देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बढी लिएको शुल्क मंगलबारसम्म फिर्ता नगरे मेडिकिल कलेजहरुलाई कारबाही गरिने

देशान्तर

काठमाण्डौ । विभिन्न मेडिकिल कलेजहरुले बसढ लिएका शुल्क भोलि मंगलबारसम्म फिर्ता नगरे कारबाहि गरिने भएको छ । सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न लचिलो बनेका छन् ।

मेडिकल कलेज सञ्चालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन् ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज सञ्चालकहरुलाई मन्त्रालय बोलाएका थिए ।

सोमबारको बैठकमा मेडिकल कलेज सञ्चालकहरुले मंगलबार सम्मको समय माग गरेको बताइएको छ ।

सरकारले एमबीबीएस, बीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटीलगायतका आठ वटा संकायको शुल्क निर्धारण गरेको छ । तर, कलेजले आठ वटा संकायका ३२ ब्याचका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन् । जसको निरन्तर विरोध र प्रदर्शन भइरहेको छ ।

सोमबार गृह मन्त्रालयमा भएको छलफलमा म‌ंगलबारसम्म अवैध शुल्क फिर्ता नगरे मेडिकल कलेजहरुलाई कारबाही गरिने निर्णय भएको छ । छलफलमा गृह मन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्याधिवक्ता अग्नि खरेललगायत उपस्थित थिए ।

मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न दिइएको समयसीमा सोमबार सकिएको छ । समयसीमा सकिएसँगै सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मेडिकल कलेजहरुलाई कारबाही गर्ने तयारी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मेडिकल कलेजले तोकिएको समयसीमाभित्र शुल्क फिर्ता नगरे कारबाही गर्न देशभरिका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिएको बताए । देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थी अवैध शुल्कको विरोध गर्दै महिनौँदेखि आन्दोलनरत छन् ।

सरकारले २०७२ भदौ ३१ गते निजी मेडिकल कलेजलाई तोकिएको शुल्क मात्रै लिन र अतिरिक्त लिएको पाइए कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेज सञ्चालकले भने सरकारले तोकेको शैक्षिक शुल्कलाई बेवास्ता गर्दै अतिरिक्त शुल्क असुलिरहेका छन् ।