देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश राजधानी भक्तपुर, नाम चागुनारायण– कृष्णलाल भँडेल

देशान्तर

आउँदो शनिबार (मंसिर १४ गते) देशैभर रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन हुन गइरहेको छ । उक्त उपनिर्वाचनमा कृष्णलाल भँडेल भक्तपुर क्षेत्र नं. १ (क)का लागि नेपाली कांग्रेसकोतर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार हुन् । उनीसँग देशान्तरले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

चुनाव प्रचारप्रसार कसरी अगाडि बढिरहेको छ ?

हामी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छौं । जनताको घरदैलोमा पुगेर मत मागिरहेका छौं । चुनावप्रचार अभियान बडो उत्साहका साथ अघि बढिरहेको छ । वडावडामा पुगेर जनतासँग साक्षात्कार गर्ने काम भएको छ । जनताले स्वतस्फुर्त रूपमा हामीलाई स्वागत गरिहनुभएको छ । तर दुःखको कुरो म आफैं भने मातृशोकमा परेको कारण विगत केहीदिनदेखि घरदैलो कार्यक्रममा सहभागी हुन सकिरहेको छैन । मेरो अनुपस्थिति भए पनि नेपाली कांग्रेसका साथीहरू एक ढिक्का भएर कांग्रेसको उम्मेदवारलाई जिताउने अभियानमा लाग्नुभएको छ । आमाको देहावसानपछि क्रियाकर्मको लागि म घरमै छु । जनताहरू मेरै घरमा आएर समवेदना प्रकट गरिरहनुभएको छ । शोकको बेलामा यस प्रकारका जनताको माया, ममता पाउँदा दुःख बिर्सन सहज भएको छ । यसको लागि म मेरो क्षेत्रका साथीभाइ तथा आम जनताप्रति आभार व्यक्त गर्न चाहन्छु ।

यो उपनिर्वाचनलाई तपाईंले कसरी लिनु भएको छ ?

वास्तवमा भन्ने हो भने यो उपनिर्वाचन मिनी जनमत संग्रह हो । देशमा आमचुनाव सम्पन्न भएर दुई तिहाइ बहुमत निकट शक्तिशाली सरकार बनेको दुई वर्ष बितिसक्दा हुन लागेको यो चुनावको सांकेतिक अर्थ निकै महत्वपूर्ण छ । दुई वर्षको अवधिमा सरकारले गरेका कामहरूको मूल्यांंकन जनताले कसरी गरिरहेका छन् भन्ने कुरा यो चुनावको नतिजाले प्रष्ट पार्नेछ । जनताले निकै आशा र भरोसा गरेको कम्युनिस्ट सरकारले जनतालाई के दियो ? त्यसको लेखाजोखा जनताले गर्नेछन् । जनतालाई दिएको महँगी, करको भार, बेरोजगारी, कुशासन, भ्रष्टाचारविरुद्ध जनताले मतदान गर्नेछन् र यसले सरकारलाई सुध्रिन दबाब पुग्नेछ भन्ने मैले ठानेको छु । हुन त यो चुनावले सरकार परिवर्तन गर्ने त होइन । तर पनि यसको सांकेतिक अर्थ निकै महत्वपूर्ण हुनेछ । सरकारप्रति जनताको जुन निराशा छ त्यसलाई यो निर्वाचनमार्फत उनीहरूले अवश्य पनि पोख्नेछन् भन्ने मैले ठानेको छु ।

जनताबाट कस्तो खालको प्रतिक्रिया पाइरहनुभएको छ ?

जनताले म नेपाली कांग्रेसको उम्मेदवारप्रति जुन सद्भाव दर्शाइरहनुभएको छ त्यसले मलाई निकै उत्साहित बनाएको छ । मैले जुनबेलादेखि राजनीति आरम्भ गरें त्यसैबेलादेखि मैले जनताको सुखदुःखमा साथ दिँदै आइरहेको छु । चाहे मैले चुनाव जितौं वा नजितां, म हरअवस्थामा जनमानसको काममा समर्पित छु । उहाँहरू सद्भाव र समर्थन मलाई रहँदै आएको छ । मैले चुनाव जित्नु र नजित्नुले मेरो प्रतिबद्धता र समपर्णमा कुनै अन्तर ल्याउँदैन । यो कुरा यसपटक आम जनसमुदायले बुझ्नु भएको अनुभूति मैले गरेको छु । कृष्णलाल भँडेलको राजनीतिक जीवन सर्वसाधारण जनतामा समर्पित छ भन्ने मैले स्थापित गर्न सकें जस्तो लागिरहेको छ । जनमानसले मप्रति जुन भावना र समर्थन दर्शाइरहनुभएको छ त्यसले म अहिले नै विजेता घोषित भइसके जस्तो लागको छ ।

यसअघि नेकपाका उम्मेदवारले जितेको ठाउ“ र कम्युनिस्टहरूले आफ्नो किल्ला ठानेको स्थानमा तपाई उम्मेदवार हुनुहुन्छ । तपाईंलाई अलि चुनौतीपूर्ण नै होला नि, हैन ?

एउटा कुरा मैले पटकपटक भन्ने गरेको छु, मैले जुनदिनदेखि राजनीति सुरु गरें त्यही दिनदेखि म यही क्षेत्रको लागि समर्पित भएँ । मेरो राजनीतिक समर्पण र निष्ठामा कसैले शंका नगरे हुन्छ । हो, यसअघि नेकपाका उम्मेदवारले जित्नुभयो । त्यसो भन्दैमा सधैं नेकपाले नै जितिरहन्छ भन्ने छैन । जनताले बुझिसकेका छन्, कम्युनिस्टहरूको झूटो आश्वासन । वर्तमान सन्दर्भमा भ्रष्टाचार महँगी, करवृद्धिले जनता आक्रान्त छन् । त्यसमाथि मेरो क्षेत्रमा कम्युनिस्ट सत्ताले विकासको कुरूप अनुहार प्रदर्शन गरिरहेको छ । नगरकोट जाने बाटो अलपत्र पारेर छोडिएको छ । विकास केवल नारामा सीमित भएको छ । यसको विरुद्धमा जनताले बारम्बार आवाज उठाइरहेका छन् । तर कम्युनिस्ट सरकार त्यसलाई बेवास्ता गर्दै कानमा तेल हाल हालेर बसेको छ । हामीले बारम्बार आवाज उठाउँदा पनि यो कुरा सुनुवाइ भएको छैन । स्थानीय सरकारको नगरपालिका त्यही रोडम पर्छ । नगरपालिकाका मेयरसापले कुनै किसिमको वास्ता गरिरहनुभएको छैन । यसको विरुद्धमा बुलन्द आवाज उठाएर त्यसको निर्माण कार्य अगाडि बढाउनको निम्ति मेरो उम्मेदवारी हो । यो क्षेत्रको हर क्षेत्रको विकासमा मेरो सहभागिता रहँदै आएको छ । खानेपानी, सरसफाइ, शिक्षा, कृषि हरेक विकासमा मेरो तर्फबाट योगदान गर्दै आइरहेको छु । आफूले सकेको सहयोग र मेहनत गरेको छु । त्यसकारण अप्ठेरो छ भन्ने मलाई लागेको छैन ।

तपाईं यसअघि पनि दोस्रो संविधानसभा चुनावमा उम्मेदवार भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । त्यतिबेला के गाह्रो थियो, यतिबेला के सजिलो छ ?

त्यतिबेला पनि मैले जनताको माया नपाएको होइन । मैले पहिले पहिलेका उम्मेदवारभन्दा पाँच हजार मत बढी मैले प्राप्त गरेकै हो । र २०७० को चुनाव हार्दै गर्दाखेरी पनि जनताको घरदैलो जनताको, सुखदुःखमा साथ दिने कुरामा मैले पूरै निरन्तरता दिँदै आएको छु । चुनाव हारे पनि जिते पनि मेरो प्रतिबद्धता र जनसेवाको कामलाई मैले रोकेको छैन । मेरो सोचाइ के हो भने जनता भगवान् हो, नगर गाउँ भनेको मन्दिर हो, म एउटा सेवक हुँ । यही धारणासाथ म अगाडि बढेको छु । २०७० को भन्दा अहिले मेरो पक्षमा लहर छ । भूकम्पमा पनि मैले हरतरहले सहयोग गरेको छु । त्यसकारणले मलाई आदरणीय मतदाता दाजुभाइ दिदीबहिनीहरूले साथ दिनुहुनेछ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।

तपाईंको प्रतिस्पर्धा कोसग हुने ठान्नुहुन्छ ?

अहिलेको अवस्थामा भन्न सकिने अवस्था देख्दिनँ म । नेपाल मजदुर किसान पार्टीका साथीहरू पनि त्यत्तिकै सक्रियतासाथ लागिरहनु भएको छ । नेकपाका साथीहरू पनि लागिरहनुभएको छ । परिणामले के देखाउने हो भन्न सकिने अवस्था छैन ।

सत्तारूढ दलले आचारसंहिता व्यापक रूपमा उल्लंघन गरेको कुरा उठेको छ । कांग्रेसले पनि यो विषय उठाएको छ, तपार्इंको क्षेत्रमा के छ ?

मेरो क्षेत्रमा पनि केही त्यस्तै भइरहेको छ । साथीहरूले जानकारी गराइरहनु भएको छ । निष्पक्ष निर्वाचनमा जाउ भन्ने हाम्रो कुरा हो ।

उसो भए निष्पक्ष चुनाव होला भन्नेमा तपाईहरू शंका व्यक्त गरिरहनुभएको छ ?

निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना हो । र त्यही विश्वासका साथ हामी अघि बढेका छौ । जनता एकजुट भइसकेपछि त्यसमा कसैको केही लाग्दैन भन्नेमा ढुक्का छौ ।

चुनावका लागि स्थानीय मुद्दा के बनाउनु भएको छ ?

मैले अघि पनि भने राजनीतिक सुरुआतदेखि नै म विकास निर्माणको कार्यमा छु । नगरकोट जाने बाटो निर्माणमा सरकारले झारा टार्ने काम गरिरहेको छ । चुनावको मुखमा आएर एउटा डोजर पठाएर काम सुरु गरेजस्तो देखाइएको छ । सामान केही झारेको छैन । यदि निर्वाचित भएँ भने त्यो सडक एक वर्षभित्र बनाइसक्नेछु । यसका अलावा मेरो अर्को मुद्दा भनेको प्रदेश नं. ३ को राजधानी र नामको बारेमा छ । कम्युनिस्ट सरकारले दुई वर्ष बितिसक्दा पनि प्रदेशको नाम र राजधानी टुंग्याउन सकेको छैन । मेरो जोड प्रदेशको राजधानी भक्तपुरलाई बनाउनुपर्छ र प्रदेशको नाम चागुनारायण राख्नुपर्छ भन्नेमा रहन्छ । यसैगरी नगरकोटलाई सुन्दर पर्यटकीय क्षेत्र बनाउने काममा म समर्पित हुनेछु । यसको पक्षमा आवाज बुलन्द गर्नेछु ।

तपाईंहरूले चुनावी तालमेलको प्रयास गरिरहनुभएको र राप्रपा संयुक्तले तपाईंलाई समर्थन गर्ने कुरा सुनिएको छ नि ?

हरेक दलसँग हरेक मतदातासँग छलफल जारी छ । चुनावी तालमेलको विषयमा केन्द्रका नेताहरू लागिरहनुभएको छ । केन्द्रका नेताहरूले विभिन्न दलसँग छलफल गरिरहनुभएको छ । हरेक मतदातासँग मत माग्नु हाम्रो अधिकार र दायित्व हो । त्यसैमा हामी लागेका छौं ।