देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली जनसंघर्षको इतिहासले सधैं सम्झिरहने नेता

देशान्तर

चन्द्रशमशेर जबराले आफ्नो शासनकालमा राणाहरूलाई ए, बी र सी तीन वर्गमा विभाजित गरे । उनले ए वर्गमा रहेकाहरूले मात्र उत्तराधिकारी वा ‘श्री ३ महाराज’ बन्ने तहमा पदोन्नति हुँदै जान पाउने, बी र सी वर्गमा रहेका राणाहरूलाई त्यो अवसर प्राप्त नहुने गरेका थिए । चन्द्रशमशेरको निधनपछि उनका सहोदर भाइ भीमशमशेर वि.सं. १९८६ को मंसिरमा श्री ३ महाराज बने । राणाकालको यो सर्वोच्च पदमा आसीन हुनेबित्तिकै भीमशमशेरले चन्द्रशमशेरले निर्धारण गरेको राणाहरूको वर्ग विभेदको अन्त्य गराएर सबै राणाहरूलाई समान रूपले पदोन्नतिको क्रममा रहने गराए ।

वि.सं. १९८९ को भदौ महिनामा भीमशमशेरको निधन भयो । जुद्धशमशेर श्री ३ महाराज हुन आइपुगे । उनले आफू श्री ३ भएको डेढ वर्ष पुग्दा नपुग्दै वि.सं. १९९० को चैत्र महिनामा बी र सी वर्गमा परेका सबै राणाहरूलाई पदको सबै तहबाट अपदस्थ गरे । उनले माथिल्लो तहमा रहेका सी वर्गका सबै राणाहरूलाई राजधानी उपत्यकाबाट निस्काशित गरे । भीमशमशेरको छोरा जनरल हिरण्यशमशेर, उनका छोरा जनरल सुवर्णशमशेर, हिरण्यशमशेरका भतिजा महावीर शमशेरहरू त्यसपछि भारतको कलकत्ता गएर त्यहाँ व्यापार व्यवसाय प्रारम्भ गर्नुभयो । त्यसबाट आर्जित सम्पत्तिको धेरै हिस्सा नेपाल राष्ट्र र नेपाली जनताको हितमा उपयोग गर्ने उहाँहरूको लक्ष्य थियो । त्यसको निमित्त निरंकुशताको विरोधमा उहाँहरूले प्रजातन्त्रको लडाइँ लड्ने योजना बनाइरहनु भएको थियो । त्यो ए वर्गमा परेका राणाहरूको विरोधमा प्रतिशोधको लडाइँ थिएन, नेपाल र नेपाली जनताको अधिकार रक्षामा आधारित लडाइँ थियो । त्यसैले वि.सं. २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालमा बीपी कोइरालाले सुवर्णशमशेर, महावीर शमशेरहरूसित भेट्नु भयो । उहाँहरूसित बीपीले नेपालमा प्रजातन्त्रको स्थापना गर्ने मूलभूत उद्देश्यका साथ गठन हुन लागेको पार्टी– नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध हुन आग्रह गर्नुभयो ।

देशमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले नयाँ पार्टी गठन हुन लागेकोमा सुवर्णशमशेरले खुसी प्रकट गर्नुभयो र २५ हजार चन्दा दिनुभयो । तर उहाँ र उहाँका निकटस्थ व्यक्तिहरू कोही पनि नेपाली राष्ट्रिय कांग्रेसमा समावेश हुनु भएन ।

बीपी कोइरालालगायत नेपाली राष्ट्रिय कांग्रेससित संबद्ध सबै नेताहरूले भारतको स्वतन्त्रताको संघर्षमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँहरू महात्मा गान्धीको नीतिबाट प्रभावित हुनुहुन्थ्यो र असिंहसात्मक पद्धतिमा विश्वास राख्नु हुन्थ्यो । राणाशासनलाई पनि अहिंसात्मक आन्दोलनबाट परास्त गर्न सकिन्छ भन्ने उहाँहरूको धारणा थियो ।

बेलायतजस्तो नियम–कानुनको उचित तवरले पालना हुने प्रजातान्त्रिक परिपाटी कायम भएको मुलुकमा मात्र अहिंसात्मक आन्दोलनको उपादेयता हुन्छ । तर नेपालजस्तो निरंकुश शासन कायम भएको, कुनै नियम–कानुन नभएको, ‘श्री ३ महाराज’को हुकुम नै सर्वोपरि कानुन मानिने मुलुकमा अहिंसात्मक आन्दोलन सर्वथा निरर्थक हुन्छ भन्ने सुवर्णशमशेरको धारणा थियो । त्यसैकारण उहाँहरू नेपाली राष्ट्रिय कांग्रेसमा संलग्न हुनु भएन ।

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको तुरुन्तै पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा शान्तिपूर्ण तवरले मजदुर आन्दोलन प्रारम्भ भयो । सरकारले त्यसलाई अत्यन्त कठोरताका साथ दमन गर्यो । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गरेर काठमाडौं ल्याइयो । त्यसको विरोधमा मजदुरहरूले जुलुस प्रदर्शन गरे । निहत्था मजदुरहरूको शान्तिपूर्ण जुलुसमा सेनाले अत्यन्त बर्बर तवरले गोली हान्यो । त्यसबाट घटनास्थलमै मजदुर नेता तुलाराम तामाङ मारिए । अरू अनेकौं सख्त घाइते भए । आमा दिव्या कोइराला तथा नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत दर्जनौंलाई पक्राउ गरेर धनकुटा जेलमा राखियो । त्यसको विरोधमा नेपाली राष्ट्रिय कांग्रेसले २००४ को वैशाखदेखि राजधानी उपत्यकालगायत देशका विभिन्न भागमा शान्तिपूर्ण सत्याग्रह आन्दोलन प्रारम्भ गर्यो । त्यसलाई पनि राणाहरूले अत्यन्त कडाइ र क्रूरताका साथ दमन गर्न खोजे ।

सुवर्णशमशेरकै विशेष सक्रियतामा वि.सं. २००५ मा ‘नेपाल प्रजातन्त्र कांग्रेस’को स्थापना भयो । सशस्त्र संघर्षद्वारा एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पार्ने यसको मूल उद्देश्य थियो । यसले भूतपूर्व सैनिकहरूको एक बेग्लै लडाकु दस्ता ‘जनमुक्ति सेना’ तयार पार्ने र हतियार संकलन गर्ने कार्यलाई प्राथमिकता दिएको थियो ।

वि.सं. २००५ मा बीपी कोइरालालाई काठमाडौंमा पक्राउ गरियो । थुनामा राख्दा उहाँमाथि गरिएको अत्यन्तै अमानवीय एवं बर्बर व्यवहार तथा नेपाली राष्ट्रिय कांग्रेसका कार्यकर्ताहरू माथिको कठोर यातना इत्यादिबाट बीपी कोइराला पनि राणातन्त्रलाई समाप्त पारेर देशमा प्रजातन्त्र स्थापना गर्न सशस्त्र क्रान्ति मात्र एक उपयुक्त साधन हुन सक्छ भन्ने कुरालाई महसुस गर्न लाग्नु भएको थियो । यही वस्तुस्थितिले निरंकुश राणातन्त्रको विरोधमा गठन भएका यी दुई पार्टी– नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसलाई आपसमा नजिक पार्दै लग्यो । यी दुई पार्टीको एकीकरण गरेर प्रजातान्त्रिक संघर्षलाई सशक्त ढंगले अगाडि बढाउन यी दुवै पार्टीका नेताहरूको बीचमा लामो छलफल भयो । वि.सं. २००६ को चैत २७ देखि कलकत्तामा यी दुवै पार्टीका कार्यकर्ताहरूको संयुक्त अधिवेशन बोलाइयो । त्यही अधिवेशनले यी दुई पार्टीको एकीकरण गरेर विधिवत्– ‘नेपाली कांग्रेस’को गठन गर्यो । यो एकीकरणमा बीपी कोइराला र सुवर्णशमशेरको सर्वाधिक योगदान रहेको थियो ।

एकीकरण पछि नेपाली कांग्रेस सशस्त्र क्रान्तिको तयारीमा लाग्यो । तर हतियार संकलनको कार्य निकै कठिन थियो । यो र जनमुक्ति सेनाको गठनको जिम्मेवारी बीपी कोइराला र सुवर्णशमशेरले वहन गर्नुभएको थियो । २००७ को असोज १० र ११ का दिन भारतको सीमावर्ती स्थान वैरगिनियाँमा नेपाली कांग्रेसले सम्मेलनको आयोजना गर्यो । त्यही सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णयलाई विधिवत् अनुमोदन गर्यो ।

२००७ को कात्तिक २५ र २६ को बीचको मध्यरातमा नेपाली कांग्रेसको जनमुक्ति सेनाले वीरगन्ज कब्जा गरेर जनक्रान्तिको प्रारम्भ गर्यो । देशको सम्पूर्ण भागमा सफलताका साथ सञ्चालन भएको त्यो क्रान्तिले १०४ वर्षसम्म अनेक शोषण र दमन गरेर रहेको निरंकुश राणा शासनको अन्त्य गर्यो ।

नेपाली कांग्रेस सिर्फ राजनैतिक क्रान्तिको सम्बाहक मात्र थिएन, यो आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि हरेक क्षेत्रमा युगान्तकारी परिवर्तनहरू गरेर नेपाललाई समृद्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न चाहन्थ्यो ।

२००७ साल फागुन ७ गते देशमा प्रजातन्त्रको घोषणासँगै कांग्रेस–राणाको संयुक्त सरकार गठन भयो । त्यसमा बीपी कोइराला गृहमन्त्री र सुवर्णशमशेर अर्थमन्त्री हुनुहुन्थ्यो । राणा, राजा र विदेशी शक्तिको परोक्ष तवरको गठबन्धनले नेपाली कांग्रेसका मन्त्रीहरूलाई आफ्नो नीति र कार्यक्रमहरूलाई अघि बढाउन अनेक व्यवधानहरू खडा गरिरहे पनि नेपाली कांग्रेसले त्यो अवधिमा अनेकौ उल्लेखनीय कार्यहरू गर्यो ।

नेपालको वार्षिक आय कति हो, त्यो कुन–कुन स्रोतबाट प्राप्त हुन्छ र के–के मा खर्च हुन्छ भन्ने विषयलाई राणाहरू ‘श्री ३’मा मात्र सीमित रहने एक अति गोप्य विषयका रूपमा लिन्थे । देशमा प्रजातन्त्रको स्थापना पछि सर्वप्रथम २००८ को माघ १९ गते अर्थमन्त्रीको हैसियतबाट सुवर्णशमशेरले नेपालको पहिलो बजेट जनसमक्ष प्रस्तुत गरेर नेपालको अर्थतन्त्रको इतिहासमा एक महत्वपूर्ण दायित्व पूरा गर्नुभएको थियो ।

राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्न पहिले नेपाली कांग्रेसलाई कमजोर पार्नुपर्छ भन्ने सोचका साथ २००८ देखि नै नेपाली कांग्रेसमाथि राजा र बाह्य शक्तिको संयुक्त आक्रमण सुरु भयो । पार्टीका शीर्षस्थ नेता मातृकाप्रसाद कोइराला नै यसमा प्रयोग हुनुभयो । तर बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंहलगायत अन्य धेरैको सक्रिय योगदानले नेपाली कांग्रेस अझ सक्षम हुँदै गयो र राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन गर्ने एक प्रतिबद्ध पार्टीको रूपमा देखा परिरह्यो ।

नेपाली कांग्रेसको छैटौं महाधिवेशन वि.सं. २०१२ को माघ महिनामा वीरगन्जमा सम्पन्न भयो । त्यही महाधिवेशनमा सुवर्णशमशेर नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभयो । त्यही महाधिवेशनको सर्वसम्मतिबाट नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको नीति अवलम्बन गर्यो । २०१३ मा नेपाली काग्रेसले एसियन सोसलिस्ट कन्फरेन्सको सदस्यता प्राप्त ग¥यो । २०१४ देखि नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेसनलसित आबद्ध भयो । यसरी नेपाली कांग्रेसले आफ्नो आयतनलाई बढाएर अन्तर्राष्ट्रिय स्तरसम्म फैलायो ।

२०१२ को साउनमा राजा महेन्द्रले २०१४ को असोजमा आमचुनाव हुने घोषणा गरे । तर उनी चुनाव गराउने पक्षमा किमार्थ थिएनन् । आन्दोलनले मात्र राजालाई चुनाव गराउन बाध्य पार्न सक्छ भन्ने यथार्थलाई नेपाली कांग्रेसले महसुस ग¥यो । आन्दोलनको निमित्त बीपी कोइरालाले नै पार्टीको नेतृत्व ग्रहण गर्न आवश्यक छ भन्ने सोचाइमा सुवर्णजी हुनुहुन्थ्यो । त्यसैले २०१४ को जेठमा उहाँले विराटनगरमा पार्टीको विशेष महाधिवेशन बोलाउनुभयो । त्यही महाधिवेशनको सर्वसम्मतिले बीपी कोइारालालाई पुनः सभापतिमा चयन गर्यो ।

२०१४ को साउनमा नेपाली कांग्रेस, प्रजा परिषद् र नेपाली राष्ट्रिय कांग्रेससमेत तीन पार्टीको ‘प्रजातान्त्रिक मोर्चा’ निर्माण भयो । त्यसले २०१४ को मंसिर २२ देखि देशभरि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्यो । त्यही आन्दोलनले देशभरिका सम्पूर्ण सरकारी संयन्त्रलाई ठप्प पारेर राख्यो । त्यसैले राजा महेन्द्र चुनावको तिथि तोक्न बाध्य भए र २०१४ को पुस १ गते महेन्द्रले– २०१५ को फागुन ७ देखि देशमा आमचुनाव गराउने घोषणा गरे ।

२०१५ को जेठ २ गते सुवर्णशमशेरको अध्यक्षतामा सर्वदलीय मन्त्री परिषद्को गठन भयो । राजा महेन्द्रले फेरि पनि चुनाव हुन नदिने अनेक प्रयत्न र अनेश षड्यन्त्रहरू गरे । तर सुवर्णजी मन्त्रिपरिषद्को अध्यक्ष भएकाले राजाका सबै षड्यन्त्रहरू असफल भए । शान्तिपूर्ण रूपमा २०१५ को फागुन ७ देखि देशमा पहिलो आम चुनाव सुरु भयो । कुल १०९ स्थानमध्ये नेपाली काग्रेसले ७४ स्थानमा विजय हासिल गर्यो । सुवर्णजी बाराको मध्यउत्तर क्षेत्र नं. ५२, पर्साको पूर्व क्षेत्र नं. ५३ एवं गुल्मी दक्षिण–पश्चिम क्षेत्र नं. ९१ समेत तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनु भएको थियो । यी तीनवटै क्षेत्रबाट उहाँ अत्यधिक बहुमतले विजयी हुनुभयो ।

चुनावको सम्पूर्ण नतिजा प्रकाशित भएर नेपाली कांग्रेसले अत्यधिक बहुमत प्राप्त गरेको धेरै समय भइसकेको थियो । तर पनि राजाले नेपाली कांग्रेसलाई सरकार गठन गर्न आह्वान गरेका थिएनन् । उनी बीपीलाई होइन, सुवर्णशमशेरको प्रधानमन्त्रीत्वमा सरकार गठन होस् भन्ने चाहन्छन् भन्ने हल्लाहरू आउन लागेका थिए । तुलसी गिरी र विश्वबन्धु थापा बीपी कोइराला होइन सुवर्णशमशेरले प्रधानमन्त्री बन्नुपर्छ, त्यस स्थितिले मात्र नेपाली कांग्रेस र राजाका बीचमा समन्वय कायम हुन सक्छ भन्ने अभियानमा थिए । उनीहरूले सुशीला कोइराला (बीपीकी धर्मपत्नी)लाई पनि यसमा सहमत गराएका थिए । त्यसैले बीपीले सुवर्णजीसित आग्रह गर्नुभयो– सरकार गठन कार्य ढिला नहोस्, तपाईं प्रधानमन्त्री बन्नुस् । म पार्टीको संगठनमा र सरकारको कार्यमा हमेशा सहयोग पुर्याईरहनेछु ।

तर बीपीको यो आग्रहलाई सुवर्णशमशेरले कदापि स्वीकार गर्नु भएन । उहाँले बीपीलाई भन्नुभयो– नेपालमा पहिलो संसद्को निर्माण भएको छ । यसमा हामीले राजाको चाहनालाई प्रथम प्राथमिकतामा राख्यौं भन्ने सन्देश देशवासीमा गयो भने हामीप्रतिको जनताको विश्वास खण्डित हुन जान्छ । हाम्रै सांसद साथीहरूको मनोवल तल पर्दै जान्छ र त्यसको प्रत्यक्ष असर प्रजातन्त्रमा पर्छ । वास्तवमा यो हामीहरूका बीचमा विभाजन ल्याउने खेल मात्र हो । त्यसैले प्रधानमन्त्रीको पदभार तपाईले नै वहन गर्नुपर्छ ।

त्यसको भोलिपल्ट सुवर्णजीले बीपी कोइराला, सुशीला कोइराला, तारिणीप्रसाद कोइराला र उहाँको धर्मपत्नी रोशा कोइरालासमेतलाई डिनरमा बोलाउनुभयो । तुलसी गिरी र विश्वबन्धुले पार्टीको हित बिपरीत काम गरिरहेको कुरा विस्तृत रूपमा सबैसित त्यो डिनरमा सुवर्णजीले भन्नुभएको थियो ।

वि.सं. २०१६ को वैशाख २१ गते सुवर्णशमशेरकै दरबार, ललिता निवासमा नेपाली काग्रेसको केन्द्रीय कार्यसमिति, संसदीय समिति र प्रतिनिधिसभामा निर्वाचित भएर आएका सदस्यहरूको संयुक्त वैठक बस्यो । एक मात्र विजयी महिला सांसद द्वारिकादेवी ठकुरानीको सभापतित्वमा बसेको संयुक्त बैठकमा सुवर्णशमशेरले नै संसदीय दलको नेतामा बीपी कोइरालाको नाम प्रस्ताव गर्नुभयो । त्यसपछि संसदीय दलको उपनेतामा गणेशमान सिंहले सुवर्णजीको नाम प्रस्ताव गर्नुभयो । त्यसलाई रामनारायण मिश्रले समर्थन गर्नु भएको थियो ।
यसले राजालाई पनि अविलम्ब जननिर्वाचित सरकार गठन गर्न दबाब दियो । २०१६ जेठ १३ गते अपरान्ह ३ बजे बीपी कोइरालाले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको शपथ लिनु भयो । सुवर्णशमशेर त्यो मन्त्रिमण्डलको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र रामनारायण मिश्रसमेत ६ जना मन्त्री हुनुहुन्थ्यो । ११ जना उपमन्त्रीहरू थिए ।

सुवर्णशमेशरले अर्थ, आयकर र योजना विकास मन्त्रालयको कार्यभार सम्हाल्नु भएको थियो । सुवर्णशमशेरले नै २००८ मा नेपालको पहिलो बजेट प्रस्तुत गर्नुभयो । त्यसपछि लामो समयसम्म कुनै पनि सरकारको अर्थमन्त्रीले देशको बजेट सार्वजनिक गरेनन् । २०१५ मा सुवर्णशमशेर मन्त्रिपरिषद्को अध्यक्ष तथा अर्थमन्त्री हुँदा उहाँले नै दोस्रो पटक २०१५ साल भदौ ३ का दिन रेडियो नेपालद्वारा वार्षिक बजेट सार्वजनिक गर्नुभएको थियो । उहाँले नै २०१६ को साउन २५ गते जननिर्वाचित सरकारको पहिलो बेजट संसद्मा पेस गर्नुभयो । यो आर्थिक वर्ष २०१६/१७ को वार्षिक बजेट थियो । त्यही बजेटदेखि अर्थ तथा उपप्रधानमन्त्री सुवर्णशमशेरले प्रत्येक वर्षको साउन १ गतेलाई नयाँ आर्थिक वर्ष मान्ने नीति अपनाउनु भयो ।

यो बजेट पूर्णतया समाजवादी अवधारणामा आधारित थियो । यसले मुलुकको सर्वाङ्गीण हित, विपन्न वर्गको समुचित उत्थान एवं विकास तथा निर्माणलाई मुख्य लक्ष्य राखेर अनेक महत्वपूर्ण कार्यक्रमहरूलाई अघि ल्याएको थियो । यो बजेटले कृषि, स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको थियो । यातायात, सिँचाइ खानेपानीको व्यवस्था गरेको थियो । वनको संरक्षण तथा स्थानीय विकासका अरू कतिपय कार्यहरूलाई यो बजेटले उचित ध्यान दिएको थियो । नेपालको अर्थतन्त्रको इतिहासमा सर्वप्रथम यही बजेटले सम्पत्ति माथि कर लगाएको थियो । यो प्रगतिशील कर प्रणाली थियो । राजा, रानी र युवराजको सम्पत्तिमा बाहेक शाही परिवारको सम्पत्तिमा पनि कर लाग्ने व्यवस्था गरेको थियो ।

त्यसबेला देशको अधिकांश भागमा भारतीय रुपैयाँ (भारु)को प्रचलन थियो । भारुको प्रचलन वा द्वैध मुद्रा प्रणालीलाई यही बजेटले अन्त्य ग¥यो र देशभरि नेपाली रुपैयाँ (नेरु)को मात्र प्रचलन गर्न पाउने प्रबन्ध ग¥यो । द्वैध मुद्राको प्रचलनले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो । त्यसले नेपाली मुद्राको क्रयशक्ति कमजोर हुँदै गएको थियो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दरमा परिन अस्थिरता देखा परिरहेको थियो । २०१६ को चैत ३० देखि अर्थ तथा उपप्रधानमन्त्री सुवर्ण शमशेरले नै भारु १०० को नेरु १६० विनिमय दर कायम गर्नुभयो । आजपर्यन्त नेपालमा यही दर कायम छ ।

२०१७ को असार २३ गते सुवर्णशमशेरले नै आर्थिक वर्ष २०१७/१८ को वार्षिक बजेट पनि संसद्मा पेस गर्नुभएको थियो । यो बजेटले पूर्ववर्ती बजेटको नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिँदै देशको उत्थानमा महत्वपूर्ण अध्यायहरू थपेको थियो ।

नेपाली कांग्रेसको जननिर्वाचित सरकार गठन भएपछि २०१६ को असार २७ गते त्रिभुवन विश्वविद्यालय ऐनको तर्जुमा गरियो । सुवर्णशमशेरले त्रिभुवन विश्वविद्यालयको पहिलो उपकुलपतिको जिम्मेवारी लिएर त्यसै वर्षदेखि विश्वविद्यालयको पठनपाठन प्रारम्भ गराउनुभयो ।

राजा महेन्द्र जननिर्वाचित सरकारको काममा बाधा दिन अनेक षड्यन्त्रहरू गरिरहेका थिए । उनैले देशको विभिन्न भागमा धार्मिक र जातीय दंगाहरू गराइरहेका थिए । अरू पनि अनेक व्यवधानहरू खडा गराइरहेका थिए । ती व्यवधानहरूको सामना गर्दै, त्यो सरकारले अनेक महत्वपूर्ण कार्यहरू गरेर मुलुकलाई अगाडि बढाइरह्यो । त्यो सरकारले शिक्षा, स्वास्थ्य, कृषि, यातायात, उद्योग, जलविद्युत् आदि हरेक क्षेत्रमा उल्लेखनीय कार्यहरू ग¥यो । यसले प्राथमिक तहमा शिक्षालाई निःशुल्क गर्ने र स्वास्थ्य उपचारको विधिलाई गाउँगाउँसम्म पु¥याउने, बनलाई राष्ट्रियकरण गरेर त्यसलाई देशको प्रमुख आयस्रोतको अंग बनाउने कार्यहरू सुरु ग¥यो । विभिन्न मित्रराष्ट्रहरूसित सम्बन्ध स्थापित गरेर नेपालको महत्तालाई सम्पूर्ण संसारसामु प्रस्तुत ग¥यो । अन्तर्राष्ट्रिय जगत्मा त्यसबेला नेपाल साना राष्ट्रहरूले भरोषा गरेको प्रतिनिधि राष्ट्रको स्थितिमा उभिइसकेको थियो । यसका कार्यहरूलाई हेरेर सबै मित्र राष्ट्रहरूले सहयोगको हात बढाएका थिए ।

२०१६ को फागुन ७ को प्रजातन्त्र दिवसलाई तथा २०१७ को कात्तिक २६ को क्रान्ति दिवसलाई जननिर्वाचित सरकारले विकास र निर्माण सप्ताहको रूपमा मनायो । यो ऐतिहासिक दिनको स्मरणमा एक सप्ताहभरि अनेक कार्यहरूको उद्घाटन गरियो र अनेक कार्यहरूको शिलान्यास गरियो । निःसन्देह, सैन्य बलमा राजा महेन्द्रले पुस १ गते राष्ट्रघात नगरेको भए उनले मुलुकलाई एउटा ठूलो कारागारमा परिणत गरेर देशको अघि जाने सम्पूर्ण मार्गमा अवरोध खडा नगरेको भए, नेपाल अहिले दक्षिण एसिउयाको एक समुन्नत राष्ट्र भएर रहने थियो ।

सुवर्णशमशेरले जुन कार्य गर्नुभयो त्यसमा उहाँको सधैं– देश, जनता, पार्टी र प्रजातन्त्रलाई मात्र अगाडि राख्नु भयो । २०१७ साल पुस १ गते सुवर्णशमशेर देशबाहिर हुनुहुन्थ्यो । उहाँलाई निष्क्रिय भएर रहन राजा महेन्द्रले प्रलोभन दिन सकेनन् । पद र अन्य कुनै प्रलोभनले सुवर्णशमशेरलाई प्रभाव पार्न सक्दैन भन्ने कुरा उनलाई थाहा थियो । तर उनले अरू अनेक दबाबहरू दिएर उहाँलाई निष्क्रिय पार्ने प्रयत्न गरे । देश, जनता र प्रजातन्त्र माथि यति ठूलो अन्याय हुँदा म निष्क्रिय भएर रहन सक्तिन भनी सुवर्णशमेशरले भन्नुभयो । उहाँले २०१७ को माघमा पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो । त्यो सम्मेलनले प्रजातान्त्रिक संघर्षको सम्पूर्ण अधिकार सुवर्णशमशेरलाई सुम्पियो । राजा महेन्द्रले निरंकुशताको विरोधमा उहाँको नेतृत्वमा सशस्त्र क्रान्ति भयो । लामो संघर्षहरू भए ।

२०३० पछि सुवर्णजीको स्वास्थ्य स्थिति विग्रदै गयो । २०३३ र २०३४ मा आइपुग्दा उहाँ नितान्त नाजुक अवस्थामा पुगिसक्नुभएको थियो । त्यही बेला, २०३३ को अन्त्यतिर उहाँको अनुपस्थितिमा कोलकातामा नेपाली कांग्रेसको बैठक बस्यो । त्यही बैठकले बीपी कोइराला र गणेशमान सिंहलाई पार्टीबाट निष्काशित गर्ने निर्णय ग¥यो । त्यो थाहा पाएपछि २०३४ जेठ महिनामा गिरिजाबाबुले पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो । देश बाहिरै रहेका र देशभित्रबाट गएका धेरैको त्यसमा उपस्थिति थियो । महेन्द्रनारायण निधि पनि त्यसमा उपस्थित हुनुहुन्थ्यो । बीपी र गणेशमान सिंहलाई पार्टीबाट निष्काशित गर्ने कार्य सुवर्णजीबाट हुन सक्छ भन्नेमा निधिजीलाई विश्वास थिएन । सुवर्णजीलाई भेटेर यसको यथार्थ बुझ्न निधि पटनाबाट कोलकाता जानुभयो ।

निष्काशनको कुनै जानकारी सुवर्णजीलाई थिएन । यसबारे सबै कुरा निधिजीले अवगत गराउँदा सुवर्णशमशेर स्तब्ध हुनुभयो । उहाँले निधिजीसित भन्नुभयो– बीपी र गणेशमानजीलाई निष्काशित गरेको नेपाली कांग्रेस के नेपाली कांग्रेस भएर रहन सक्छ ? पार्टीमाथिको यो ठूलो षड्यन्त्र हो । म यसको छानबिन गर्छु र नेपाली कांग्रेसलाई जोगाएर राख्छु । नेपाली कांग्रेस माथिको यो स्थितिले उहाँ निकै चिन्तित हनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसलाई यथाशीघ्र बीपीलाई सुम्पन्न चाहनुहुन्थ्यो । उपचारपछि अमेरिकाबाट बीपी फर्कंदा कोलकातामा उहाँसित भेटेर मात्र नेपाल फर्कने गरी, बीपीको कार्यक्रम तय गर्न उहाँले गिरिजाबाबुलाई भन्नुभयो । सुन्दरराज चालिसे र अरू केहीलाई पनि भन्नुभयो । बीपी दिल्ली हुँदै २०३४ को असोजको अन्त्यमा कलकत्ता पुग्नुभयो । सुवर्णजीले बीपीलाई भन्नुभयो– मलाई सबैभन्दा बढी चिन्ता तपाईंलाई नभेटी मर्छु भन्ने थियो । भेट्न पाएँ । पार्टीको सबै जिम्मेवारी म तपाईंलाई सुम्पन्छु ।

बीपीले भन्नुभएको थियो– ठूलो संकटबाट यो पार्टीलाई तपार्इंले अघि बढाउनु भयो । म नेपाल फर्कन्छु । त्यहाँ मलाई फेरि गिरफ्तार गर्ने सम्भावना छँदैछ । अरु केही समयसम्म नेपाली काग्रेसलाई तपाईंले नै सम्हाल्नु पर्छ ।
सुवर्णजीले झन्डैझन्डै मृत्युशैय्यामा रहेर गरेको यो आग्रहलाई अन्ततः बीपीले स्वीकार गर्नुभयो । बीपीले २०३४ को कात्तिकमा पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो । त्यही सम्मेलनले किशुनजीलाई कार्यवाहक सभापति तथा गिरिजाबाबु र परशुनारायण चौधरीलाई महामन्त्रीमा चयन गरेको थियो । त्यसको केही दिनपछि २०३४ को कात्तिक २४ का दिन सुवर्णजीको कोलकातामा निधन भयो । उहाँको जन्म वि.सं. १९६७ को फागुन १७ गते भएको थियो । देश, जनता र पार्टीप्रति सम्पूर्ण रूपले आफूहरूलाई समर्पण गर्ने सुवर्णशमशेरको योगदानलाई नेपाली कांग्रेस वा नेपालको जनसंघर्षको इतिहासले श्रद्धा र सम्मानका साथ सदैव सम्झिरहनेछ ।

सन्दर्भ : सुवर्णशमशेरको ४२औं स्मृति दिवस (कात्तिक २४)