देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र निर्माताको अपमान किन ?

देशान्तर

बितेको हप्ता विश्व मानचित्रमा नेपाल देश भनेर अस्तित्वमा आएको नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्ती परेको थियो । दुःखको कुरा विगत वर्षहरूमा जस्तै यो वर्ष पनि राज्यले वा शासकले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाएन । जुन देशको शासक भएर शासन गरिरहेका छन्, त्यही देश निर्माण गर्ने महानायकलाई अपमान गरेर आफूलाई महान् क्रान्तिकारी एवम् अग्रगामी बताउनेहरू नकचरो भएर देश लुटिरहेका छन्, देशको शासन गरिरहेका छन् ।

राज्य स्तरबाट पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस नमनाएको भए तापनि आमनागरिक स्तरबाट पृथ्वी जयन्ती यस पटक पनि मनाइयो, विभिन्न कोणबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झने र सम्मान गर्ने काम भयो ।

यो देश र जनताको दुर्भाग्य हो, आफ्नै राष्ट्र निर्मातालाई राष्ट्र वा राज्यले सम्मान गर्दैन । आज यो देशमा पृथ्वीनारायण शाहलाई सम्मान गर्नु पर्दछ भन्नेहरू घोर प्रतिगामी कहलिन्छन् भने राष्ट्रनायकको सालिक ढाल्ने, पृथ्वीनारायणलाई निन्दा गर्ने, देश लुट्ने भ्रष्ट नेताहरू तथाकथित क्रान्तिकारीको आवरणमा महान् राष्ट्रवादी कहलिरहेका छन् ।

सरकारमा रहेका र कुनै प्रयत्नले पनि सरकारमा पुग्न नसकेका भ्रष्ट नेताकै कारण आजको राजनीतिक प्रणाली माथि नै प्रश्न उठिरहेको छ । सिंगो देश र आम नागरिकको भविष्यप्रति कुनै गम्भीरता नभएको केवल सत्ता, शक्ति र पैसाकै लागि राजनीति गरिरहेका सीमित भ्रष्ट नेताहरूको कारण देश असुरक्षित बन्दै गएको छ । राजनीतिक अन्योलताले देशको भविष्य अन्धकार तर्फ धकेलिँदैछ ।

आफ्नो क्रान्ति र पौरखले नभै नेपाली कांग्रेसको नेतृत्वको अक्षमता र कांग्रेसले लिएको गलत नीति र सिद्धान्तको कारणबाट सत्तामा पुगेका कम्युनिस्टहरूको यहाँ चर्चा के गर्नु ? यो पंक्तिकार देशको सबैभन्दा पुरानो, देशको प्रजातान्त्रिक आन्दोलनको गौरव वनेको राजनीतिक दल, जुन दलको नेतृत्व एवम् स्थापना महान् राष्ट्रवादी एवम प्रजातन्त्रवादी नेताहरू बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई जस्ता तपस्वी नेताहरूले गरे आज त्यही ऐतिहासिक पार्टी नेपाली कांग्रेस पृथ्वीनारायण शाहलाई अपमान गर्न मतियार बनेको देख्दा कांग्रेसको एउटा कार्यकर्ता हुनुको नाताले यो पंक्तिकारलाई सबैभन्दा बढी दुःख लागेको छ ।

२०६२/०६३ को जनआन्दोलनको जनभावना विपरीत गएर २०६३ पुसमा कांग्रेसकै एक नेता गृहमन्त्रीमा विराजमान भएका वेला मन्त्रिपरिषद्मा समेत प्रस्ताव नलगी ठाडो मन्त्रीस्तरीय निर्णयबाट पृथ्वी जयन्तीको बिदा कटौती मात्र होइन राष्ट्रिय महोत्सवको रूपमा मनाउँदै आएको पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसलाई बन्द गरी राष्ट्रनिर्माताप्रति जुन ढंगबाट अपमान गर्न कांग्रेस मतियार बन्यो यो घटना कम्ता राष्ट्रघाती कदम थिएन । निश्चयः नै समय छँदै यसलाई सच्याउन कांग्रेस अग्रसर नभए भोलिको पुस्ताले कांग्रेसलाई माफ गर्ने छैन ।
सरकारी स्तरबाट र पार्टीहरूले पृथ्वी जयन्ती नमनाए तापनि जनस्तरबाट मनाउने क्रम हरेक वर्ष बढ्दो छ ।

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टी पहिलो पार्टी बनेर कांग्रेसका सभापति सुशील कोइराला देशको प्रधानमन्त्री बनेपछि नागरिक स्तर र पार्टी पंक्तिको समेत व्यापक दबाब पछि प्रधानमन्त्री सुशील कोइराला राज्यस्तरबाट पृथ्वी जयन्ती मनाउने र सो दिन राष्ट्रिय बिदा दिन तयार भएका थिए । सुशील कोइराला मन्त्रिमण्डलमा गृहमन्त्री रहेका नेकपा (एमाले) का नेता वामदेव गौतमसमेत त्यसका लागि सकारात्मक भई उनकै पहलमा गृह मन्त्रालयबाट मन्त्रिपरिषद् वैठकमा पुस २७ गते राष्ट्रिय स्तरमा सार्वजनिक बिदा दिने र पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा पुनः मनाउन प्रस्ताव लगेको अवस्थामा कुन शक्तिको आड र भरोसामा हो ? एक जना कांग्रेसकै मन्त्रीको विरोधबाट सो राष्ट्रिय गौरवको प्रस्ताव तुहिनु अर्को राष्ट्रघाती कदम थियो । त्यस प्रसंगमा प्रधानमन्त्री सुशील कोइराला निरीह बनेर वस्नु र सिंगो मन्त्रिपरिषद् तमासे बन्नु निश्चय नै दुर्भाग्यको विषय थियो ।

नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको नादानीपनले मात्र यो अवस्थामा आइपुगेको होइन । एकातर्फ शान्ति र प्रजातान्त्रिक (लोकतान्त्रिक ?) आन्दोलन र संविधान निर्माणको क्रममा नेपाली कांग्रेसले आफ्ना मौलिक स्थापना कालीन सिद्धान्त र नीति एवम् आफ्ना संस्थापक, जननेता बीपी कोइरालाले सेटिङ गरिदिनु भएको विचार र चिन्तन विपरीत सत्तास्वार्थ र नेतृत्वको राजनीतिक महत्वाकांक्षाबाट अभिप्रेरित भएर अन्य कसैको डिजाइन र स्वार्थमा सेटिङ गरी प्रचण्डको काँधमा वोकाइदिएको राजनीतिक मुद्दालाई कांग्रेसले काँधमा बोकेको कारणबाट नै आज कांग्रेस इतिहासमा नै सबैभन्दा दुःखदायी अवस्थाबाट गुज्रिरहेको छ ।

व्यक्तिको राजनीतिक आस्था फरक हुन सक्दछ । राजनीतिक दलले अवलम्बन गरेको राजनीतिक नीति, सिद्धान्त र विचार पृथक् हुन सक्दछन् । जुनसुकै आस्थाको व्यक्ति होस् वा जुनसुकै राजनीतिक विचारलाई अँगाल्ने राजनीतिक दल होस् देश प्रेम पहिलो सर्त हुनुपर्ने हो । तर दुर्भाग्य नेपाली राजनीतिको पहिलो सर्त राष्ट्र भन्ने नै भएन । पहिलो सर्त केवल सत्ता भयो ।

निश्चय नै पृथ्वीनारायणले एक्लैले नेपाल राष्ट्रको निर्माण गरेका होइनन् । उनलाई साथ र सहयोग गर्नेहरू धेरै थिए तर साहसपूर्ण नेतृत्व र अग्रसरता त उनैले लिएका हुन् । पृथ्वीनारायण शाहले नेपाल निर्माण वा एकीकरण गरिएको ऐतिहासिक तथ्यलाई अस्वीकार गर्ने, पृथ्वीनारायणलाई सम्मान नगर्ने व्यक्तिले म नेपाली हुँ भनेर गर्व गर्ने वा दाबी गर्ने ठाउँ रहन्छ जस्तो लाग्दैन ।

प्रचण्ड र डा. बावुराम भट्टराईको नामबाट व्यर्थसँग १७ हजार नेपालीको ज्यान गयो भनेर प्रचण्ड र बाबुराम भट्टराईका पितापुर्खा ज्यानमारा हुन् भनेर भन्न मिल्दैन । प्रधानमन्त्री ओली भ्रष्ट भए भनेर आरोप लगाउँदैमा उनका पिता र पुर्खा पनि भ्रष्ट थिए भनेर आरोप लगाउन मिल्दैन, देउवाले ढंगसँग कांग्रेसको नेतृत्व गर्न सकेनन् भन्दैमा उनको हिजो योगदान नै थिएन, उनका पुर्खा पनि खराब हुन भन्न कहाँ पाइन्छ र । राजा महेन्द्र निरंकुश भए, २०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरण गरेर निरंकुश सत्ता देशमा जबर्जस्त लाद्ने काम गरे, उनका माइला छोरा ज्ञानेन्द्रले पनि १९ माघ २०५९ मा प्रतिगामी कदम चाले भनेर राजा महेन्द्र र ज्ञानेन्द्रको मन लागे जति आलोचना गरौं तर उनको नामबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आलोचना गर्नु त्योभन्दा मूर्खता अरू हुनै सक्दैन । वर्तमान नेपालका राजनीतिक दल तिनका नेता यस्तै मूर्खता गरिरहेका छन् । पृथ्वीनारायणको अपमान गरेर, आलोचना गरेर देशकै विरुद्ध गद्दारी गरिरहेका छन् ।

देशको निर्माण गर्ने महामानवको अपमान गर्ने नेपाली राजनीति नसच्चिएसम्म देश सुरक्षित छ भनेर भन्न सकिने अवस्था छैन । परिवर्तन र क्रान्तिकारी बन्ने नाममा जबर्जस्तसँग देशलाई धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको भारी बोकायौं । यी सबै कथित परिवर्तनका लागि जनतालाई साथमा लिने वा जनमत बुझ्ने प्रयास पनि भएन । तीन दलका तीन नेताले बन्द कोठामा बसेर गरिएको निर्णयलाई जनआन्दोलनको म्यान्डेटको पगरी गुत्थै देशको आवश्यकता र जनताको भावनाको कुनै पर्वाह नगरी अराजक ढंगले निर्णय गर्दै गयौं । यसै क्रममा आफ्नै मातालाई बलात्कार गरे जस्तै देश बनाउने नायक पृथ्वीनारायण शाहप्रति घनघोर अन्याय गर्न पुग्यौं ।

देशको राजनीतिले परिवर्तनका नाममा विवेक नपुर्‍याई गरिएका परिवर्तन र पृथ्वीनारायणप्रति गरिएको अपमान राष्ट्रघाती कदम हो सच्चिनै पर्छ । यो नसच्चिएसम्म देशको भविष्य सुरक्षित छ भनेर भन्न सक्दैनौं ।

राष्ट्र बचाउनकै लागि गठन भएको नेपाली कांग्रेस पार्टी, बीपीजस्तो महान् राष्ट्रवादी नेताले लामो समय नेतृत्व गरेको कांग्रेसको पछिल्लो नेतृत्व पंक्ति सत्तास्वार्थमा फसेको कारण पार्टीको राष्ट्रवादी अडान र राष्ट्रवादी पहिचान कमजोर वन्न गएको छ । कांग्रेस पृथ्वीनारायण शाहलाई अपमान गर्न मतियार बन्नु यसैको परिणाम हो ।

कांग्रेसले आफू सच्चिनका लागि नेतृत्व बदलेर मात्र पुग्दैन, बाह्रबुँदे साझा समझदारी हुँदै यहाँसम्म आइपुग्दा वैचारिक एवम् सैद्धान्तिक रूपमा गरेका गल्तीलाई सच्याउन तयार हुन जरुरी छ । बीपी कोइरालाको विचार र चिन्तनलाई कांग्रेसको जीवनमा पुनस्र्थापित गर्न जरुरी छ । यति गर्न सके देश पनि सुरक्षित हुनेछ, कांग्रेस पनि बच्ने छ । सबै नेतृत्व पंक्ति र कार्यकताहरू गुट गिरोहको स्वार्थबाट माथि उठेर खुल्ला हृदयले मिलेर काम गर्न जरुरी छ ।