देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुँजी बलियो बनाउन मर्जर विकल्प

देशान्तर

काठमाडौं । नेपालमा बैंकिङको क्षेत्रको नाफामा गिरावट आएपछि बैंकहरूले धमाधम आफ्नो कर्जा नीतिलाई परिमार्जन गर्न थालेका छन् । तर यहीबेला राष्ट्र बैंकले कर्जा नीतिमा कडिकडाउ नीति अख्तियार गरेपछि कर्जा प्रवाहको झन्झन् खुम्चिँदै गएको छ । यही मेसोमा केही बैंकहरूले मर्जर र एक्वेजिसिनको अभियानलाई अघि बढाएका छन् ।

यसै क्रममा कुमारी बैंकले ‘ख’ वर्गको देव विकास बैंकलाई गाभ्ने भएको छ । दुवै संस्थाबीच हालै समझदारी भएको छ । कुमारी बैंकको १०० रुपैयाँ प्रतिकित्ता बराबर देव विकास बैंकको ८६ रुपैयाँ हुनेछ । कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रुपैयाँ छ । कुमारी बैंकले यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभिसकेको छ ।

पछिल्लो समय कुमारीसँग अरू वाणिज्य बैंक मर्ज हुने चर्चा थियो । केही ठूला वाणिज्य बैंकहरूले नै गाभ्ने चर्चाका बीच कुमारीले देव विकास बैंकलाई प्राप्ति गर्न लागेको हो । देव विकास बैंक पनि मर्जर हुँदै अगाडि बढेको विकास बैंक हो ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई गाभ्ने भएको छ । केही समयअघि समस्याग्रस्त संस्थाबाट मुक्त भएको सिटी एक्सप्रेसलाई नयाँ समूहले किनेर सुधार गर्दै लगेको थियो । बैंक र फाइनान्सबीच एक्वायरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मर्जरमा जाँदा सरकारले कर्पोरेट करमा छुट दिने स्किम ल्याएको छ । स्किमको लाभ उठाउनका लागि पनि बैंकले फाइनान्स किन्न लागेको हो ।

यसबाहेक फाइनान्सले काठमाडौंमा करिब एक दर्जन शाखा खोल्दैछ । गाभिएपछि बैंकलाई शाखा सञ्जालमा पनि फाइदा पुग्ने जनाइएको छ । यद्यपि फाइनान्सको खराब कर्जा केही बढी छ । धितोसमेत भएकाले खराब कर्जा उठाउन समस्या भने छैन । प्राप्ति समझदारी लगत्तै फाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

यतिमात्रै नेपाल इन्भेष्टमेन्ट बैंकले अब ‘बिग मर्जर’ गर्ने योजना अघि सारेको छ । बिग मर्जर गर्ने घोषणा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका छन् । गत सोमबार बैंकको वार्षिक साधारणसभामा पाँडेले बिग मर्जर नगरी सुख नभएको बताए । अहिलेकै जस्तो तरिकाले चल्दा बैंकहरूले विगतको जस्तो लाभांश आगामी दिनमा बाँड्न नसक्ने तर्क दिँदै पाँडेले भने, ‘अब एक्लै हिँड्दा खर्चले पनि धान्न सक्दैन । मर्जरमा जानुपर्छ ।’

पाँडेले साधारणसभामा बिग मर्जरको चर्चा मात्रै गरेका होइनन्, बैंकले तीनवटा बैंकसँग कुराकानी थालिसकेको छ । राष्ट्र बैंकको सुझाव र बैंकको आफ्नै बाध्यताका कारण पनि इन्भेष्टमेन्ट बिग मर्जरमा जान खोजेको हो । राष्ट्र बैंकले इन्भेष्टमेन्टलाई हिमालयन बैंकसँग मर्ज गर्न सुझाब दिँदै आएको छ । इन्भेष्टमेन्ट जस्तो बैंकले अर्को संस्था लिएर आफ्नो नीतिलाई सघाइदिओस् भन्ने राष्ट्र बैंकको चाहना पनि छ । सबै विषयलाई ध्यानमा राखेर इन्भेष्टमेन्ट बैंकले चाँडै नै अर्को ‘क’ वर्गको बैंकलाई गाभ्ने योजना सार्वजनिक गरेको हो ।

बैंकका संस्थापक सेयरधनी बीचको ‘इगो’ ले गर्दा मर्जर हुन नसकेको भन्दै पाँडेले भने, ‘यो मेरो बैंक, यो मेरो बिमाकम्पनी भन्ने भावनाले मर्जरको काम अगाडि बढ्न नसकेको हो । तर मेरो चाहाना मर्जर हो ।’ उनले भने– सबैको लगातार खर्च बढिरहेको छ । यसमा खेल्ने ठाउँ छैन । एकै ठाउँमा सबैको शाखा र एटीएम छन् । हेर्नुस् त एउटै ठाउँमा १० वटा एटीएम छन् । यसले खाली एटीएम कम्पनीलाई मात्रै धनी बनाउने काम भइरहेको छ ।

बैंकिङ क्षेत्रमा नयाँनयाँ कुरा आइरहेको छ । सूचना प्रविधि (आईटी) मै धेरै खर्च गरिरहनु परेको छ । आईटीसँग सम्बन्धित आपराधिक घटना भइरहेको छ । यसमा खर्च नगरी सुखै छैन । त्यसैले मर्जरमा गएर ठूलो हुँदा खर्च कम हुन्छ, चाहिँदो ठाउँमा लगानी बढाउन सकिन्छ ।

‘मर्जरमा जाने हो भने मलाई अध्यक्ष पद पनि चाहिँदैन । म अध्यक्ष हुन्छ भनेर अगाडि बढ्यो भने कहिले पनि मर्जर हुँदैन । बरु म सञ्चालक सदस्यमै बसुँला । म सेयरधनीहरूको स्वास्थका लागि काम गर्ने मान्छे हुँ,’ उनले भने । बैंकको साधारणसभाले साढे ८ प्रतिशत नगद लाभांश साढे १० प्रतिशत बोनस सेयर पारित गरेको छ । साधारणसभाले मर्जरको आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।

यसैगरी सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई एक्विजिसन गर्ने भएको छ । दुई बैंकबीच एक्विजिसनका लागि गत सोमबार सहमति भयो । सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डे र सहयोगीका तर्फबाट मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरे ।

दुवै बैंकले आफ्नो विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेर राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्ने बताइएको छ । बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । सहयोगी बैंकलाई प्राप्तिपछि सिटिजन्सको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ र ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा संख्या ९९ पुग्नेछ । सहयोगी बैंकका सय कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउनेछन् । एक्विजिसनपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड पुग्नेछ ।

यता नबिल बैंकले पनि मर्जमा जाने संकेत गरेको छ । बैंकको ३५औं वार्षिक साधारणसभामा बोल्दै सेयरधनीहरूले एउटा सानो तर राम्रो बैंकलाई गाभ्न सुझाव दिएका छन् । ‘पछिल्लो समय बैंकहरू ठूला भए पनि बलिया हुन सकेका छैनन् । ती बैंक बलिया हुनुभन्दा अगाडि आफू पनि अझ ठूलो र बलियो हुन आवश्यक छ,’ एक सेयरधनीले भने, ‘बलिया छैनन् भन्दा भन्दै उछिनेको पत्तो नपाइने हुँदा यस विषयमा बैंकले विचार गर्न जरुरी छ ।’

लगानीकर्ताको गुनासो सम्बोधन गर्दै अध्यक्ष शम्भुप्रसाद पौड्यालले आवश्यक परेका खण्डमा मात्रै अर्को संस्था खोज्ने प्रतिक्रिया दिए । उनले भने ‘सञ्चालक समितिभित्र पनि कुनै एक संस्थालाई भित्र्याउने या नभित्र्याउने विषयमा छलफल भएको छ तर टुंगो लागेको छैन ।’ अधिकांश लगानीकर्ताहरूले शाखा विस्तारसँगै आफ्नै पुँजीबाट बैंकलाई बलियो बनाउन सुझाव दिएका थिए । यस्तो सुझावलाई पनि पौडेलले सम्बोधन गर्दै भने ‘आवश्यक प¥यो भने जगेडा कोषबाट बोनस सेयर दिएर भए पनि पुँजी बढाउने विकल्प हामीसँग छ ।’