देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीलाई एकताबद्ध गर्ने मूल दायित्व पार्टी सभापतिकै हो

देशान्तर

प्रजातान्त्रिक विचार समाज प्रजातन्त्रमा आस्था राख्ने संघसंस्थाहरूलाई एकीकृत गर्दै प्रजातान्त्रिक विचारलाई प्रवद्र्धन गर्न र नेपाली कांग्रेसलाई वैचारिक रूपमा सुझाव सल्लाह दिन २०५१ सालको कठिन परिस्थितिमा पार्टी सभापतिको विशेष उपस्थितिमा स्थापना भएको संस्था हो । समाजको स्थापनाकालदेखि नै प्रजातान्त्रिक विचार राख्ने व्यक्ति र संस्थाहरूको साझा चौतारीको रूपमा यसलाई स्थापित गर्दै प्रजातान्त्रिक विचार प्रवद्र्धन गर्न विचार समाज निरन्तर क्रियाशील छ ।

नेपालको राजनीति यतिबेला विशेष अवस्थाबाट गुज्रिरहेको छ । कम्युनिस्ट सरकारबाट लोकतान्त्रिक मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । जनताको ठूलो मत प्राप्त गरी बनेको कम्युनिस्ट नेतृत्वको दुई तिहाइ बहुमतको सरकारको मूलभूत दायित्व संविधान कार्यान्वयन र जनअपेक्षा अनुरूप काम गर्नुथियो । तर यतिबेला सरकारले जनतालाई परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न त सकिरहेको छैन नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा समेत पूर्णतः असफल भएको छ । विभिन्न कोणबाट लोकतान्त्रिक उपलब्धिलाई कमजोर बनाउने षड्यन्त्रका तानावाना बुनिन थालिएका छन् त्यसको नेतृत्व स्वयं वर्तमान कम्युनिस्ट सरकारले गरेको छ । जुनसुकै कोणबाट जोसुकैले गरेता पनि त्यस्ता गतिविधिले अन्ततः त्यसले लोकतन्त्र र विकासका लागि नै बाधा पुर्‍याउँछ । यस अवस्थामा निर्वाचन परिणामले प्राविधिक रूपमा प्रतिपक्षमा रहेता पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयन गर्नलाई राजनीतिक रूपमा नेपाली कांग्रेसको नै मूल जिम्मेवारी हो । तर, विडम्बना यतिबेला नेपाली कांग्रेस आफैंभित्र अल्मलिएको छ । एकताबद्ध र बलियो भएर कम्युनिस्ट सरकारका विरुद्ध जनता र लोकतन्त्रका लागि रक्षाकवच भएर उभिनुपर्ने कांग्रेस घरभित्रको खिचातानीमा अल्झिएको छ । यो अलमल रहिरहँदासम्म कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन । अतः नेपाली कांग्रेस र कांग्रेसलाई माया गर्ने आमपंक्तिमा छाएको निराशा बदल्न पार्टी नेतृत्वले अविलम्ब अग्रसरता लिन सकोस् भन्ने ध्येयले प्रजातान्त्रिक संघ, संस्थाका पूर्वअध्यक्षहरूको छलफलवाट प्राप्त सुझावलाई समेत समेटेर समसामयिक विषयमा यो ध्यानाकर्षण गराएका छौं ।

१. सरकारले संविधान र संघीयताको मर्मविपरीत दर्जनौं लोकतन्त्र विरोधी विधेयकहरू संसद्मा पेस गरेको छ । संसद्मा दर्ता भएका मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवासम्बन्धी विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयक, लोकसेवा आयोगसम्बन्धी विधेयक, शान्ति सुरक्षासम्बन्धी विधेयक, गुठी विधेयक, निजामती सेवासम्बन्धी विधेयक, विश्वविद्यालय तथा शिक्षा, वन, वातावरणलगायतका दर्जनौं विधेयक र बनाइएका ऐन, कानुन र नियमहरूमा संविधान र संघीयताको मर्ममा नै प्रहार गर्ने गरी प्रावधानहरू ल्याइएका छन् । यस अवस्थामा कांग्रेसले जुन ढंगले सशक्त प्रतिवाद गर्नुपथ्र्याे त्यो गर्न सकिरहेको छैन । यसतर्फ पार्टीले गम्भीर रूपमा सोच्नु आवश्यक छ ।

२. सरकार शान्ति सुरक्षाको सन्दर्भमा अत्यन्त गैरजिम्मेवार देखिएको छ । संस्थागत र नीतिगत भ्रष्टाचार बढ्दो छ, शक्ति सन्तुलन राख्न राज्यका सवै संरचनाहरूमा नियन्त्रण गर्ने प्रयास भइरहेको छ । यस अवस्थामा सरकारको गैरजिम्मेवार र निरंकुश रवैयाविरुद्ध कांग्रेस एकताबद्ध रूपमा उभिनु पर्दछ ।

३. पछिल्लो समय सार्वजनिक भएको गोकर्णस्थित नेपाल ट्रस्टको जग्गा प्रकरण र त्यसको लागि सरकारले गरेको नीतिगत र संरचनागत फेरबदलले सरकारको असली नियत छर्लंग भएको छ । कुनै एउटा निजी कम्पनीलाई नेपाल ट्रस्टको सम्पत्ति दिन सरकारले नियोजित र शृंखलाबद्ध रूपमा कानुन संशोधन, संरचना परिवर्तन गर्दै सरकार, संसद्लगायत सबै पक्षलाई दुरुपयोग गरेको देखिन्छ । यो एउटा उदाहरण मात्र हो । सरकारले सबैैतिर सार्वजनिक, सरकारी जग्गा कब्जा गर्ने, त्यसको सहजताका निम्ति संरचनागत र नीतिगत प्रावधानहरू बदल्ने र आफ्नो नजिकका व्यक्ति र संस्थालाई पोस्ने जुन प्रवृत्ति देखिएको छ यो घातक छ । अतः नेपाली कांग्रेसले गोकर्ण प्रकरणलगायत नेपाल ट्रस्टको सम्पत्तिको दुरुपयोग रोक्न, अन्य क्षेत्रमा सार्वजनिक जग्गा दोहन गर्ने सरकारी रवैयाविरुद्ध खरो रूपमा प्रस्तुत हुन संसद् र संसद् बाहिर थप सशक्त र क्रियाशील हुनुपर्दछ ।

४. सरकारले बहुमतको बलमा राज्यका विभिन्न निकाय, संस्थान, विश्वविद्यालय, प्रतिष्ठानलगायतमा राजनीतिक पूर्वाग्रह राखेर नियुक्ति गर्न थालेको छ । लोकतन्त्रमा आस्था राखेकै आधारमा असहज ठाँउमा पदस्थापन गर्ने र विभिन्न किसिमका अफ्ठ्यारा सिर्जना गरी कमजोर बनाउने र मनोबल गिराउने प्रयास सरकारवाट भइरहेको छ । सबै संरचना कब्जा गर्ने मनसायका साथ गरेका यस्ता नियुक्तिका सन्दर्भमा पार्टीको स्पष्ट धारणा र अडान आवश्यक छ भने यी विषयमा निरन्तर लोकतान्त्रिक शुभेच्छुक संस्थामार्फत संवाद गर्ने वातावरण निर्माण गर्नुपर्दछ ।

५. नेपाली कांग्रेस पछिल्ला दिनमा जनताका मुद्दावाट टाढा हुँदै गएको छ । समाजमा ज्वलन्त रूपमा रहेका सामाजिक मुद्दाहरू पहिचान गर्दै कांग्रेसले त्यसको नेतृत्व गर्नुपर्छ । पार्टीले गरेका राम्रा कामहरूको सही सम्प्रेषण हुन नसक्नु र कम्युनिस्टले भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई रोक्न नसक्दा आम जनतामा सही कुराको सम्प्रेषण हुन सकेको छैन । मतदाताको सोच, चेतना र भावनालाई पार्टीको निर्णयले प्रभावित गरेन भने लोकतान्त्रिक पार्टीको जीवन्तता जोखिममा पर्नेछ । पार्टीले आफ्ना कार्यक्रहरू तय गर्दा यसतर्फ ध्यान दिनुपर्दछ ।

६. पार्टीको क्रियाशील सदस्यमात्र होइन आम मतदातासँग बढीभन्दा बढी जोडिने संरचना बनाउन पर्नेमा पार्टीको विधानमा बन्द खालको संरचना बनाउने प्रयास भएको छ । विभिन्न क्षेत्रमा क्रियाशील लोकतन्त्रमा विश्वास राख्ने व्यक्तिहरू पार्टीमा जोडिने वातावरण निर्माणको लागि पार्टीको संरचनालाई खुला गर्नु पर्दछ ।

७. पार्टीले धारणा बनाउँदा लोकतन्त्रमा आस्था राख्ने विभिन्न क्षेत्रका विषय विज्ञ र लोकतान्त्रिक शुभेच्छुक संस्थाहरूसँग विषयगत रूपमा निरन्तर छलफल र संवाद गर्ने परिपाटी गर्नुपर्दछ ।

८. पार्टीका भ्रातृसंस्थाहरूको नियमित रूपमा नेतृत्व चयन हुन नसकेको अवस्था एकातिर छ भने, शुभेच्छुक संस्थाहरूको निर्वाचनमा पार्टी नेतृत्वको बेमेलका कारणले कतिपय अवस्थामा पराजय भोग्नुपर्ने अवस्था सिर्जना गरेको छ । यस विषयलाई पार्टीले गम्भीर रूपमा लिँदै आवश्यक समन्वय र सहजीकरण गर्नु पर्दछ ।

निश्चय नै माथि उल्लेखित विषयमात्र सम्पूर्ण होइनन् । यी कुरामात्रै अवलम्बन गर्न सक्दा पनि पार्टी सञ्चालनमा महत्वपूर्ण सुधार हुने अपेक्षा राखेर यो ध्यानाकर्षण पत्र पेस गरेको छौं । बहुमतको नाममा विद्यमान कम्युनिस्ट सरकारले गरेका लोकतन्त्र र संविधान विरोधी गतिविधिहरूको विरोध गर्दै गर्दा नेपाली कांग्रेस आफैं आन्तरिक द्वन्द्वमा अल्झेर पार्टी भित्र एकताबद्ध र सहमति भएको सन्देश दिन सकेन भने र आफैंले न्यूनतम लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेन भने कांग्रेसको उपस्थिति कमजोर देखिन्छ । तसर्थ, पार्टीको प्रमुख नेतृत्वको नाताले पार्टीलाई एकताबद्ध गर्ने मूल दायित्व पार्टी सभापतिकै हो । गलत बाटोमा हिँडिरहेको सरकारलाई सच्याउन, संविधान र संघीयताको मर्म अनुरूप नीति कानुन निर्माणमा अग्रसरता लिन र पार्टीलाई संसद् र संसद् बाहिर सशक्त र गतिशील बनाउन तथा संगठनलाई ऊर्जावान् बनाउन सभापतिको रूपमा अविलम्ब पहल कदमी लिनु हुनेछ भन्ने अपेक्षा लिएका छौं ।

(लोकतन्त्रवादी बुद्धिजीवीहरूको साझा संस्था प्रजातान्त्रिक विचार समाजले देशको समसामयिक अवस्था तथा नेपाली कांग्रेसभित्रको विवाद तथा चुनौतीहरूको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यही पुस २५ गते शुक्रबार बुझाएको ध्यानाकर्षण पत्र हो यो । संस्थाका अध्यक्ष डा.केदारनरंसिह केसीसहितको टोलीले संस्थाको तर्फबाट देउवालाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।)