देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल उद्योग वाणिज्य महासंघको चुनावको चटारो

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ गते हुने चुनावको सरगर्मी ह्वात्तै बढेको छ । महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरू आआफ्नो प्यानलसहित मैदानमा उत्रिएपछि उद्योगी/व्यवसायीहरूलाई चुनावी रन्कोले छोएको हो । वरिष्ठ उपाध्यक्ष पदका लागि उद्योगी शेखर गोल्छा र किशोर प्रधान आआफ्नो प्यानलसहित मैदानमा उत्रिएका छन् ।

प्रधानले केही समयअघि विराटनगरबाट आफ्नो उम्मेदवारी घोषणा गरेपछि गोल्छाले पनि गत आइतबार बुटवलबाट प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरे । दुवै मैदानमा उत्रिएपछि मत तान्नलाई यतिबेला दुवै पक्ष तल्लिन भएर लागेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारमध्ये गोल्छाको अवस्थाको सुदृढ देखिएको छ । गोल्छाले उम्मेदवारी घोषणाकै क्रममा ५५ जिल्ला अध्यक्षहरूको समर्थन जुटाएका छन् । उनको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसियट उपाध्यक्षमा चन्द्र ढकाल, वस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । एसोसियट उपाध्यक्षका उम्मेदवार ढकाल भने निर्विरोध चयन हुने सम्भावना बढेको छ । किशोर प्रधानको प्यानलले पनि ढकाललाई नै समर्थन दिने सम्भावना रहेको बताइन्छ ।

गोल्छालाई वर्तमान वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष भवानी राणाको समर्थन रहेको छ । त्यसैगरी पशुपति मुरारका पनि गोल्छाकै पक्षमा उभिएका छन् । यद्यपि राणा र मुरारकाले गोल्छालाई सर्वसम्मत चयन गर्ने प्रयत्न गरिरहेको बताइन्छ । चुनावी प्रतिस्पर्धाभन्दा वरिष्ठ उपाध्यक्ष पनि निर्विरोध रूपमा चयन गर्न सकेमा महासंघको एकता मजबुत हुने उनीहरूको बुझाइ छ । त्यसैले गोल्छा र प्रधान दुवै पक्षमा लागेका महासंघका पूर्वअध्यक्षहरूलाई मिलाउने कोसिसमा राणा र मुरारका लागिपरेको स्रोतले बतायो । चुनाव हुने स्थितिमा भने दुवैजना गोल्छाकै पक्षमा उभिने संकेत दिइसकेका छन् । उम्मेदवारी घोषणाकै क्रममा गोल्छाले आफ्नो उम्मेदवारी अध्यक्षको रूपमा राणाको कार्यकाल सफल बनाउनको लागि भएको उद्घोष गरेका छन् ।

नेपालमा उद्योग खोल्ने पहिलो समूह गोल्छा समूह भएकोले पनि शेखरको पक्षमा बलियो मत रहेको बुझाइ आम उद्योगी व्यवसायीहरूको रहेको छ । प्रधानको समूहमा धेरैजसो नेवार समुदायका उद्योगीहरूको साथ रहेको देखिन्छ भने गोल्छाले सबै पक्षलाई समेट्ने प्रयत्न गरिरहेका छन् । उनको पक्षमा मारवाडी र नेवार दुवै समुदायका बलिया व्यक्तिहरूको समर्थन रहेको पाइएको छ । उनको समर्थनमा यतिबेलासम्म पूर्वअध्यक्ष चण्डी ढकाल, रविभक्त श्रेष्ठ खुलिसकेका छन् । यसैगरी युवा उद्यमीमाझ लोकप्रिय अञ्जन श्रेष्ठले पनि गोल्छाकै टिमलाई साथ दिने सम्भावना बढेको छ । उनी गोल्छाको टिमबाट सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेको स्रोतले बतायो । बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्ववारी घोषणासभामा तीन सयभन्दा बढी व्यवसायहरू उपस्थित थिए । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरू उम्मेद्ववारी घोषणासभामा उपस्थित भएका थिए ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी किशोर प्रधानले गत फागुन २२ गते विराटनगर पुगेर आफ्नो उम्मेद्ववारी घोषणा गरेका थिए । निकै अघि नै आफ्नो उम्मेदवारी घोषणा गरे पनि उनले अहिलेसम्म पनि आफ्नो प्यानललाई पूर्णता दिन भने सकेका छैनन् । तीन महत्वपूर्ण पदाधिकारी र कार्यसमितिका केही सदस्यको उपस्थिति बिनानै उद्योग संगठन मोरङले पूर्वअध्यक्ष किशोर प्रधानलाई नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवार घोषणा गरेको थियो । उनलाई महासंघका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्यले साथ दिएका छन् । म्याग्दीबाट प्रतिनिधित्व गरेर महासंघको केन्द्रीय सदस्य बनेका प्रमोद श्रेष्ठलाई जिल्ला उद्योग वाणिज्य संघको उपाध्यक्ष उम्मेदवार घोषणा गरिएको छ । यसबाहेक क्षेत्र नम्बर ४ बाट बागलुङका निर्माणकुमार श्रेष्ठलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ ।