देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवालाई शुभकामना

देशान्तर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झन्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बन्नुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले उहाँको सत्तारोहणलाई रोक्न अनेक तिकड्म गरे पनि सत्ता गठबन्धनलाई अटुट राख्दै सत्तामा पुग्न देउवा सफल हुनुभएको छ । प्रधानमन्त्रीका रूपमा देउवाको यो चौथो ‘इनिङ’ हो । यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएका देउवा गणतन्त्रको आगमनपश्चात् भने पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हो । दोस्रो संविधानसभा चुनावमार्फत नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको र १३औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्नुभएका देउवाका लागि सामान्य अवस्थामा सरकारको नेतृत्वमा पुग्न त्यति असहज भने थिएन । तर मुलुकमा बढ्दो बाम ध्रुवीकरणलाई निस्तेज पार्दै सैद्धान्तिक रूपमा निकै पर रहेको अवस्थामा माओवादीसँग गठबन्धन गरेर सरकारको नेतृत्वमा पुग्न भने गाह्रै थियो । यसका लागि कांग्रेसले करिब १० महिनासम्म तेस्रो ठूलो दललाई सरकारको नेतृत्वमा पुर्‍याउनु पर्‍यो । त्यसपछि बल्ल देउवाका निम्ति अहिलेको अवसर जुरेको हो ।

चौथो पटक प्रधानमन्त्रीका रूपमा सत्तामा पुनरागमन गर्नुभएका देउवाका आगामी दिन चुनौतीले भरिपूर्ण छन् । अहिलेको लागि देउवाको प्रमुख कार्यभार भनेको वर्तमान सत्ता गठबन्धन टिकाएर संविधान कार्यान्वयन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु हो । तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेस सभापतिकै हैसियतमा देउवाले पाउनुभएको छ । एक हिसाबले सुशील कोइरालाको नासोको रूपमा देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी पाउनुभएको हो । त्यसैले देउवा यसमा सफल हुनुभयो भने सिंगो कांग्रेसको संविधान निर्माणको मिसन सफल हुनेछ, असफल हुनुभयो त्यसको अपजस सिंगो पार्टीले बेहोर्नु पर्नेछ । त्यति मात्रै होइन देउवा यो ‘इनिङ’ असफल भयो भने जनताका प्रतिनिधिहरूले संविधान बनाएर लागू गर्ने ६० वर्ष अघि कांग्रेसले बुनेको सपनाको पनि अवशान हुनेछ । यो परिस्थितिमा देउवाबाट मुलुकले सुझबुझपूर्ण, विवेकशील र परिपक्व नेतृत्वको आशा गरेको छ ।

देउवा सरकार निर्माण भएको एक साता पनि पूरा भएको छैन । तर यसको मूल्यांकन देउवा प्रधानमन्त्रीको कुर्सीमा आसीन भएको दिनदेखि नै सुरु भइसकेको छ । यसको मतलव देउवालाई प्रधानमन्त्रीको कुर्सीमा बसेर हनिमुन मनाउने छुट छैन । पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गराएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता सञ्चालनमा सफलताको झन्डा गाडिसकेको अवस्थामा आगामी असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न गराउनु देउवाको प्रमुख दायित्व हो । संघारमै आइसकेको चुनाव सम्पन्न गराउनका निम्ति अझै पनि बाधा व्यवधान कायमै छ । विशेषगरी मधेस केन्दित दल राष्ट्रिय जनता पार्टीलाई सामेल गराएर चुनाव सम्पन्न गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।

यसका साथै प्रधानमन्त्री भएपछि देउवामाथि नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरमलगायत सरकारमा रहेका दलहरूबीचको गठबन्धन जोगाइराख्नु पर्नेछ । असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन, प्रदेश र संघको निर्वाचन गराउनु पर्नेछ । आउँदो माघ ७ गतेभित्र प्रदेश र संघको चुनाव गराउनुपर्ने संविधानमै उल्लेख गरिएको छ, त्योअनुसार सरकारले अब तीव्ररूपमा त्यसको तयारी थाल्नुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०७३ असार तेस्रो साता सरकार गठन हुँदा मधेसवादी दलहरूसँग भएको तीनबुँदे सहमति अझै कार्यान्वयन हुन सकेको छैन । त्यतिबेला मधेसवादी दलहरूसँग भएको तीनबुँदे सहमति प्रचण्ड नेतृत्वको सरकारले पूरा गर्न सकेन, र त्यो जिम्मेवारी अब देउवाको काँधमा आइपरेको छ ।

संविधान संशोधन नभएसम्म निर्वाचनमा जान्नौं भनिरहेका राजपा नेपाललाई सहमतिमा ल्याउन पनि संविधान संशोधन गर्नु आवश्यक छ । तर, संशोधन प्रस्ताव पारित गराउन आवश्यक संख्या जुटाउनु फलामको चिउरा चपाए बराबर हुनेछ । संशोधन विधेयक पारित गर्न संसद्मा दुई तिहाइ बहुमत आवश्यक पर्छ । त्यसका लागि एमालेबाहेकका सबै दललाई आफ्नो पक्षमा ल्याउन देउवाले सक्नु पर्नेछ । त्यो तत्काल सम्भव देखिदैन । त्यसैले संविधान संशोधन बेगरै राजपालाई चुनावमा ल्याउन देउवाले थप कसरत गर्नुपर्नेछ ।

यस्तै, देउवामाथि पार्टीभित्रको सन्तुलनसमेत मिलाउनुपर्ने चुनौती पनि उत्तिकै देखिएको छ । पार्टी सभापति भएपछि एकलौटी ढंगले अघि बढेको आरोप खेपिरहनुभएको देउवाले अब सरकारमा पुगेपछि त्यो आरोपबाट मुक्त हुनेगरी काम गर्न सक्नुपर्दछ । सरकार संचालनमा सफल हुने हो भने देउवालाई सिंगो पार्टीको साथ र सहयोग आवश्यकता पर्दछ । त्यस्तो सहयोग प्राप्त गर्ने वातावरण बनाउने जिम्मेवारी भने देउवाको हो । यसको निम्ती देउवाले आफ्नो गुटलाई च्याप्ने भन्दा पनि पार्टीभित्रको शक्ति सन्तुलनलाई मिलाउने प्रयत्न गर्नुपर्छ । गुटगत आधारमा काखा पाखा नगरी सबैको सहयोग प्राप्त गर्ने ढंगले देउवा अघि बढ्न सक्नुपर्छ । यसको अर्थ हो, देउवाले अब पार्टीभित्र पक्षपात नगरी जिम्मेवारी बाडफाड गर्नुपर्दछ । अझै पनि पार्टी कार्यसमितिले पूर्णता पाउन सकेको छैन । पार्टी कार्यसमितिलाई पूर्णता दिनको निम्ती देउवाले आफ्नो नेतृत्वमा सरकार गठन हुने दिन कुरेको जगजाहेरै छ । त्यसैले अब ढिला नगरी न्यापूर्ण तवरले कार्यसमितिलाई पूर्णता दिन सक्नुपर्छ । यी सबै काम सम्पन्न गर्न सफलता प्राप्त होस प्रधानमन्त्री देउवालाई शुभकामना †