देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टेक्सासमा निशुल्क नेपाली पाठशाला

देशान्तर

टेक्सास । नेपाली समाज टेक्सास (एनएसटी)ले नेपाली बालबालिकाहरुलाई लक्षित गरी ‘नेपाली पाठशाला’ सुरु गर्न लागेको छ । यही सेप्टेम्बर १५ तारिखदेखि सुरु हुन लागेको नेपाली पाठशालाका कक्षाहरुमा ५ देखि १३ वर्षका नेपाली बालबालिकाहरुलाई निशुल्क भर्ना लिइएको एनएसटीले जनाएको छ ।

नेपाली बालबालिकाहरुलाई नेपाल चिनाउने र नेपाली समुदायबीच एकता कायम गराउने उद्देश्यले सुरु हुन लागेको नेपाली पाठशालामा नेपाली, सामाजिक शिक्षा, गणित, योगा, नृत्य, अंग्रेजी (पाको उमेरका केटाकेटीका लागि), टेक १०१ (आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक) लगायतका कक्षाहरु संचालन हुनेछन् । यसमध्ये नेपाली र सामाजिक शिक्षालाई अनिवार्य गरिएको एनएसटीले जनाएको छ ।

‘नेपाली पाठशाला’मा ५ देखि ७, ७ देखि १० र १० देखि १३ वर्ष उमेरका तीन वटा समूह बनाई कक्षाहरु संचालन गरिनेछ ।

अरभिङस्थित एनएसटी हलमा प्रत्येक आइतबार दिउसो १ देखि ४ बजेसम्म संचालन हुने कक्षामा १५० जना बालबालिकाहरुलाई भर्ना लिइएको एनएसटीका कार्यसमिति सदस्य मधुर शर्माले जानकारी दिए । पाठशालामा निशुल्क कक्षाका साथै बालबालिकाहरुका लागि खना, खाजा तथा सफ्ट ड्रिक्सहरु पनि निशुल्क उपलब्ध गराइने उनले बताए ।

यसैबीच यही सेप्टेम्बर १८ तारिखका दिन एनएसटीले  F1 Student  सेमिनारको आयोजना गर्ने भएको छ । नेपाली मन्दिरको एनएसटी हलमा आयाजना हुने सेमिनारमा UTA, UTD, UCCD, North Lake, El Centro कलेजहरुको बारेमा ओरिएन्टेसन दिइने जनाइएको छ ।

यसैगरी कानुनी परामर्श सत्र, F1 बारेको जानकारी एवं सल्लाह तथा DFW मा भएका विश्वविद्यालय र सामुदायिक कलेजहरुकोबारेमा महत्वपूर्ण जानकारीहरु उपलब्ध गराइने शर्माले जनाकारी दिए ।

यसका अलावा सेमिनारमा कला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, रमाइला खेल, खाना तथा उपहारको पनि व्यवस्था गरिएको उनले बताए ।