देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको अस्वस्थताका कारण संसद अधिवेशन र सभामुख चयन अन्यौलमा

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण सरकारको अग्रसरतामा हुनु पर्ने धेरैकाम अन्यौलमा परेको देखिन थालेको छ । प्रधानमन्त्री ओली झण्डै एक हप्तादेखि अस्पतालमै रहेकाले मन्त्रीपरिषद् बैठक बस्न नसकेको र धेरै कामहरु रोकिएको सत्तारुढ दलकै नेताहरुले बताएका छन् ।

नेकपाको संसदीय दलका प्रमुख सचेतक देबप्रसाद गुरुङले मन्त्रीपरिषद् बैठक बस्न नसक्दा संसद अधिवेशन बोलाउने प्रक्रिया नै सुरु हुन नसकेको बताए । मंसिर महिनाको सुरु देखि नै संसद अधिवेशन बोलाउने तयारी भएपनि प्रधानमन्त्रीकै अस्वस्थता र व्यस्तताका कारण संसद अधिवेशन अन्यौलमा परेको उनको आशय छ ।

संसद अधिवेशन स्थगित भएको लामो समय भएकाले संसदीय गतिविधि न्युन हुदै गएका छन् भने तत्काल अगाडी बढाउनु पर्ने कानुन निर्माणको काम पनि अवरुद्ध भएका छन् । संसद अधिवेशन बोलाउनका लागि मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्नु पर्ने र राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

उपप्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रीपरिषद् बैठक बस्ने बारेमा पनि अन्यौलता देखिएकाले मन्त्रीपरिषद्बाट तत्काल गर्नुपर्ने कामहरु अवरुद्ध भएका हुन् । प्रधानमन्त्रीको अस्वस्थताका कारण सभामुख चयनको प्रक्रिया पनि अन्यौलमा परेको छ ।

यौन दुव्र्यवहारको अभियोग लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएको दुई महिना वितिसक्दा समेत नयाँ सभामुख चयन बारे कुनै प्रक्रिया सुरु भएको छैन । संसद अधिवेशन गत असोज २ गते अन्त्य भएपछि लामो समयदेखि संसदीय गतिविधि न्युन हुदै गएका छन् भने तत्काल अगाडी बढाउनु पर्ने कानुन निर्माणको काम पनि अवरुद्ध भएका छन् ।