देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिकमा अत्याधुनिक अस्पताल भवनको शिलान्यास, यस्तो हुनेछ अस्पताल

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माण सुरु गरेको छ । उक्त भवनको आज नर्मिक हस्पिटलका अध्यक्ष वसन्त चौधरीले भूमिपूजन गर्दै शिल्यान्यास गरेका छन् । योसँगै देशका सबै प्रदेशहरुमा अत्याधुनिक हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना समेत सार्वजनिक गरिएको छ ।

नयाँ भवनको निर्माण पछि नर्भिक अस्पताल २०० शय्यायुक्त, नेपालकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुने जनाइएको छ । हस्पिटलको निर्माणाधिन नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पुर्याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधाहरु जडित हुने नर्भिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१ वर्गफिट हुने र जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव रू. दुई अर्व हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्नेछ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ ।

‘वि.सं. २०५० सालमा काठमाडौंको थापाथलीमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट वहुआयामिक एवम् वहुवैशिष्ट्य Tertiary Care हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पुर्याउदै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली चिकित्सा फाँटका धेरै विधामा अग्रणी हुँदै इतिहास रच्न/कोशेढुङ्गा स्थापित गर्न सफल यस हस्पिटलको मुख्य उद्देश्यमा राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिहरुको संयोजन गर्दै विश्वस्तरिय स्वास्थ्य सेवा प्रदायक संस्था बन्नु रहेको छ ।’