देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेङ्गु रोगको निशुल्क उपचार गरिने

देशान्तर

काठमाण्डौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीलाई निशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ ।

पछिल्लो समय काठमाण्डौलगायत देशभर डेङ्गु रोग प्रकोपका रूपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई मन्त्रालयले मंगलबार यो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना डेङ्गु रोगका बिरामी उपचारत छन् ।

स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले अस्पतालको मंगलबार निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिएका छन् ।

अस्पतालमा मंगलबार मात्र ५२२ जनाले डेङ्गु रोगका बारेमा परीक्षण गराएको निर्देशक चिकित्सक वासुदेव पाण्डेले जानकारी दिए । रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको छ ।