देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माधवी, मामु, मदनमणि दीक्षित, माडसाप

देशान्तर

मदनमणि दीक्षितको देहावसान पछि, धेरै मिडियाले धेरै पटक मसित उनीबारे जानकारी लिन खोजे । मैले पनि धैर्यपूर्वक आफ्नो किसिमले उनीबारे बताएँ, आफूले जानेअनुसार । तर ती कुनै पनि अखबार वा अन्य मिडियाका कुराहरु मैले पढ्न पाइनँ । मन्छेहरुले सुनाए । कुनैकुनैले मसित नसोधेरै पनि, मेरो उद्धरण वा प्रसङ्गको चर्चा गरेछन् । एक ठूलो साहित्यिक हस्तीको कुरा चल्दा, यथार्थ र किंवदन्ती दुवैको मिश्रण हुनुमा कुनै आश्चर्य छैन ।

मदनमणि दीक्षितलाई प्रायः मानिसहरु ‘माडसाप’ भन्दथे । खासगरी पहिलेका स्कूलका शिक्षकहरुलाई ‘माडसाप’ नै भन्दथे । ‘मास्टर साहेव’को छोटकरी रुप । मदनमणि दीक्षित कुनै बखत ‘त्रिजुद्ध हाई–स्कूल’ मा हेड मास्टर हुनु भएको थियो । स्कूल त केही समय पछि छुट्यो उनको, तर त्यसले उनलाई सधैका लागि एउटा तक्मा अवश्य दियो, ‘माडसाप’ ।

त्यसपछि उनीबाट पढ्ने नपढ्ने, अझ मदनमणि दीक्षित कुनै बखत स्कूलमा थिए भन्ने जानकारी हुने/नहुने, सब उनीलाई ‘माडसाप’ भनेर चिन्दथे वा सम्बोधन गर्दथे ।

पछि उनी राजनीतिमा गए, पत्रकारिता सफल किसिमले गरे । ‘समीक्षा’ उनको एक योग्य पत्रकारिताको एक नमूना बनेको थियो ।

उनको विद्यार्थी नभए पनि उनीलाई ‘माडसाप’ सम्बोधन गर्नेमा एकजना म पनि पर्दछु । मैले पनि ‘त्रिजुद्ध’मा पढेको त हुँ, तर म भर्ना हुँदा, मेरो हेडमास्टर कृष्णबहादुर मानन्धर थिए । तर उनको ‘हेडमास्टर’ जमनामै मैले उनलाइ पहिलो पटक देखेको हो । बीरगंजको म बासिन्दा, उनी बीरगंजका, त्यसबखत एक मात्र हाइस्कूलका प्रध्यानाध्यपक, त्यो त स्वभाविक थियो ।

‘माडसाप’को पहिलो छवि, उनको विद्धताकै छ, मैले सम्झना गरेको । धोती–कुर्ता, शल, उपर्ना जस्तरी लपेटेको, अनि हातभरि पुस्तक । मेरालागि विद्धान यस्तै हुँदो रहेछ भन्ने धारणा बनाउन सहयोगी भयो ।

पछि ‘माडसाप’ बीरगंजमै बस्न थाले, परिवारसहित, त्यो पनि मेरै टोल, कुमालटोलमा । विनोद दीक्षित, प्रमोद दीक्षित, कामोद दीक्षित पछि छोरी इल्या भट्टराई, यी सबै परिवारमा थिए उनका । उनका भाइहरु महेश दीक्षित र महेन्द्र दीक्षित यी पनि बस्दथे । पछि यिनका श्रीमीतहरुसँग पनि परिचय भयो । श्रीमती मदनमणि (सीता दीक्षित)लाई उनको छोराहरु ‘मामु’ भन्दथे । म पनि ‘मामु’ नै भन्न थालें, अहिले पनि भन्दछु । एकपटक केहीजनासँग कुरा गर्दा मैले के बुझे भने, ‘माडसाप’ जतिको अलि नभए पनि हाम्रो चिनजानका धेरै मानिसहरुमा ‘मामु’ सम्बोधन पनि त्यतिकै प्रचलित छ ।

‘मामु’लाई म विशेष आदर गर्दछु । उहाँको स्नेही र मृदु स्वभाव छ । अर्को, ’लाई म विशेष आदर गर्दछु । उहाँको स्नेही र मृदु स्वभाव छ । अर्को, ‘माडसाप’को संघर्षका दिनमा, ‘मामु’ले पनि त्यो संघर्ष त्यतकै झेलेको मात्र होइन, केही दिन अगिको उनको एक अन्तर्वार्ताबाट थाहा हुन आयो, मामुको त्याग नभए, ‘माडसाप’ मदनमणि दीक्षित वा ‘माडसाप’ त बनिरहन्थे, तर सम्भवतः त्यसभन्दा मास्तिर उक्लन सक्दैन थिए । ‘माडसाप’लाई सफल पत्रकार अझ सफल र श्रेष्ठ लेखक बनाउनमा मामुको योगदान सह्रानीय मात्र होइन, अविष्मरणीय नै रहेछ ।

मामुकहाँ त म बारम्बार गइरहन्थें । मेरो र मामुको एउटा शोख अत्यन्त मेल खान्थ्यो, सिनेमा । त्यसबखत सिनेमाको अर्थ हामीलाई केवल हिन्दी सिनेमा लाग्दथ्यो । आफूले हेरेको सिनेमाको चर्चा ग¥यो । मैले नहेरेको फिल्म छ भने, मामुसित कहानी सुन्यो । बडो रुचिकर समय हुन्थ्यो त्यो । थोरबहुत गीत पनि म गाउने हुनाले उनीहरु (त्यहाँ अरु पनि महिला हुन्थे, मामुकासाथ)लाई लाज मानीमानी गीत पनि सुनाउथें– न ये चाँद होगा न तारे रहेंगे मगर हम हमेशा तुम्हारे रहेंगे । ‘शर्त’ भन्ने फिल्मको एक प्रचलित गीत थियो । गाउने र चर्चा पनि गर्ने गीत–संगीतमाथि । म यसरी प्रोत्साहित पनि भएको छु । मेहफिल सामसुम जस्तै तब हुन्थ्यो, जब बाहिरबाट ‘माडसाप’को प्रवेश हुन्थ्यो । दीक्षितले स्कूल छाडिसकेका थिए, उनका संघर्षका दिन पनि शुरु भइसकेका हुँदाहुन । तर पनि ‘माडसाप’ नामको ‘दबदबा’ हामीमा कयमै थियो । विद्धताको छवि पनि ‘दरकरार’ थियो ।

हुनलाई, माडसाप पनि फिल्ममा एकदम रुचि लिन्थे । पछिसम्म पनि उनीसँग म त सिनेमाको कुरा गर्दथें । कुनै घटना छ भने, त्यसलाई तिथिमिति र स्थानसमेत तोकेर भन्ने क्षमता थियो । हामी पछि त उनका कुरा धेरै ध्यान दिएर सुन्दथ्यौं, धक पुग्नेगरी ।

मेरो दृष्टिमा ‘माधवी’ मदनमणि दीक्षितको मात्र होइन, नेपाली साहित्यकै एक श्रेष्ठ कृति हो । म तीन किसिमले ‘माधवी’को पाठक बनेको छु । अरु पनि केही अझै अरु किसिमले पनि होलान । मेरो कुरा । कालिकास्थानको घरमा अध्याय अध्याय गरेर ‘माडसाप’को मुखैले बाँचेको श्रोता, पाण्डुलिपि सिंगै, घरमा लिएर गएर पढ्ने पाठक पछि प्रकाशित भएपछि, आरामले समय लगाएर पढ्ने पाठक पनि । मैले यही पाराबाट एकाध किताब मात्र पढेको हुँला । यस्ता नमनीय लेखकलाई सधैको श्रद्धा, अन्तिम श्रद्धाञ्जलीसहित ।