देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपामा बिरामी भेट्न पनि गुट

देशान्तर

काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एक सातादेखि उपचारार्थ भेन्टिलेटर हुँदै आईसीयूमा छन् र चिकित्सकहरूले अझ उनलाई कम्तीमा एक साता अस्पतालमै राखेर चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने बताइरहेका छन् । यस सन्दर्भमा उनलाई भेट्ने नेकपाका नेताहरूमा पनि गुट हावी भएको नेकपाकै स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीलाई भेट्न जानेमा सबैभन्दा बढी उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । त्यसपछि संसदीय दलका उपनेता सुभाष नेम्बाङ, कानुनमन्त्रीबाट मालदार स्वास्थ्यमन्त्री भएका भानुभक्त ढकाल र ओलीका रखवाला देखिने सञ्चारमन्त्री गोकुल बाँस्कोटा अग्रपंक्तिमा छन् । उनीहरू सबै ओली गुटका र स्वार्थसिद्धिका लागि दैनिक त्यहाँ उपस्थिति हुने बताइन्छ । समाचार स्रोतका अनुसार ओलीलाई चिकित्सक र उनकी पत्नीबाहेक कसैले भेट्न पाएका छैनन् ।

तर पनि स्वामीभक्ति देखाउन र आफ्नो स्वार्थसिद्ध गर्न यो भेटको लावालस्कर लागेको नेकपाकै नेताहरू बताउँछन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, उपनेता सुभाष नेम्बाङलाई सभामुख बन्नु छ, मन्त्री ढकाल भर्खर सुक्खा कानुन मन्त्रालबाट मालदार स्वास्थ्य मन्त्रालय पाएका छन् । अब स्वामिभक्त बाँस्कोटाको त कुरै भएन । यी नेताहरू ओलीलाई भेट्न नपाए पनि उनका मान्छेहरूका अगाडि स्वामीभक्त देखिन उपस्थित भएको बताइन्छ ।

यता प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा काठमाडौं ओर्लनेबित्तिकै ओलीलाई भेट्न अस्पताल पुगे पनि नेकपाकै नेताहरू माधव नेपाल, झलनाथ खनाललगायतका अस्पताल गएका छैनन् । किनभने माधव नेपाललाई त ‘अघुल्टो हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भने झैं भएको छ ।

प्रम ओली उपचारको सिलसिलामा सिंगापुर जान लाग्दा स्वास्थ्यलाभको कामना भन्दा उल्टै ‘तपाईको कामना चाहिएको छैन । तपाई त म मरे हुन्छ भन्ने कामना गर्नुहोला’ भन्ने निम्नस्तरको जवाफ पाएपछि नेसनल मेडिकल कलेज वीरगन्जका सञ्चालक बसुररुद्दिनले ‘टिकट काट्छु भन्दा पनि मर्यो कि मरेन भनेर हेर्न आएको’ भन्ने जवाफ पाइएला भनेर नगएको आफू निकटसँग बताएका थिए ।

त्यसैले अहिले पनि उनी नगएको बताइन्छ । त्यसमाथि प्रचण्डलाई कार्यकारी अध्यक्ष तोक्ने र मन्त्रिमण्डल पुनर्गठन गर्नुभन्दा अगाडि चार घण्टाको वार्तामा दिएको आश्वासनको ठिक उल्टो परिणाम आएकोले पनि उनी ओलीसँग असन्तुष्ट छन् । यसरी बिरामी हुँदासमेत नेकपामा गुट र स्वार्थको मात्र राजनीति हाबी भएको कार्यकर्ताहरू बताउन थालेका छन् ।