देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवलपरासीको रानीनगरमा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा

देशान्तर

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

विहीबारबाट संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो ।  उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको जनाइएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्ने तथा सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एशियाले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९९ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा परिचित एनआईसी एशियाका करिब १९ लाख ग्राहक रहेका छन् ।

बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाइएको छ ।