देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजार लेखकले बिगारे कि प्रकाशकले ?

देशान्तर

अहिले नेपाली प्रकाशनको बजार अत्यन्त ठूलो भएको छ । बजार फैलिनु वा बृहत् हुनु खुसीको कुरा हो । यो मुलुकको अर्थतन्त्रका लागि पनि राम्रो कुरा हो । लेखक, प्रकाशकका लागि त राम्रो हुने भइगयो ।

तर, प्रश्न बढ्नु वा फैलनु आफैँमा राम्रो हो वा सही र सिस्टमेटिक अनि सकारात्मक रूपले बढ्नु र फैलनु चाहिँ राम्रो हो ?

हाम्रो प्रकाशन र लेखनको बजार कसरी बढेको हो ? यो जान्न जरुरी छ ।

वास्तवमा नेपाली प्रकाशनको बजारमा अहिले निकै धेरै प्रकाशन गृह अस्तित्वमा छन्, उस्तै संख्यामा बढेका छन् लेखक पनि । तर, प्रकाशक र लेखकको संख्याअनुसारको बजार भने खुम्चँदो छ । जति प्रकाशक र लेखक छन्, जति पुस्तक बजारमा आउँछन्, तिनको बिक्री वितरण भने घट्दो क्रममा रहेको खबर आइरहेका छन् ।

यसका पछाडि अनेक कारण हुन सक्छन् । एउटा प्रमुख कारण त के भने, हामीकहाँ जस्ता किताब लेखे पनि चल्छ भन्ने धारणा बन्यो । लेखक पैसामुखी भयो, प्रकाशक त स्वाभाविक रूपमै व्यापार गर्ने हो, पैसा नै हेर्छ । अनि प्रकाशकको ‘इन्ट्रेस्ट’का पछाडि लाग्यो लेखक । यसो गर्दा लेखकले पनि गुजारा गर्ने भयो ।

तर, प्रकाशक, लेखक दुवैले के सोचेनन् भने, पैसाका लागि लेखिएका चिज क्षणिक हुन्छन्, दीर्घकालिक हुँदैनन् । यसबाट पैसा कमाउनकै लागि स्थापित प्रकाशक त सफल होला तर बौद्धिक भनिने लेखक भने मर्दै जान्छ । लेखकप्रतिको पाठकको विश्वास गुम्दै जान्छ । अन्ततः गतिलै पुस्तक लेखे पनि कालान्तरमा उक्त लेखक समाजमा अस्वीकृत बन्छ ।

अर्को तथ्य के भने, लेखकलाई छिट्टै चर्चित हुनु छ र चर्चित हुन बजारले मागेको (चलचित्रमा कथाले मागेको जस्तो) सामग्री लेखेर बेच्नु छ । भोलिका दिनमा त्यसले आफूलाई के कस्तो हानि गर्ला भन्नेतिर लेखकले सोच्दैन । बस्, उसलाई चर्चित हुनु छ ।

चर्चित हुनु र लोकप्रिय हुनु एउटै होइन । लोकप्रिय हुन शालीन, भद्र, इमानदार, स्तरीय हुन जरुरी छ तर चर्चित हुन जे गरे पनि हुन्छ । र, यस्तो चर्चाको भोक जब लेखकमा जाग्न थाल्छ, लेखक त विस्तारै मर्दै जान्छ नै, प्रकाशकप्रतिको आमविश्वासमा पनि ठेस लाग्छ । यसका कारण लेखक र प्रकाशक दुवै समाजबाट बहिस्करणमा पर्छन् ।

पछिल्लो समय नेपाली प्रकाशन, लेखनको बजारमा देखिएको प्रमुख समस्या हो यो । यस्तो समस्या लेखक, प्रकाशक आफैँभित्र छ र त्यसलाई सच्याउनुपर्छ भन्ने बोध उनीहरूमा नहुन्जेल अन्य बाह्य पक्षलाई दोष दिएर प्रकाशनको बजार सुधार हुँदैन ।

अर्कातिर सरकारले पुस्तकमाथि कर थोपरेको छ । यसले लेखक, पाठक, प्रकाशक सबैलाई दुःखी बनाउनु स्वाभाविक हो । पुस्तक ज्ञान हो, ज्ञानमाथिको अनावश्यक करले पक्कै पनि पुस्तकको बजार बढाउँदैन । तर, यसको आसय पुस्तकमा कर लगाउनै हुन्न भन्ने पनि होइन । व्यापार, व्यवसाय नै भएका कारण राज्यले हरेक व्यापारिक, व्यावसायिक वस्तुमा कर लगाउन पाउँछ तर त्यसका सीमा हुन्छन् । कतिपय अवस्थामा कुनै क्षेत्रमा संकट आएमा वा उक्त क्षेत्रले गति लिन सहज होस् भनेर राज्यले उल्टै विशेष सुविधा दिने चलन छ ।

नेपाली प्रकाशनको बजारलाई बरु केही सहुलियत र सुविधा दिएर झनै स्तरीय र व्यापक बनाउन सरकारले सहयोग गर्नु आवश्यक थियो तर कर लगाएर व्यवसायी र लेखक अनि पाठकलाई तर्साएर केही गल्ती राज्यले गरेको छ ।

यसो भनिरहँदा अझै पनि नेपाली प्रकाशनको बजार प्रकाशक, लेखक स्वयम्ले बिगारिरहेका छन् भन्ने यथार्थ नै बढी बलियो हो ।

आजका पाठक कमजोर छैनन् र सामान्य सुझबुझका मात्र पनि छैनन् । विश्वव्यापीकरण र प्रविधिको व्यापक प्रयोगसँगै आजका पाठकको सूचना र ज्ञानको क्षेत्र पनि विस्तारित भएको छ । यस तथ्यलाई बेवास्ता गरेर लेख्ने लेखक र छाप्ने प्रकाशक दुवै बजार र समाजबाट बहिस्कृत हुन्छन् नै ।