देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यार्थी आन्दोलन भुत्ते हुँदै गएको छ– राजीव ढुंगाना

देशान्तर

अन्ततः नेपाल विद्यार्थी संघको अध्यक्ष हुनुभयो, कत्तिको कामको चापाचाप छ ?

यति ठूलो विद्यार्थी संगठनको अध्यक्ष हुँदा कामको चापाचाप हुने नै भयो । लगभग भ्याइँ नभ्याइँको स्थिति छ ।

तपाईं अध्यक्ष बनेर आएपछि काम कसरी सुरु गर्नु भएको छ ?

म अध्यक्ष बनेको एक महिना पनि पूरा भएको छैन । गत माघ १६ गते म अध्यक्ष बनेको हुँ । मेरो प्रमुख जिम्मेवारी भनेको नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्ने हो । त्यसैको तयारीको निम्ति के गर्ने भन्ने छलफलमा छु । महाधिवेशनको कार्ययोजना बनाउने काममा लागिपरेको छु । र यसबीचमा विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुँदैछ । यसका लागि पनि तयारी गर्नु परेको छ । यही दुईवटा कामहरूमा सीमित भएर काम अगाडि बढाइरहेको छु ।

स्ववियुको चुनाव हुन्छ ?

हुन्छ ।

कहिले हुन्छ ?

फागुन १४ गते स्ववियुको चुनाव हुने स्थिति त टरिसकेको छ । हामी विश्वविद्यालयसँग कुराकानी गरिरहेका छौं । चाँडै अर्को कार्यतालिका ल्याएर चुनाव सम्पन्न गराउनुपर्छ ।

के कारणले फागुन १४ मा चुनाव नहुने अवस्था आयो ?

फागुन १४ गते स्ववियु चुनाव हुन नसक्नुको एक मात्र कारण भनेको त्रिभुवन विश्वविद्यालय चुनाव गराउन गम्भीर नभएर हो । नेपाल विद्यार्थी संघको यो केन्द्रीय कमिटी माघ १६ गते गठन भएको हो । त्यस पछाडि विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरूको बैठक बोलाएको छैन । उहाँहरूले जति वटा बैठकहरू बोलाउनु भयो ती सबै माघ १६ भन्दा अगाडि मात्रै बोलाइएका थिए । माघ १६ अगाडि नेविसंघको केन्द्रीय समिति नभएका कारणले हाम्रो उपस्थिति हुने कुरै भएन । उहाहरूले प्रस्तावित कार्यतालिका भनेर प्रस्तुत गर्नुभयो फागुन १४ को मिति तोकेर । क्याम्पसहरूमा पत्राचार गर्नुभयो तर त्यसलाई मूर्तरूप दिन माघ १६ पछाडि उहाँहरू लाग्नु भएन ।

तपाईँको कार्यसमिति आउँदा फागुन १४ मा स्ववियु चुनाव हुन्छ भन्ने लागेको थियो । अहिले आएर कहाँनेर विश्वास डगमगायो ?

हाम्रो कमिटी १६ गते गठन भएपछि १७ गते हामी छलफलका लागि विश्वविद्यालय पुगेको पनि हो । त्यहाँ अन्य विद्यार्थी संगठनहरूको उपस्थिति थिएन । र त्यहाँ हामीले कुरा राखेका थियौं । त्रिभुवन विश्वविद्यालय स्ववियु चुनाव गराउन गम्भीर छ भने निर्वाचन समितिको अध्यक्ष रेक्टरलाई राख्ने भन्ने विषयमा हाम्रो फरक धारणा छ । प्रमुख निर्वाचन आयुक्त ल्याउन तपाईंहरूलाई हतारै छैन तर चुनाव गराउँछौं भनिरहनुभएको छ, यसरी चुनाव भरपर्दो र विश्वसनीय हुँदैन भन्यौं । चुनावलाई भरपर्दो र विश्वसनीय बनाउन तपाईंहरू लाग्नु नै भएको छैन । खालि तिथि, मिति घोषणा गरेर चुनाव हुँदैन, साँचो अर्थको चुनाव गराउन हामीहरू अघि बढौं भन्ने कुरा हामीहरू आफैंले उहाँहरूलाई राखेका हौं ।

तपाई नेविसंघमा लामो समयदेखि आबद्ध हुनुहुन्छ । चितवन महाधिवेशनबाट केन्द्रीय समितिमा आइपुग्नुभएको हो ?

हो, २०५७ सालमा चितवनमा सम्पन्न महाधिवेशनबाट पहिलो पटक नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ ।

अहिले तपाई नेविसंघको अध्यक्ष हुनुभएको छ ? यो बीचको समयलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?

त्यतिखेरभन्दा अहिले अलि भिन्न परिस्थिति छ । त्यतिखेर विद्यार्थी आन्दोलन निकै सशक्त थियो । अहिले विद्यार्थी आन्दोलन त्यतिखेरको तुलनामा अलि भुत्ते हुँदै गएको मैले ठानेको छु । र सार्वजनिक रूपमा पनि यो कुरा उठेको छ ।

भुत्ते हुनुको पछाडिको कारण हामीले शैक्षिकभन्दा पनि राजनीतिक एजेन्डालाई बढी बोक्यौं कि ?

एउटा कारण त्यो पनि हो । अहिले सबै विद्यार्थी संगठनहरू राजनीतिक मुद्दामा बढी केन्द्रित, विद्यार्थी मुद्दामा कम केन्द्रित हुँदै गएका कारणले त्यो कुरा सर्वत्र उठेका हुन् । तर अब यो कुरा हटाउन हामी जोडतोडले लाग्छांै । अब नेविसंघले आफूलाई बढीभन्दा बढी शैक्षिक मुद्दामा केन्द्रित गराउँछ ।

तपाई अध्यक्ष हुँदै गर्दा नेविसंघको विधान मिचियो भन्ने आम गुनासो छ, यस सन्दर्भमा तपाईँ के भन्नुहुन्छ ?

मलाई अध्यक्षमा ल्याउँदै गर्दा त्यो ढंगले प्रचारित भयो । तर मलाई अध्यक्षको जिम्मेवारी दिँदै गर्दा विधान मिचेर दिइएको होइन । नेपाल विद्यार्थी संघको विधानमा प्रष्ट रूपमा आगामी १२औं महाधिवेशनबाट उमेर हद लाग्ने भनिएको छ । र मेरो नेतृत्वमा जुन समिति आएको छ, त्यो ११ औं महाधिवेशनकै निरन्तरता हो । ११ औं महाधिवेशनबाट नैनसिंह महरजीको नेतृत्वमा आएको जुन समिति थियो, त्यो समिति १२ औं महाधिवेशन सम्पन्न गर्न लागिपरेकै थियो । तर विभिन्न आन्तरिक तथा बाह्य कारणले गर्दा उहाँहरूले महाधिवेशन सम्पन्न गराउने स्थिति रहेन र म्याद गुज्रेपछि पार्टीले पनि विघटन गर्नुपर्ने अवस्था आयो । त्यसपछि त्यही समितिको निरन्तरताका रूपमा १२ औं महाधिवेशन सम्पन्न गर्न यो समिति ल्याइएको हो । त्यसैले विधानको कुनै पनि धारा वा प्रावधान मिचिएको छैन । त्यो ढंगले एकथरीले प्रचार गरे होलान्, त्यो बेग्लै कुरा हो । तर विधान मिचिएको छैन ।

निर्वाचित कार्यसमितिलाई रिप्लेस गरेर आफू नेतृत्वमा आउँदै गर्दा त्यो कत्तिको जायज होला र ?

मैले रिप्लेस गरेको हैन । पार्टीले पनि जबर्जस्ती रिप्लेस गरेको हैन । विधानअनुसार दिइएको निश्चित समयअवधिमा विविध आन्तरिक तथा बाह्य कारणले महाधिवेशन गर्ने अवस्था रहेन । हाम्रो विधानमा नेविसंघको पदावधि दुई वर्षको हुने भनिएको छ । र महाधिवेशन गर्न अर्को थप तीन महिना पदावधि थपिन सक्छ । ती सबै अवधि गुज्रेपछि बाध्यात्मक अवस्थामा महरजी नेतृत्वको समिति विघटन भएको हो ।

निर्वाचित समितिले गर्न नसकेको महाधिवेशन तपाईँले ६ महिनाभित्र गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने त्यसको आधार के हो ?

पहिलो कुरा निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न नसकेको हैन । दुई वर्ष तीन महिनाको समयावधि बितेको मात्र हो । गर्नै नसकेर यो स्थिति आएको हैन । समयावधि सकिएको कारणले आएको हो, पहिलो कुरा । र, दोस्रो कुरा, महाधिवेशन सम्पन्न गर्ने आधारहरूको कुरा गर्दा मैले यो जिम्मेवारी लिँदै गर्दा पार्टीका सबैथरी नेताहरू एकजुट भएर मेरो नाममा सहमति जनाएर मलाई यो जिम्मेवारी सुम्पनु भएको हो । त्यसकारण भोलिका दिनमा महाधिवेशन सम्पन्न गराउने कामका लागि पार्टीका सबै नेताहरूको साथ सहयोग मलाई रहन्छ । र विद्यार्थी साथीहरूले पनि आमरूपमा मलाई त्यो खाले साथ सहयोग दिने वचन दिनुभएको छ । यो बीचमा अनशनलगायतका कुराहरू पनि भए । अनशनमा बस्नुहुने साथीहरूले समेत राजीव ढुंगानाकै नेतृत्वमा स्ववियु चुनाव पनि सम्पन्न गर्नुपर्छ, महाधिवेशन पनि सम्पन्न गर्नुपर्छ । त्यस निम्ति हामी जस्तोसुकै साथ र सहयोग गर्न तयार छौं भनेर उहाँहरूसमेत मलाई साथ दिन अग्रसर भएर आउनु भएको छ । त्यसकारण सबैको साथ सहयोग लिएर म महाधिवेशन गर्न सक्छु भन्ने विश्वास दिलाउन चाहन्छु ।

अबको ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्न सम्भव छ ?

छ । किनभने धेरै जिल्लाहरूमा अधिवेशनका प्रक्रियाहरू सुरु भइसकेका छन् । धेरै क्याम्पस इकाइका अधिवेशनहरू भइसकेका छन् । केही जिल्ला अधिवेशन पनि सम्पन्न भइसकेका छन् । र, बाँकी रहेका जिल्लाहरूमा पनि अधिवेशनको लागि निकै बढी कामहरू सम्पन्न भएका छन् । खाली अब हामीले त्यसलाई निरन्तरता दिँदै काम सम्पन्न गर्नुपर्नेछ । त्यसकारण ६ महिनाको अवधिमा इमानदारी र लगनशीलताका साथ लागि परेर महाधिवेशन गराउन सकिन्न भन्ने मलाई विश्वास छ ।

महाधिवेशन सम्पन्न गराउने सन्दर्भमा चुनौतीहरू के के छन् भन्ने लाग्छ ?

नेपाल विद्यार्थी संघको महाधिवेशन विगतमा कैयौं पटक हुन सकेनन् । त्यसकारण मेरो समितिले पनि महाधिवेशन सम्पन्न गर्न नसक्ने पो हो कि भन्ने धारणा धेरैको छ । सबैभन्दा ठूलो चुनौती भनेकै यो आमधारणा हामीले तोड्नुपर्ने छ । त्यसलाई तोड्को निम्ति हामी केन्द्रीय समितिमा जो जो आएका छौं, सबै एकजुट भएर, सबै कामकारबाही पारदर्शी रूपमा सम्पन्न गरेर विगतमा विभिन्न क्याम्पस तथा जिल्लाहरूमा एउटा समूहले एकथरी नाम टाँस्ने र अर्काले अर्काथरी नाम टाँस्ने काम गरेका थिए, त्यो नगरी नियमावलीका आधारमा तल्ला तहका अधिवेशनहरू सम्पन्न गराउँदै लग्यौं भने निश्चित रूपमा महाधिवेशनको माहोल बन्छ ।

कतिवटा जिल्लाहरूमा अधिवेशन गर्न बाँकी छन् ?

अहिले त ५८, ५९ वटै जिल्लाहरूमा अधिवेशन सम्पन्न हुन बाँकी छ । तर जिल्लाहरूमा अधिवेशनको लागि शून्यबाट तयारी गर्नुपर्ने अवस्था छैन । धेरै कामहरू सम्पन्न भइसकेका छन् ।

नेविसंघ महाधिवेशनको मिति कहिले घोषणा गर्नुहुन्छ ?

नेविसंघको वर्तमान कार्यसमितिले पूर्णता पाउनासाथ हामी महाधिवेशनको मिति तय गर्छौ । त्यसपछि केन्द्रीय समितिको बैठक बसेर हामीले महाधिवेशनको मिति तथा कार्यतालिकाहरू तय गर्छौ ।

केन्द्रीय समितिले कहिले पूर्णता पाउँछ ?

यसले केही दिनभित्रै पूर्णता पाउँछ । नेताहरूसँग कुरा भएअनुसार हप्ता। दस दिनमै पूर्णता पाउने प्रबल सम्भावना छ ।

नेविसंघलाई नेपाली कांग्रेसको नर्सरीको रूपमा लिइन्छ । तर यही नर्सरी विगत लामो समयदेखि संकटबाट गुज्रिरहेको छ । यसले गर्द अन्य विद्यार्थी संगठनहरू प्रतिस्पर्धा गर्न अप्ठेरो पर्दैन ?

अवश्य पनि पर्छ । किनभने हामी आफैंमा एकता भएन, द्वन्द्व चर्किएर गयो भने त्यसैले हामीलाई कमजोर बनाइहाल्छ । आफैं कमजोर भएपछि अन्य प्रतिस्पर्धीको सामना गर्न त अलि कठिन हुने नै भयो ।

अन्य पार्टीमा तपाईंहरूको उमेरसमूहका मानिसहरू महत्वपूर्ण नेतृत्वमा पुगिसकेका छन् । तर तपाईंहरू अझै पनि विद्यार्थी राजनीतिमै सक्रिय हुँदा अप्ठेरो हुँदैन ?

नेपाली कांग्रेसको नेतृत्वमा अहिले मूल रूपमा सबै नेविसंघबाटै गएकाहरू हुनुहुन्छ । तर यहाँले भन्नुभयो नेविसंघमा लागेका विद्यार्थी नेताहरू अन्य पार्टीका समकालीन विद्यार्थी नेताहरूभन्दा पछाडि परेका छन् । किनभने विगतमा हाम्रो नेविसंघका महाधिवेशन समयमै सम्पन्न हुन सकेनन् । दुई वर्षमा हुनुपर्ने महाधिवेशन कहिले तीन वर्षमा त कहिले चार वर्षमा सम्पन्न भए । त्यसका कारणले गर्दा हरेक दुई वर्षमा महाधिवेशन हुँदै गएको भए स्वाभाविक रूपमा साथीहरूको राजनीतिक हाइट बढ्दै जाथ्यो त्यसरी हुन सकेन । त्यो गतिमा राजनीति उचाइ बढ्न पाएन । त्यसले गर्दा अलि बढी उमेरसमूहका साथीहरू जसले पार्टीमै पनि अलि महत्वपूर्ण जिम्मेवारी पाइसक्नुपर्ने अवस्थामा पनि नेविसंघमै रहिरहेको अवस्था छ । यो यथार्थ हो ।

नेविसंघबाट जाने कहाँ त ?

नेविसंघबाट कोही साथीहरू तरुण दल वा अन्य भ्रातृ संस्थामा गएर पनि राजनीतिक गरिरहनुभएको छ । र धेरै साथीहरू नेपाल विद्यार्थी संघको एउटा कार्यकाल सकिएपछि सोझै पार्टीमा गएर पार्टीकै जिम्मेवारी सम्हालेर बस्नु भएको छ ।

नेविसंघ पनि पार्टीमा रहेको गुटहरूमा विभक्त भएको छ । यसले गर्दा पनि नेविसंघ सशक्त हुन सकेन भनिन्छ । तपाईंलाई कस्तो लाग्छ ?

विगतमा एक वर्षसम्म नेविसंघको केन्द्रीय समिति आउन नसक्दा वा नपाउँदा आपसमा अलिकति द्वन्द्व पनि बढेर गयो, नेविसंघकै विषयलाई लिएर नारा, जुलुस लगाउने काम भयो । नेताहरूकै बीचमा पनि नेविसंघको कारण अलि बढी द्वन्द्व चर्किएको हो कि । त्यो विगत एक वर्षमा हामीबीच द्वन्द्व बढेका कारणले हामीलाई सांगठनिक रूपमा हानी भयो त्यसले सबैलाई एउटा पाठ र अनुभूति दुवै दियो । सबैले अब फुटेर हैन, मिलेर अघि बढ्नुपर्छ भन्ने चेत पलाएको मैले ठानेको छु । देशमा दुई तिहाइको दम्भ बोकेको कम्युनिस्ट सरकार छ । सरकारले जनताको हैन, जनविरोधी काममा दुई तिहाइको बल प्रयोग गरिरहेको छ । यसले गर्दा सरकारका काण्डैकाण्ड प्रकट भएका छन् । यो अवस्थामा हामी पनि फुटेर जाने हो भने, द्वन्द्व मात्रै चर्काउने हो भने, झन् बढी कमजोर हुन्छौ । नेपाली जनतै कमजोर हुन्छन् । यो कुरा महसुस पनि भएको छ । यसले गर्दा नेताहरू पनि एक ठाउँमा बसेर नेविसंघको बारेमा साझा धारणा बनाउने एउटा विशिष्ट परिस्थिति सिर्जना भयो । नेपाल विद्यार्थी संघकै साथीहरू पनि हामी फुटेर कमजोर भएछौं, यो कुराले नेविसंघलाई हानि र प्रतिपक्षलाई लाभ हुने स्थिति सिर्जना भएछ भन्ने अनुभूति भएको छ । अब हामी एकजुट भएर लाग्नुपर्छ भन्ने चेतनाबोध गराएको छ । त्यसकारण त्यो एक वर्षको घाटा पूर्ति हुने गरी हामीबीच अभूतपूर्व एकता हुने स्थिति बनेको छ ।

तपाईंले भनेजस्तै कम्युनिस्ट सरकारले मनपरी ढंगले काम गर्दा पनि नेविसंघ जुर्मुराउन सकेन, दुई चार जना माइतीघर मण्डलामा पुग्ने बाहेक अन्य हैसियत देखाउन सकेन भन्ने गुनासो छ नि ? यसमा के भन्नुहुन्छ ?

नेविसंघ रक्षात्मक हैन, हरेक कुरामा आक्रमक रूपमै प्रस्तुत हुन्छ । विद्यार्थीहरूको हक हितका सवालमा होस् वा राष्ट्रिय राजनीतिमा देखा परेका विकति, विसंगतीका सवालमा होस् नेविसंघ सशक्त रूपमा प्रस्तुत हुन्छ । अस्ति हामीले सुरु गरेको आन्दोलनलाई पनि एकथरी अत्यन्तै गलत ढंगले प्रस्तुत गर्न खोजे । आफ्नो नेता परेका कारणले आफ्नो नेता जोगाउन नेविसंघ सडकमा आयो भनियो, जुन कुरा हुँदै होइन ।

त्यसो भए के कुरा हो त ?

हाम्रा नेताहरूमाथि कुनै पनि राज्यका निकायहरूले छानबिन गर्छ भने त्यसमा हामीले आपत्ति जनाउने प्रश्नै आउँदैन । तर अख्तियार जस्तो एउटा संवैधानिक निकायले सरकारको कठपुतलीजस्तो भएर स्वयं प्रधानमन्त्री माधवकुमार नेपाल, जस्को निर्णयले उनीहरूले लालपुर्जा पाए । जसको निर्णयले लालपुर्जा पाए उसले उन्मुक्ति पाउने तर त्यो केसमा गैरसरोकार राख्ने मन्त्रालयको मन्त्री विजय गच्छदार फस्नु पर्ने ? त्यसमाथि नेकपाका महासचिव विष्णु पौडेल जस्ले बालुवाटारको सरकारी जग्गा प्राप्त गर्नुभयो उहाँलाई उन्मुक्ति किन ? जबकि उहाँले ललिता निवास जग्गा भूमाफियालाई सुम्पन्ने काममा आफ्नो पार्टीको प्रधानमन्त्रीलाई कन्भिन्स गरेबापत उपहारमा जग्गा पाउनु भएको नेपाली जनतालाई शंका छ । जसले निर्णय गरेर लालपुर्जा दियो उसले उन्मुक्ति पाउने, जसले निर्णय प्रक्रियामा सहजीकरण गरेर जग्गा नै हत्यायो उसले उन्मुक्ति पाउने अनि प्रतिपक्ष पार्टीका नेताहरूलाई फसाउनका लागि अख्तियार प्रयोग हुने ? हामी त्यसको खिलापमा छौं । संवैधानिक निकायहरूले सरकारको कठपुतली भएर काम गर्नु हुँदैन भनेर हामी सडकमा आएका हौं । हामी कानुनलाई सम्मान गर्छौ तर विभेदका विरुद्ध जहिले पनि विद्रोह गर्छौ ।

यदि नेकपाका महासचिव विष्णु पौडेलले आफ्नै खुन पसिनाको कमाइले किन्नु भएको हुन्थ्यो भने, निकै महँगो जग्गा हो त्यो, त्यतिका महँगो जग्गा किन उहाँलाई ५० हजार आनामा दिइयो ? यसबाटै प्रष्ट हुन्छ जग्गा प्राप्तिमा उहाँको महत्वपूर्ण योगदान थियो । दोस्रो कुरा कसैले आफूले मेहनतले कमाएको व्यक्तिगत सम्पत्ति त्यति सहज रूपमा उहाँले फिर्ता दिन तयार हुनुहुन्नथियो । अहिले जनताले घरघरबाट यही प्रश्न गरिरहेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरेपछि नेविसंघ सडकमा उत्रियो र कांग्रेसले संसद् अवरुद्ध गर्‍यो । अहिले कांग्रेसले संसद् सुचारु हुन दिइसकेको छ । नेविसंघको आन्दोलन चाहिँ कहाँ पुग्यो ?

नेविसंघको आन्दोलन जारी छ । जबसम्म सरकारले राज्यका संवैधानिक अंगहरूलाई आफ्नो कठपुतली बनाएर प्रयोग गर्न छोड्दैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन । खाली अख्तियारको कुरा मात्र हैन । अहिले हामी देखिरहेका छौं, महाअभियोगको डर, त्रास देखाएर अदालतलाई पनि प्रभाव पार्ने काम भइरहेको छ । यसरी अदालतलाई कमजोर पार्न खोज्नु, संवैधानिक निकायहरूलाई आफ्नो नियन्त्रणमा राख्नु, यो त लोकतन्त्रलाई कमजोर पार्ने खेल हो नि । त्यसकारण हाम्रो आन्दोलन भनेको लोकतन्त्रलाई कमजोर पार्ने गरी वर्तमान सरकारले खेल खेलिरहेको छ, सबै संवैधानिक निकायहरूलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गरिरहेको त्यसका विरुद्ध हो । हाम्रो आन्दोलन जारी रहन्छ ।

आफ्नो नेतालाई पर्दा मात्रै सडकमा नेविसंघ आयो । तर भ्रष्टाचारका थुप्रै काण्डहरू हुँदा नेविसंघ देखा परेन भन्ने आरोप पनि छ नि ?

हैन अरूबेला पनि नेविसंघ बोलेको छ । हामीले वाइडबडीमा पनि बोलेका छौं । होला विगतमा नेविसंघको केन्द्रीय कार्यसमिति नभएको बेला नेविसंघ सशक्त रूपले आउन सकेन होला । तर अब नेविसंघको केन्द्रीय समिति क्रियाशील छ, अब हरेक विषयमा नेविसंघ सशक्त रूपमा अघि बढ्छ ।

१२औं महाधिवेशनबाट नेविसंघमा कस्तो नेतृत्वको अपेक्षा गर्न सकिन्छ ?

१२औं महाधिवेशनबाट आउने नेविसंघको नेतृत्वमा केन्द्रीय समितिदेखि जिल्ला क्याम्पस हुँदै, माविदेखि उच्च माविसम्म ३२ वर्षभन्दा मुनिका उमेरसमूहलाई पाउनु हुनेछ । नेविसंघ अब नयाँ पुस्तामा हस्तान्तरण हुनेछ ।

नेपाली राजनीतिमा विद्यार्थी आन्दोलन अब कहाँनेर राख्ने ?

विद्यार्थीहरू सबै मुलुकका लागि सधैंभरि एउटा निर्णायक शक्ति हुन् । विगतमा लोकतन्त्र प्राप्तिको संघर्षका दौरान दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठहरू पनि त्यही दिशामा लाग्नु पर्‍यो । तर अबका दिनमा अलि बढी शैक्षिक मुद्दामै केन्द्रित भएर विद्यार्थी आन्दोलन अघि बढ्नुपर्छ । तर यसको मतलव यो हैन कि विद्यार्थी जस्तो सचेत वर्गले राज्यको राजनीतिबाट अछुतो हुन भने सक्दैन ।

अबको नेविसंघको नेतृत्व नेताको आशीर्वाद लिएर आउँछ कि क्षमता र योग्यताको आधारमा चुनिन्छ ?

विलकुल अब क्षमता र योग्यताको आधारमा चुनिन्छ । चुनावी प्रतिस्पर्धा खरो उत्रिएर नेतृत्वमा पुग्नुपर्छ । साथीहरूको मन जितेर, साथीहरूको मत लिएर आउने युवाले नेविसंघ हाँक्नेछन् । महाधिवेशन गराएर हामी नेतृत्व चयन गर्छौं ।