देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियामा वल्र्डकबको सफलताको शिखर पुरस्कारबाट नर्भिक सम्मानित

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेस (WORLDCOB) द्वारा सफलताको शिखर (The Peak of Success Award) प्रदान गरिएको छ ।

उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोह (The BIZZ AMEA 2019) का बीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान केवल वल्र्डकबका विगतका समारोहहरूमा अर्थात् THE BIZZ सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जो विगतको सम्मानपश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्राप्त हुने गर्दछ ।

उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्बरसमेत प्रदान गरियो । वल्र्डकबले नर्भिकलाई आगामी दिनहरूमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएको छ । नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर–सम्भव उपायहरूको अवलम्बन गरिने समेत बताएको छ ।

उपरोक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यावसायिक नेतृत्व (World Business Leader) नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रूपमा समेत सम्मान गरिएको थियो । वल्र्डकबका तर्फबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उपरोक्त पुरस्कार तथा सम्मानहरू नर्भिकका पदाधिकारीहरूलाई अर्पण गरेका थिए ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकाबापत उनलाई वल्र्ड लिडर बिजिनेस पर्सन (World Leader Business Person) सम्मानद्वारा पुरस्कृत गरिएको थियो । आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पुर्‍यएबापत उनलाई सो पुरस्कारले सम्मान गरेको वल्र्डकबले जनाएको छ । सो अवसरमा नर्भिकका पदाधिकारीहरूका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यावसायिक नेतृत्वमा सर्वोत्कृष्ट (Excellence in Business Leadership) विषयक सम्मान प्रदान गरिएको थियो ।

वल्र्डकबले आ-आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरूलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ ।

सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै विश्वव्यापीरूपमा मूल्य र मान्यतामा आधारित व्यवसायहरूको प्रवद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यावसायिक व्यक्तित्वहरूको साख अभिवृद्धिमा सहयोग पुर्‍यउनु रहेको छ । विश्वका एक सय ३० भन्दा बढी राष्ट्रहरूमा दि वल्र्डकबका तीन हजारभन्दा बढी सदस्य प्रतिष्ठानहरूको सञ्जाल रहेको छ । यो सम्मानले व्यावसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यावसायिक उदाहरणहरू स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धित व्यवसायहरूले निर्धारित मापदण्डलाई अनुसरण गरून भन्ने अभिप्राय राख्दछ ।

वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारित छनोट मापदण्डहरू जस्तैः व्यावसायिक अगुवाइ, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, बिरामी सुरक्षा, हस्पिटलजन्य संक्रमणको नियन्त्रणलगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कष्ट नतिजा रहेका थिए ।

स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिँदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस् भन्ने कामनासमेत दिएको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम ‘ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स्’, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आईएसओ प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि NABL प्रमाणीकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्रान्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइजजस्ता सम्मान÷पुरस्कारहरू प्राप्त गरिसकेको छ ।