देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

देशान्तर

काठमाडौं । एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएसको प्रयोग गरिन्छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ/संस्थाहरुका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ ।

हाल नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि वेबमा आधारित बल्क एसएमएस सुविधा उपलब्ध गराइरहेको छ । संघ/संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस  सेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ ।

यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ ।

ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले आपूmले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ ।

नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ-संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ/संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।