामी सहमति नजिक पुगेका थियौं । कतिपय कुराहरू टुंगी पनि सकेको थियो । हामीबीचमा नेपाल विद्यार्थी संघको विषयमा मात्रै समस्या देखिएको थियो । त्यो समस्या पनि नियमअनुसार पार्टी सभापतिले मिलाउने भनेर भनिसके पछि केन्द्रीय समितिको एक घण्टाभित्र बसेको बैठकमा निर्वाचनको कार्यतालिका ल्याउने भनिएको थियो । तर एकपक्षीय रूपमा अधिवेशनको कार्यतालिका आयो । त्यतिमात्र होइन केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थपियो । त्यसैगरी कांग्रेसका विभागहरूको संख्या थप्ने, तरुण दलको म्याद थप गर्ने लगायतका कुराहरूले गर्दा विवाद झन् बल्झियो । मिलिसकेको कुरामा पनि एकाएक हठात रूपमा सभापतिले एकलौटी ढंगले निर्णय गरेपछि यो परिस्थिति आएको हो ।

तपाईंहरूले माग गरेको होइन र महाधिवेशनको कार्यतालिका ? त्यसका लागि दबाब पनि दिनु भएको थियो ?

दबाब त दिएको हो । महासमितिको बैठकमै वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यतालिका ल्याउनुपर्‍यो भन्नु भएको थियो । २०७६ फागुनमा वर्तमान केन्द्रीय समितिको म्याद सकिन्छ । म्याद सकियो भने अप्ठ्यारो हुन्छ भनेर त भन्नु भएकै हो । महासमितिको बैठकमा वरिष्ठ नेता पौडेलले तालिका बाँड्नु भएको थियो । यो काम गरौं भन्दाभन्दै नेतृत्वले सुरसारै गरेन । मंसिर २६ गतेको बैठकमै हामीले तालिकाको अपेक्षा गरेका थियौं । त्यतिबेला संस्थापन पक्षका साथीहरूले वास्ता गर्नु भएन । त्यस्तो भएपछि बैठक छाडेको हो, हामीहरूले । हामीले पनि कार्यदल बनाएर वार्ता गर्दा २०७७ मंसिरको ५ देखि ८ गतेसम्म गर्न सकिन्छ भनेका थियौं । त्यसलाई पनि लत्याएर फागुन अन्तिममा, त्यो पनि थपिएको एक वर्षको अन्तिममा अधिवेशन गर्नुपर्ने भनिसके पछि हामीले पार्टीभित्रको अधिवेशन किन अन्तिममै पु¥याउनु प¥यो भनेका हौं । फागुनमा महाधिवेशनका लागि पुसमा स्थानीय तहको अधिवेशन भनिएको छ । त्यतिबेला जुम्ला हुम्लामा त गाह्रो हुन्छ नि । त्यसैले यो क्यालेन्डर हुँदैन, यसलाई मिलाएर ल्याउँ भनेका थियौं ।

तपाईंहरूको जिल्ला सभापति भेलालाई सभापति शेरबहादुर देउवाले गम्भीरतापूर्वक लिएको देखिएन नि ?

गम्भीरतापूर्वक लिनुपर्छ भन्ने हाम्रो भनाइ हो । आदरणीय पार्टी सभापति एकलौटी ढंगले अघि जान खोज्नु भयो । सरकारले निर्वाचन गर्दा पनि प्रतिपक्षलाई राखेर सहमतिका साथ मिति तय गरिन्छ । अस्ति देउवासँग रामचन्द्र पौडेल, कृष्ण सिटौला पराजित हुनुभयो होला । उहाँहरूलाई राखेर महाधिवेशनको क्यालेन्डर तयार गर्न नसक्ने अवस्था कहाँबाट आयो ? जुन दिन पार्टीका वरिष्ठ नेताहरूले भाग नलिरहेको अवस्थामा यही मौका हो भनेर एक वर्षको म्याद पनि बढाउने, कार्यतालिका पनि आफ्नो खुसीले निकाल्ने, तरुण दलमा पनि आफ्नो एकलौटी निर्णय लाद्ने काम भयो । महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने पार्टीका विभागहरू पनि गठन गर्न नसक्ने । विधान संशोधन गरेको एक वर्ष नपुग्दै २८ बाट ४७ वटा विभाग बनाउनुपर्ने । विभागहरू पनि महाधिवेशनको मुखमा गठन गर्नुपर्ने । यसरी गलत क्रियाकलापका साथ सभापतिज्यू अगाडि बढ्न खोज्नु भयो । त्यसैकारणले जिल्ला सभापतिहरूलाई यहाँ बोलाएर यो कुरा राखौं भनेर हामीले भेला बोलाएका हौं । भेलामा बहुमतको संख्यामा जिल्ला सभापतिहरू आउनुभयो । सबैले पार्टी यसरी चलाउन मिल्दैन भन्नुभयो । विवाद समाधान गरेर सबै एक भएर जानुपर्छ भनेर नै सभापतिहरूले सुझाव दिनुभयो । पार्टी नेतृत्वलाई स्पष्ट रूपमा विधान विपरीत केही पनि नगर्नुस् भनेर जानु भएको छ । सभापतिजीलाई विधानविपरीत काम गर्न किन जरुरी पर्‍यो ? नेविसंघमा ३२ वर्षको उमेरहद तोकिएको छ विधानमा, तरुण दलको विषयमा विधानमा जे भनेको छ त्यसैमा जाउँ भनेर हामीले पनि भन्दै आएका छौं । महाधिवेशनका लागि फागुनमै पुग्नुपर्छ भन्ने के छ ? त्यसलाई एक–दुई महिना अगाडि ल्याएर क्यालेन्डर बनाए हुन्छ । फागुनको महाधिवेशन सर्‍यो भने भदौसम्म जान्छ । त्यसपछि के हुन्छ पार्टीको भविष्य ? यो त कांग्रेस पार्टी हो, जे बोल्छ त्यही गर्छ भन्ने पार्टी हो । आज किन कांग्रेसलाई हल्कारूपमा लिने परिस्थीति बनिराखेको छ । न निर्वाचन आयोग बोलाउनु छ, न चुनाव लडेका रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई बोलाउनु छ । एकलौटी तरिकाले पार्टी हाँक्न सक्छु भन्ने दम्भ सभापतिको देखियो । तपाईं एक्लै जान सक्नुहुन्न है भन्ने परिस्थिति निर्माण गर्नका लागि सभापतिहरूलाई बोलाइएको हो । सभापतिहरूले विधानअनुसार गर्नुस् पनि भन्नु भएको छ । विधानअनुसार दुई महिनामा गठन हुनुपर्ने विभागहरू किन अहिलेसम्म गर्न नसक्ने ? अब थप गरेको एक वर्षका लागि किन विभागहरू गठन गर्नु पर्‍यो ?

आफ्ना मान्छेलाई स्पेस दिनुपर्ने होला नि त ?

सभापतिका लागि को आफ्नो, को पराइ ? उहाँका लागि सबै बराबरी होइन र ? सबै कांग्रेसको सदस्यता लिएकाहरू सभापतिका नजिकका मान्छे हुन् । सभापतिले नै मेरो र तेरो मान्छे भनेपछि कहाँबाट चल्छ ?

तपाईंहरूले जतिसुकै एक ढिक्का हुनुपर्छ भने पनि कांग्रेस विभिन्न गुटहरूमा विभक्त त छ नि ?

पार्टीभित्र विचार समूह त हुन्छ नि । यही फागुनमा हाम्रो केन्द्रीय समितिको कार्यकाल सकिँदै छ । केन्द्रीय महाधिवेशन छिटोभन्दा छिटो गराउने र म्याद थप गर्ने भन्ने विषयमा अहिले गुट देखिएको छ । म छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छु । गुट हुनु स्वाभाविक भए पनि सही र गलत के हो त्यो कुरामा जानुपर्छ । यो बाहिर देखिने गुट होइन । पार्टीको आन्तरिक लोकतन्त्रका लागि गुट हुनु स्वाभाविक मानिन्छ । के गर्न अधिवेशनलाई पछाडि धकेलेर जानु परेको हो ? हामीले मंसिरमा अधिवेशन गरौं भन्दा फागुन नै चाहिने परिस्थिति कहाँबाट आयो, हाम्रो सभापतिलाई ?

फागुनमा अलि गर्मी चढ्छ भनेर होला नि ?

राजनीतिमा चिसो गर्मी भन्ने केही हुँदैन । अहिलेको राष्ट्रिय राजनीतिक परिदृश्य कांग्रेसका लागि गाह्रो बन्दै गएको छ । पानी पर्‍यो भनेर कार्यक्रम रोकिँदैन, हिउँ पर्‍यो भनेर पहाड नजाने भन्ने हुँदैन । राजनीति गर्नेले सबै कुरा व्यहोर्नु पर्छ । अहिलको झगडा विधि विधान नमानेका कारण सुरु भएको हो । तीन वर्षअघि पोखरामा तरुण दलको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । ९५ सदस्यीय कार्यसमितिमा चार जना मात्रै मान्छेले तरुण दल तीन वर्ष चलाए । यस्तै यस्तै कारणले कांग्रेसका भ्रातृ संस्थाहरू सुतिरहेका छन् । नेविसंघ विवादका कारण डिजल्ब गरेको आज नौ महिना हुँदासम्म सभापतिले तदर्थ समिति गठन गर्न सक्नु भएन । फागुनमा स्ववियूको निर्वाचन हुँदै छ । यस्तोमा कसरी नेविसंघले प्रतिस्पर्धा गर्छ ? पार्टी सभापतिज्यू पनि नेविसंघको सभापति भएर आउनु भएको हो । हामी पनि नेविसंघबाट पार्टी राजनीतिमा आएका हौं । यत्रो ठूलो कांग्रेसको नर्सरीलाई त्यसै पेन्डुलम बनाएर राख्न मिल्छ ? कांग्रेसले विभाग बनाएको भए झन्डै १६ सय कार्यकर्ताले काम पाउने थिए । अहिले आएर विभाग गठन गर्ने कुरा गर्नुहुन्छ । अहिले कम्युनिस्टको जगजगी भएका बेला काम नगर्ने अनि खाली कोठामा बसेर मेरो र तेरो भनेर हुन्छ ?

विभाग गठनका लागि तपाईंहरूले नै नामावली नदिएको भन्ने संस्थापन पक्षको भनाइ छ नि ?

विधानविपरीत गर्नका लागि किन हामीले नामावली दिने ? जथाभावी विधानविपरीत गरेकाले हामीले नामावली नदिएको हो । अब अहिले महाधिवेशनको मिति तय गर्दा मेरा मान्छे नराखी भएन भनेर विभाग गठन गर्न खोज्नु नै गलत विषय हो ।

१३औं महाधिवेशन भए लगत्तै दुई महिनामै विभाग गठन गर्न खोज्दा तपाईंहरूले नाम नदिएको होइन र ?

सभापतिलाई महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन गर्नका लागि कस्ले रोक्यो ? पदाधिकारीमा पनि त उहाँले मनोनीत गर्दा हामीले मिलाएर जाउँभन्दा उहाँले पेलेर जानु भयो । तै पनि हामीले मान्यौं । हाम्रो असहमति हुँदाहुँदै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनीत गर्नुभएको थियो । हामीले मान्दै मान्दैनौं भन्या छौं र ? जे गरे पनि हामीले मान्दै आएका थियौं । सभापतिलाई काम गर्न कस्ले रोकेको छ र ? नेविसंघको जिम्मा त सभापतिलाई दिने भनेर नेविसंघको माइन्युटमै लेखिएको छ भनेर सुनेको छु । उहाँले गठन गरेर गए भैगो त । कस्ले रोकेको छ र ? सहमति भन्ने अनि सहमतिका नाममा अरूलाई दोष लगाएर हुन्छ ? सभापतिले विभाग गठन नगरे पनि विभागअन्तर्गत हुने काममा साथीहरू खटिरहनु भएको छ ।

पार्टी सभापतिले विभाग गठन गरेर शक्ति सञ्चय गर्न खोजेको हो कि ?

एउटा पार्टीभित्र शक्ति केका लागि सञ्चय गर्ने । कोही साथीलाई पार्टीभित्र पराजित गर्नका लागि शक्ति सञ्चय गर्ने कि प्रतिपक्षी पार्टीलाई ढाल्नका लागि शक्ति सञ्चय गर्ने ?

नेपालको संसद्मा प्रतिपक्षी भन्ने छ र ?

किन छैन ? नेपाली कांग्रेस प्रतिपक्षी दल हो । कांग्रेसका सांसदहरू छन् त ? संख्या कम भएका कारण भूमिका अलि कम होला । जति गर्नुपथ्र्यो त्यति गरेको छैन, यो साँचो कुरा हो । तर भूमिका नै निर्वाह गरेको छैन भनेर भन्न मिल्दैन ।

अब नेपाली कांग्रेसलाई कसरी रूपान्तरण गर्नुहुन्छ ? १४औं महाधिवेशन रूपान्तरणको एउटा कडी हो भन्नु भएको छ ?

१४औं महाधिवेशनका लागि साथीहरू उत्साहित पनि छन् । केन्द्रदेखि वडासम्म माहोल पनि आउँछ । सहमतिका साथ महाधिवेशनको नयाँ क्यालेन्डर बनाउनका लागि हामीले आग्रह गरिरहेका छौं । १४औं महाधिवेशन फेरि म्याद नसर्ने गरी गरौं भनेका छौं । जसले गर्दा मेचीदेखि महाकालीसम्म रहेका कार्यकर्ताहरूमा उत्साह पनि आउँछ ।

उसो भए आगामी महाधिवेशनको क्यालेन्डर फागुन होइन मंसिर हो ?

यसमा बसेर छलफल गर्न सकिन्छ । फागुनमा गर्न सकिएन भने फेरि म्याद थप गर्नुपर्छ । फेरि म्याद थप गर्न नपर्ने गरी दुई महिनाको मार्जिन राखेर अघि जानुपर्छ भन्ने हाम्रो माग हो । यस विषयमा सभापति र वरिष्ठ नेताका बीचमा कुरा पनि भएको छ । आशा गरौं चाँडै सहमति जुट्छ ।

अब सरकारका कुरा गरौं । सरकारका पछिल्ला कामकारबाहीलाई कसरी विश्लेषण गर्ने ?

के काम, कारबाही गरेको छ र ? पछिल्लो समय सूचना प्रविधि विधेयक ल्याएको छ । त्यो पनि विवादित छ । सरकारले चर्को कर लगाएको छ । महँगीमा पारिरहेको छ । निर्मला हत्याकाण्डको निष्कर्षमा पुग्न १२ वर्ष लाग्छ भनेर प्रधानमन्त्री आफैं बोल्दै हुनुहुन्छ । वाइड वडीमा चार अर्ब पैसा बेपत्ता भएको छ । एनसेल, फोरजीलगायतका कुराहरू के भइरहेका छन् । अझ भन्नुहुन्छ भने सभामुखको चयन गर्न नसकेर सरकार तमासे भएको छ । बजेट खर्च गर्न नसकेर भ्रष्टाचारमा भएको हो कि खर्च हुन नसकेर थन्किएर बसेको छ । सरकार अहिले आफै गल्दै गएको छ । सरकारको क्रियाकलाप जनताको पक्षमा छैन ।

सरकारले केही गरेन भन्ने निष्कर्ष हो ?

गर्‍या होला, सानातिना आफैं हुने कामहरू । टेन्डरका लागि रातो किताबमा बजेटहरू निकासा भएका होलान् । ती कामहरू त नियमित हुने काम हुन् ।

अहिले कर्णाली प्रदेशका मुख्यमन्त्रीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सकिन्छ भनेर अभिव्यक्ति दिनु भएको छ । तपाईं पनि कर्णाली प्रदेशको हुनुहुन्छ, यतिबेला यस्तो अभिव्यक्ति दिन सुहाउँछ ?

त्यतिबेला पनि ६ वटा प्रदेश मात्रै बनाउने सरकारको तयारी थियो । कर्णाली प्रदेशका विषयमा सुर्खेतमा आन्दोलन पनि भयो । यहाँ चार जना सहिद पनि भए, हामी कर्णाली पारि जान सक्दैनौं भनेर । हामीलाई पुरानो मध्यपश्चिमको अवस्थामा राखियोस् भनेर आन्दोलन पनि भयो । २२–२३ दिनको आन्दोलनको बलमा यो प्रदेश घोषणा भएको हो । नामका विषयमा यहाँ विवाद नै थिएन । हामी संसद्मा रहँदा कर्णाली प्रदेश रहनुपर्छ, सुर्खेत यसको राजधानी हो भन्ने कुरामा विमति पनि थिएन । हामीले हिजो प्रदेश बन्दा बाँके र बर्दियाका साथीहरूलाई सँगै बसौं भनेका थियौं । उहाँहरू दाङलाई राजधानी बनाउन सकिन्छ कि भन्ने कुरामा उहाँहरू प्रदेश ५ मा जानुभयो । अहिले बुटवलमा राजधानीको तयारी गरिएका कारण उहाँहरू वरु कर्णाली प्रदेश नै नजिक पर्छ भन्नु भएको छ । उहाँहरूलाई धेरै धेरै धन्यवाद छ । उहाँहरू आउनु पर्छ । सँगै बसौं, हिजो पनि बसेका हौं भन्ने हाम्रो आग्रह हो । म कांग्रेसको सदस्यका हैसियतले भन्छु, बाँके र बर्दियालाई कर्णाली प्रदेशमा स्वागत गर्नका लागि तयार भएर बसेको छु ।

यस्तो गर्दा अन्य प्रदेशका भूगोलहरू खल्बलिएलान् नि त ?

ठीक छ । कर्णाली प्रदेशको उत्तरी बाटो पनि छ । हामीलाई दक्षिणको बाटो पनि त खुलाउनु पर्ने होला नि । बाँके र बर्दिया कर्णाली प्रदेशमा आउने बित्तिकै हाम्रो पनि उत्तर र दक्षिणको बाटो खुल्छ । यस्तो गर्दा अहिलेको भन्दा अझैं सम्पन्न प्रदेश बन्ने अवस्था पनि आउँछ । हामी अहिले पहिलो चरणमा रहेकाले को कहाँ जान सक्छ त्यस विषयमा सोच्न जरुरी छ । हिजो हाम्रो नाका बाँके र बर्दिया हो ।

सभामुख चयनमा कांग्रेसको धारणा के हो ?

सभामुख चयन गर्दा पहिला तत्कालीन माओवादीको भागमा परेको थियो । महराकै कारण सभामुख छाड्नुपर्ने परिस्थिति आयो । तत्कालीन एमालेले सबै कुरा लिएर सभामुख मात्रै छाडेको थियो । तर अहिले सभामुख चयनमा पनि आफैं लिने कुरा भएपछि तत्कालीन माओवादीका साथीहरूले दबाब सिर्जना गरेका छन् । तर एमाले माओवादी मिलिसकेपछि आफू अनुकूल व्याख्या गर्दै बस्नु भयो । भागबन्डाका कारण अहिले यस्तो परिस्थिति आएको हो । हामी त जसरी हुन्छ संसद्को गतिरोध अन्त्य गर्नुपर्छ । संसद् नहुँदा जनजीविकाका सबालहरू अहिले ओझेलमा पर्दै गएका छन् । जसलाई सभामुख बनाउने हो बनाउनुस् तर एकएक महिनासम्म संसद्लाई बन्धन नबनाउनुस् भन्ने हो । सूचना जारी गरेर संसद् बन्द गर्ने परम्परा अब तोड्नु पर्छ ।