देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशनको कार्यतालिका अपरिहार्य छ

देशान्तर

नेपाली कांग्रेसमा बैठक नै बहिष्कार गर्नुपर्ने अवस्था किन उत्पन्न भयो ?

हाम्रो कुरा अबको ध्यान महाधिवेशनमै लाग्नुपर्छ भन्ने रहँदै आएको छ । महाधिवेशन भएको चार वर्ष पुग्न लाग्यो । नेपाली कांग्रेसको विधानले नेपाली कांग्रेसको कार्यसमितिको अवधि चार वर्षको हुन्छ भनेको छ । चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ भन्छ, विधानले । विशेष परिस्थितिमा एक वर्ष थप्ने प्रावधान पनि छ । वर्तमान कार्यसमितिको म्याद सकिन अब करिब तीन महिना मात्रै बाँकी छ । कमसेकम अब चाहिँ महाधिवेशनको क्यालेन्डर सार्वजनिक गर्नुपर्‍यो, कहिलेसम्म महाधिवेशन सम्पन्न गर्ने भनेर कार्यतालिका निकाल्नु पर्‍यो भन्ने हाम्रो भनाइ हो । कहिले क्रियाशील सदस्यता दिने, कहिले वडाको अधिवेशन हुने, कहिले क्षेत्रको अधिवेशन गर्ने, कहिले प्रदेशको गर्ने र कहिले केन्द्रको महाधिवेशन गर्ने भनेर कार्यतालिका आउनुपर्‍यो भन्ने हाम्रो भनाइ रहँदै आएको छ । कार्यतालिकाको बारेमा गम्भीरतापूर्वक छलफल, बहस र क्यालेन्डर निकालौं भनेर हामीले सहमतिको खोजी गरिरहेका छौं । त्यसमा सहमतिकै खोजीको क्रमा यो स्थिति उत्पन्न भएको हो ।

कांग्रेसको संस्थापन पक्षले स्थानीय तह समायोजनको काम र क्रियाशील सदस्यताको विषय टुंगिएपछि महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न सकिन्छ भनेको छ नि ?

हामीले समायोजनको काम कात्तिक मसान्तसम्म सम्पन्न गर्ने भनेका थियौं । यो अघिल्लो केन्द्रीय समितिले गरेको निर्णय हो । महाधिवेशनको विषयलाई प्राथमिकतामा राखेर योभन्दा अघिको केन्द्रीय समिति बैठकमा पनि छलफल भएकै हो । कात्तिक मसान्तपछि नै कार्यतालिका ल्याउने सहमति भएको थियो । र अब त्यसैअनुरूप महाधिवेशनको क्यालेन्डर आउनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यही विषयमा विवाद भएको हो ।

तर समायोजनको काम बाँकी नै छ । त्यसमाथि क्रियाशील सदस्यता छानबिनको विषय पनि टुंगिएको छैन नि ?

कुरा के हो भने अब केन्द्रीय समितिको म्याद सकिन तीन महिना मात्र बाँकी छ । विधानको दुईवटा प्रावधान छ । विधान अलिकति बाझिएको पनि छ । स्थानीय तहको अधिवेशनबाट महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ भनेर विधानले भन्छ । र तीन महिनाको अन्तरालको कुरा पनि गर्छ । ठीक छ त, कार्यतालिका निकालेर समायोजन गर्नै हुँदैन भनेर त भनेको होइन । कार्यतालिका निकालौं, त्यहीअनुसार काम गरौं । जस्तो एकछिनलाई मान्नुस्, महाधिवेशनको लागि कार्यसमितिको म्याद थप्नुपर्छ । तर त्यसको औचित्यता त पुष्टि गर्नुपर्‍यो नि ? किन थप्ने ? थप्ने आधार के हो ? हामीले अब अधिवेशन सुरुआत गर्‍यौं , अधिवेशन सुरुआत गर्दाखेरी, यसको लागि यति समय लाग्दोरहेछ, यस्को लागि यति लाग्छ भनेर त्यसैले पाँच महिना थपौं, अथवा ६ महिना थपौं भन्न सकिएला । यसरी पो कुनै एउटा तार्किक आधारमा अगाडि बढ्नु उचित हुन्छ । त्यसैले यसलाई द्वन्द्वको रूपमा नलिएर पार्टीको अधिवेशन भयो भने अहिलेको समस्या जे छ कांग्रेसभित्र, त्यसको समाधानको बाटो खोज्न सकिन्छ ।

अधिवेशनमा तपाईंहरूको यति सारो जोड किन ?

अहिले नेकपा सरकारले ठूलो ठूलो भ्रष्टाचार, महँगी, लोकतन्त्र विरोधी क्रियाकलाप, लोकतान्त्रिक व्यवस्थामाथि नै आँच पुर्‍याउने कामहरू गरिरहेको छ । संविधान र लोकतन्त्रकका मर्म विपरीतका विधेयकहरू भटाभट ल्याइएका छन् । चाहे त्यो गुठी विधेयक होस्, मिडिया काउन्सिल विधेयक होस् वा संवैधानिक परिषद्लाई बहुमतको प्रक्रियामा लाने अध्यादेश होस् । यस्ता क्रियाकलापका विरुद्धमा कांग्रेस सशक्त रूपमा अगाडि बढोस्, विपक्षीका रूपमा मात्र होइन, कांग्रेसले नेतृत्व गरेर अगाडि बढोस् भन्नका लागि महाधिवेशन चाहिएको हो । महाधिवेशनले आम कांग्रेस कार्यकर्ता सबैलाई, समेटेर एकजुट बनाएर अगाडि बढाउन सक्छ । यो बहुमत र अल्पमतको विषय होइन, सबैलाई एउटै सूत्रमा बाँधेर अगाडि बढ्नको निम्ति महाधिवेशन चाहिएको हो । कम्युनिस्ट सत्ताले दिएको जुन चुनौती छ त्यसको सामना गर्न महाधिवेशन चाहिएको हो । सरकारले लोकतान्त्रिक शासन व्यवस्था माथि नै आँच पुर्‍याउने काम गर्दै आएको छ । यो बेलामा कांग्रेस एकजुट भएर, एक ठाउँमा रहेर र गाउँगाउँबाट अधिवेशन अगाडि बढाऊ र यो अधिवेशनले नयाँ जागरण, नयाँ स्फूर्ति, नेपाली कांग्रेसका कार्यकर्तामा ल्याउँछ । नयाँ नेतृत्व जन्मिने अवसर प्राप्त हुन्छ । युवाहरूलाई हामी आकर्षण गर्न सक्छौं । समग्रमा संगठनलाई मजबुत बनाउने काम महाधिवेशनले गर्छ । नेपाली जनताले लोकतन्त्रका लागि भरोषा गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस हो । त्यसैले नेपाली कांग्रेस हामी केही नेताहरू वा एक, दुई लाख कार्यकर्ताको मात्रै चासोको विषय होइन । नेपाली कांग्रेसप्रति आम नागरिकको जुन चासो छ त्यसको सम्मान गर्न पनि हामी महाधिवेशनमा जानु अपरिहार्य छ ।

तर फागुन मसान्तमा सकिने कार्यसमितिको म्याद नथपी त अब सुखै छैन नि, हैन र ?

ठीक छ कति समय थप्ने त ? आज तपाईंले हिँड्न सुरु गर्नुभयो भने, कति समयमा कहाँ पुगिन्छ भन्ने त हिसाब हुन्छ नि । आज नहिँडौं, भोलि हिडौं वा पर्सि हिँडौंला भनियो भने त समय त्यत्तिकै खेर जाने भइहाल्यो । ठीक छ, कहाँ कहाँ मोडिनुपर्छ, कहाँ के गर्नुपर्छ हेरौंला तर हिँड्न त सुरु गरांै न । महाधिवेशनको बाटो त बनाऔं भन्ने हाम्रो भनाइ हो ।

विधानकै व्यवस्था र संविधानअनुसार पनि कम्तीमा एक वर्ष र बढीमा डेढ वर्ष जान सकिने देखिन्छ ?

हामी विधान र संविधानको सुविधा भोग गर्नेतिर गएर पार्टीलाई धराशायी बनाउने बाटोमा जानु हुँदैन । पार्टी यतिबेला कमजोर अवस्थामा छ । पार्टीलाई ऊर्जा दिने एक मात्र विकल्प भनेको महाधिवेशन हो । डेढ वर्ष कार्यसमितिको म्याद बढाउन मिल्छ भन्दैमा पार्टीलाई यही अवस्थाबाट अघि बढाउने त ? कांग्रेस नेतृत्व समक्ष यो यक्ष प्रश्न तेर्सिएको छ । कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । हामीले नै तत्कालीन नेकपा एमालेलाई लोकतन्त्र र बहुदलीय व्यवस्थाको बाटोमा डोर्‍यायौं । लोकतन्त्र र बहुदल मान्छौं भनेपछि एमालेसँग आन्दोलनका लागि हाम्रो सहकार्य भयो । पञ्चायतका विरुद्ध हामी एकजुट भएर लड्यौं । त्यसैगरी माओवादीलाई पनि लोकतन्त्रको बाटोमा हिँडाउने हामी नै हौं । म बहुदलीय व्यवस्था मान्छु, भनेपछि हामीले माओवादीसँग सहकार्य गर्‍यौं । माओवादीसित हामीले सहकार्य गर्दा बहुदलीय व्यवस्था र लोकतान्त्रिक व्यवस्थाको पक्षमा उनीहरूलाई सहमत गरायौं । कांग्रेसकै कारणले उनीहरू लोकतन्त्रको बाटोमा हिँडेका हुन् । आज फेरि उनीहरू लोकतन्त्रको बाटोबाट मोडिन खोजेका छन् । उनीहरूलाई पनि लोकतन्त्रको बाटो लिएर जाने हाम्रो दायित्व हो । त्यसको लागि कांग्रेस आफूले लोकतान्त्रिक प्रक्रिया, आचरण, व्यवहार देखाउन सक्नुपर्छ । सकेसम्म विधानले दिएको व्यवस्था विशेष परिस्थितिसम्म हामी जानु हुँदैन । यदि समयले भ्याइएन भने ठीक छ नि ६ महिना थप्न सक्छौं, ७ महिना थप्न सक्छौ । काम गर्दागर्दै नभ्याउँदाखेरिको अवस्थामा हामी समय थपेर अघि बढ्न सक्छौं । तर विधानको सुविधा उपभोग गर्ने नियत नै राखेर अघि बढ्नु हुँदैन ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर फेरि त्यसलाई पछ्याउन सकिएन भने त्यो झन् नराम्रो होला नि ?

कार्यतालिका संशोधन गरेर अघि बढ्न सकिन्छ । त्यसो गर्दा के बिग्रेला र ? काम त सुरु हुन्छ नि । सक्रिय रूपमा कांग्रेस अघि बढ्नुपर्छ, काम गर्न नसकिने भन्ने हुँदैन । अहिले पनि आगामी निर्वाचनमा कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्ने आम नागरिकको चासो विषय हो । हामी दुईचार जना नेता, एकदुई लाख कार्यकर्ताको मात्रै विषय होइन । सबै नेपालीको चासोको विषय हो कांग्रेस । यसले देशको नेतृत्व गरेको छ । देशको इतिहासमा सम्पूर्ण, महत्वपूर्ण रूपमा जनताको सचेतना जगाएको छ । मानिस भएर जन्मेपछि के अधिकार पाउनुपर्छ भनेर चेतनाको सञ्चार कांग्रेसले गराएको छ । यसको लागि धेरै बलिदान गरेको छ । कांग्रेस जहिले पनि लोकतन्त्रको बलियो खम्बा बनेर उभिएको छ । लोकतन्त्र बलियो हुन कांग्रेस बलियो हुनुपर्छ भन्ने आम मान्यता छ । त्यसैले कांग्रेसलाई बलियो बनाउने यतिबेलाको उपाय भनेको महाधिवेशन हो । महाधिवेशनले कांग्रेसमा नयाँ जागरण सिर्जना गर्नेछ । जनतामा कांग्रेसप्रति भरोसा जाग्नेछ । महाधिवेशन सम्पन्न गरेर हामी अर्को आम निर्वाचनमा जुट्नु पर्नेछ । पार्टीभित्र न्यायपूर्ण व्यवहारको निम्ति महाधिवेशन आवश्यक छ भन्ने हामीले ठानेका छौ ।

संस्थापन पक्षले विभाग तथा कार्यसम्पादन समिति गठन गर्ने विषय अगाडि ल्याएको छ, यसमा तपाईंहरूले किन छलफल गर्न नचाहनु भएको हो ?

महाधिवेशनकै सेरोफेरोमा विभागहरूबारे पनि छलफल गरौं भन्ने हाम्रो भनाइ हो । महाधिवेशनकै छलफलका बीचमा यी विषयहरू पनि टुंगिन्छन् । यसकै आलोकमा अरू विषयहरू पनि टुंगिन सक्छन् ।

तपाईंहरूबीच भइरहेको यस्तो विवादले कांग्रेसमा गुटको राजनीति सकिएन भन्ने सन्देश त गएको छ नि, हैन ?

हो, वास्तवमा यो गुटगत राजनीतिको कारणले नै कांग्रेसको यो स्थिति भएको हो । यो छोड्नुपर्छ । तर मूल विषय के हो भन्दा, पार्टीभित्र न्यायपूर्ण व्यवहार हुनुपर्छ । पूर्वाग्रहपूर्ण व्यवहार हुनु भएन ।

भने पछि सभापतिले अहिले पेलेर अगाडि बढ्न खोज्नु भएको हो ?

मलाई त्यस्तो लाग्दैन । किन पेल्ने उहाँले ? कसलाई पेल्ने ? पार्टीमा बैठक हुनुपर्छ । सबैसँग छलफल गर्नुपर्छ । सहमतिको आधारमा निर्णय गर्नुपर्छ भन्दा पेल्ने कुरा गर्न मिल्छ र ? यत्रो त्याग तपस्या गरेका नेताहरू हुनुहुन्छ, बलिदान गरेका साथीहरू हुनुहुन्छ । सभापति आफैं पनि देशको निम्ति ठूलो योगदान गरेको व्यक्तित्व हो । त्यसैले उहाँले पेलेर जान खोज्या हो जस्तो मलाई लाग्दैन । तर उहाँले महाधिवेशनमा जानको लागि सबैसँग मिलेर अघि बढ्नुपर्छ । समानता र न्यायपूर्ण व्यवहार गर्नुपर्छ पार्टीभित्र । पूर्वाग्रह राखेर अघि बढ्नु भएन ।

तर, सभापतिलाई तपाईंहरूबाटै सहयोग भएन भन्ने गुनासो सुनिन्छ नि ?

मलाई त्यस्तो लाग्दैन । के कुरामा सहयोग भएन ? आजसम्म कुन कुरा पारित भएन, सभापतिजीले चाहेको ? उपसभापति, महामन्त्री वा सहमहामन्त्रीमध्ये एक जना चाहिन्छ भन्ने कुरा राख्दाखेरि त्यो पनि उहाँले मान्न सकिन्न भन्नुभयो । सहमतिको परम्परा तोडियो भनेर नोट अफ डिसेन्ट लेख्ने बाहेक के भयो र ?

दुई महिनामा गर्नुपर्ने विभागहरू गठनको काम भागबन्डा नमिल्दा नभएको हो नि, हैन र ?

उहाँले विभागहरूको नाम राखेर गरेको भए कस्ले डिस्टर्ब गथ्र्यो र ? समय ढल्किँदै गएपछि केही प्रश्नहरू आए होलान् । समयमै कामहरू भएनन् भने प्रश्नहरू उठ्नु स्वाभाविक हो नि ।

तर कांग्रेस संस्थापन बहुमतबाट अगाडि बढ्न खोजेजस्तो देखिन्छ नि ?

बहुमत र अल्पमतको प्रश्न होइन । प्रश्न पार्टीलाई मजबुत बनाउने विषय हो । अब महाधिवेशन नगरी पार्टी मजबुत हुन सक्दैन भन्ने रियलाइज आम कार्यकर्तामा भइसकेको छ । त्यसैले सभापतिज्यूले पनि यो महसुस गर्नुपर्छ ।

आइतबार बस्ने बैठक बहुमतीय तवरले अघि बढ्यो भने के गर्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । पार्टीलाई एक बनाएर लाने विषयमा न्यायपूर्ण व्यवहार गरिनुपर्छ । न्यायपूर्ण र पूर्वाग्रहरहित व्यवहार सभापतिबाट हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

तपाईंहरू अब कसरी अगाडि बढ्नु हुन्छ ?

अहिले हामीले बाह्रबुँदे प्रस्ताव तयार पार्दै छौं । यस विषयमा हामी छलफल गर्दैछौं । समायोजन, भ्रातृ संगठनलगायतका विषयहरूमा हामी ठोस प्रस्ताव र अवधारणका साथ अघि बढ्छौं, सहमतिको खोजी गर्छौं ।