देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वएमालेका कारण प्रचण्डको लज्जास्पद हार

देशान्तर

चितवन । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको लामो समय बितिसक्दा पनि दुई पार्टीबीच वास्तविक एकता अझै हुन सकेको छैन । एमाले कार्यकर्ताहरू प्रचण्डलाई अपमानित गर्न र एक्ल्याउन सकिने हरेक अवसर उपयोग गरिरहेका छन् भने प्रचण्ड अनेक नाटक गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षबाट हटाउने अभियानमा सुरुदेखि लागिरहेका छन् । यस क्रममा पूर्वएमाले कार्यकर्ताहरूले एकपल्ट फेरि प्रचण्डलाई लज्जित तुल्याएका छन् । यहाँसम्म की चितवनलाई आफ्नो निजी बिर्ता झैं ठान्ने प्रचण्ड त्यही पराजित हुनु परेको छ ।

हिजो भएको निर्माण व्यवसायी महासंघ चितवनको निर्वाचनमा अध्यक्ष पदमा उठेका प्रचण्डका साला तथा मेयर रेणु दाहालको मामा छवि गौतमविरुद्ध उठेका नेपाली कांग्रेसका प्रत्याशी बाबुराम भनिने उमाकान्त कँडेल पूर्वएमालेहरूको सहयोगले सानदार ढंगले विजयी भएका छन् । जबकि चुनावी अंकगणित कांग्रेस निकट व्यवसायीहरूको पक्षमा थिएन । मात्र ९५ जना व्यवसायीहरू कांग्रेस निकट थिए । पूर्वएमाले र माओवादी गरी नेकपा निकट १८९ जना व्यवसायीहरू थिए । तर परिणाम भने कांग्रेस निकट व्यवसायी कँडेलको पक्षमा आयो । उनले २०४ मत ल्याए भने प्रचण्डको साला गौतमले जम्मा ६८ मत मात्र ल्याए ।

एक व्यवसायीका अनुसार गौतमले ल्याएको मत पूर्वमाओवादी निकटको मात्र हो । पूर्वएमालेहरूले सबै कांग्रेसका उम्मेदवारलाई भित्री रूपमा सघाए नत्र कांग्रेसको उम्मेदवार जित्ने कुनै सम्भावना नै थिएन ।

प्रचण्ड आफूसँगै छोरी पनि निर्वाचित भएको चितवनमा आफ्नो साला यसरी घेराबन्दीमा परी पराजित होलान् भनेर सायद अनुमान पनि गरेका थिएनन् होला । तर यो परिणामले पूर्वएमालेहरू मौका पर्दा प्रचण्डलाई कसरी राजनीतिबाट विस्थापित गर्ने तयारीमा छन् भन्ने प्रष्ट देखाएको छ । यो घटनाले भित्रभित्रै नेकपाभित्र पूर्व पार्टी निकटहरूको गुटबन्दी सतहमा पनि आएको छ । परिणाम आएपछि प्रचण्ड निकटहरूले पनि पूर्वएमाले निकटहरू उम्मेदवार भएको ठाउँमा यसको हिसाबकिताब लिने खुला चुनौती दिँदै हिँडेका थिए ।

प्रचण्डको पारिवारिक सदस्यमाथि गरिएको यो प्रहारले चितवनको नेकपा भित्रको आन्तरिक गुटबन्दी र लडाइँलाई पनि सतहमा ल्याएको छ । पूर्वमाओवादीहरूले गौतमलाई मत नदिएर अध्यक्ष प्रचण्डको गालामा थप्पड हान्नेहरूविरुद्ध हिसाक गरिने प्रतिक्रिया दिएका छन् । यसको तत्कालको प्रतिक्रिया पूर्वमाओवादीबाट कुन स्वरूपमा कसरी आउँछ त्यो भने हेर्न बाँकी छ ।

चुनावमा द्वितीय उपाध्यक्षमा वाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले कांग्रेस निकटका भीष्म अधिकारीलाई पराजित गरे । न्यौपानेले १५४ मत प्राप्त गरे भने अधिकारीले ११६ मत प्राप्त गरे । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सहकोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।

यस्तै संघको खुुला सदस्यमा सहदेव उप्रेती २१८ं, सञ्जय न्यौपाने १८५, शिवलाल ढकाल १७१, प्रकाश तिवारी १६८, दीपक अधिकारी १५९, विष्णुप्रसाद लामिछाने १४५, दीपक पाठक १३९ र पीताम्बर बाँस्तोला १३७ मत ल्याएर विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेद्ववारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भएका थिए । यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेद्ववारी दिएकी अनुजा धितालले उम्मेद्ववारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।
निर्वाचनमा कुल २७८ मत खसेको छ । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।