देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छिमेकीका सद्भाव देशका लागि अमूल्य पुँजी

देशान्तर

यो वर्षको दसैं एउटा ऐतिहासिक समय भएर बित्यो । दसैं नसकिँदै, पूर्णिमाको अघिल्लो दिन उत्तरतर्फको छिमेकी मुलुकबाट लामो समयपछिको उच्चास्तरीय भ्रमण सुरु भयो र पूर्णिमाकै दिन सम्पन्न पनि भयो । यस्तो भ्रमणकर्ता हुनुहुन्थ्यो चीनका राष्ट्रपति सी जिनपिङ । नेपालीहरूका लागि दसैं आफैँ एउटा उत्सव हो भने त्यसमा यो भ्रमण पनि अर्को उत्सवका रूपमा थपियो । नेपालसँग जम्मा दुई देशसँग मात्र सीमा जोडिएको अवस्थामा त्यहीमध्येको एउटा देश चीनको सर्वोच्च तहबाट भएको भ्रमण वास्तवमा उत्सव नै थियो र हो पनि जस्तो केही पहिले अर्काे छिमेकी भारतबाट यस्तै तहको भ्रमण हुँदा मनाइएको थियो ।

उत्सवका दिनहरू वास्तवमा नै बल्लबल्ल आउँदा रहेछन् । करिव आधा भाग भूभाग जोडिएको एउटा छिमेकी देशबाट यस्तो भ्रमण २३ वर्ष पछि भएको अवस्था हो । त्यसबेला नेपाली कांग्रेसको सरकार रहेको बेला चीनका राष्ट्रपति तहको भ्रमण भएको थियो । पछिल्लो समय यस्तो उच्च तहको भ्रमण हुन अर्को छिमेकी देश भारतबाट पनि लामै समय लागेको थियो । भारतैकै कार्यकारी प्रमुखको पनि भ्रमण दुई दशकपछि नै भएको थियो । त्यसपछि भारतको यस्तो भ्रमण निरन्तर नै भइरहेका सन्दर्भमा अर्को छिमेकीबाट पनि यो थालनी हुनु वास्तवमा देशका लागि एउटा ठूलो अवसर अर्थात उत्सव नै हो ।

छिमेकी मुलुक चीनको सम्पूर्ण शक्तिको स्रोत हुनुहुन्छ राष्ट्रपति सी जिनपिङ । त्यसकारण उहाँको यो आगमन आफैँमा एउटा महत्वको पक्ष हो । यसले नेपालप्रति विश्वव्यापी चासो बढाएको त छ नै साथै नेपाल दुईवटा यस्ता विश्वशक्ति राष्ट्रको बीचमा छ भन्ने यो सन्देश आफैंमा पनि अर्थकारी हुन्छ ।

नेपालका यी दुई छिमेकी विशाल कायका त छन् नै यसका साथै राजनीतिक पद्धतिमा फरक पनि । यस्तो बेला स्वाभाविक छ एउटा तानातानीको अवस्था पनि आउँछ र व्यावहारिक कारोबारले उत्पन्न गर्ने अवसरमा कतै झुकेको हो कि भन्ने कसबाट अर्थ पनि लाग्ने हुन्छ कतिपय समयमा । तर यो भ्रमणले त्यस्तो अवस्थालाई आफैं मेटिदियो । यो भ्रमणका लागि यस्तो अवसर रोजियो जो आफंैमा त्रिदेशीय सम्बन्धको महत्व बुझाउँछ । अर्को छिमेकी मुलुक भारतकोे चेन्नईमा त्यो देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीसँग लामो भेटवार्ता गरी, उहाँले नै जनाएअनुसार आफू नेपालको भ्रमणमा जान लागेको जानकारी गराउनु भएको भन्ने सन्देश दिनुभयो राष्ट्रपति सीले । कूटनीतिमा यसको के अर्थलाग्ला भन्ने आफना्े ठाउँमा होला तर नेपालीले बुझ्दा छिमेकीप्रतिको यो एउटा सहजताको उदाहरण पनि हुन सक्तछ ।

एकातिर प्रभुत्वशाली चीनका राष्ट्रपतिको २३ वर्षपछि भएको भ्रमण नेपालका लागि स्वयंमा उपलब्धिमूलक थियो नै र हो पनि । भारतको चेन्नईबाट सीधै नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सीले दुई दिनका २२ घन्टा नेपालमा बिताउनु भएको थियो । त्यो समयमा भेटघाट र छलफलबाहेक राजकीय सम्झौता वार्ताको विषयले कति समय पायो र त्यति समयमा नेपालले कति उपलब्धि हासिल गर्न सफल भयो भन्ने आफ्नो ठाउँमा छन् । यो ठाउँमा कसले के पायो वा के दिइयो भन्ने भन्दा पनि यो भ्रमणले छोडेका सन्देशहरू महत्वका छन् जो देशका लागि अमूल्य सम्पत्ति हुन् ।

विश्वको शक्तिशाली मुलुकको कम्युनिस्ट पार्टीको महासचिव, राष्ट्रपति र विश्वमै ठूलो मानिने सैनिक संरचनाको ‘अधिपति’ सी जिनपिङको नेपाल भ्रमण स्वाभाविक रूपमा नेपालका लागि ऐतिहासिक महत्व राख्छ नै । यो भ्रमणका दुई दिन विश्वकै दृष्टि नेपालतर्फ खिचियो । भ्रमणक्रममा भएका सम्झौता र त्यसका बँुदाको महत्व त आफ्ना ठाउँमा छन् नै त्यसबाहेक विश्वको यस्तो ध्यान नेपालतिर आकृष्ट हुनु आफैंमा एउटा अर्थकारी भयो नै । एउटा कुरा अझै ख्याल गरौं ममल्लापुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफू नेपाल भ्रमणमा जाने जानकारी दिएको राष्ट्रप्रति सीले नै सार्वजनिक गर्नु भएको कुराको दीर्घकालीन अर्थ रहन्छ । यसलाई सामानन्यरूपले बुझ्दा पनि नेपालको अवस्थितिलाई दुई छिमेकी मुलुकले बुझेको र त्यसलाई बुझाउन खोजिएको मानेका छन् पर्यवेक्षकहरूले ।

यो भ्रमणमा नेपाली आम तहमा मन तान्न सक्षम भएको विषय हो सुशासनको सन्दर्भ । शासन जस्तो होस् त्यसको प्रमुख सूत्र भनेको शुद्धता र सुशासन नै हो भन्ने सन्देश पनि शासनका लागि अनुकरणीय हुनुपर्छ । राजनीतिक पद्धति जस्तो भए पनि त्यसको शासनमा सुशासन भयो भने मात्र त्यो देश र त्यसका नागरिकले सहज जीवन निर्वाह गर्न पाउँछन् भन्ने पक्षबाट यो कुरा प्रकट भएको मान्नुपर्ने हुन्छ । यसका पक्षमा काम गर भन्ने यो तहबाट आएको सुझावलाई अहिलेको शासनले विना सर्त ग्रहण गरेमा र सोअनुसार व्यवहार गरेमा वास्तवमा नै सरकारले भन्ने गरेको समृद्धिको यात्रा यही बाट सुरु हुनेछ ।

शासनमा जवसम्म सुशासन हुँदैन त्यो बेलासम्म मुखले जतिसुकै ठूला कुरा गरे पनि नागरिकले पत्याउने अवस्था बन्दैन । ख्याल रहोस् नेपालका सहकर्मीलाई यो भ्रमणक्रममा धेरै ठाउँमा अर्थात् धेरै पटक हुने गरी राष्ट्रपति सीले नै जनपक्षीय शासनमा सुशासनको आवश्यकता सुझाएको अवस्था छ । यसलाई शासनमा रहेकाहरूले शासनको सूत्र नै बनाएमा मात्र देशले त्यसबाट लाभ लिन पाउछ । सरकारको कार्यशैलीमा शुद्धता नरहेको, सुशासन नभएको र जनपक्षीय हुन नसकेको सन्देश हो यो । अप्रिय लाग्ला तर देशबाहिर समेत अहिलेको शासन कसरी चलिरहेको छ भन्ने सन्देश गएको बुझाउँछ यो कुराले र घुमाउरो तर स्पष्ट शैलीमा यसरी आयो जुन नेपाली जनताको गुनासो अनुरूप नै थियो । यो सुझावलाई आत्मसात् गर्ने भनी नेकपाका नेताहरूबाट नै प्रकट हुनु सकारात्मक हो । त्यसबारेको एउटा समाचार ‘ओली र दाहाल निष्कर्ष : स्वच्छता र सुशासनका आधारमा सरकार र पार्टी सञ्चालन गरिने भनिएको त्यो समाचार शीर्षकको पेटबोलीमा भनिएको छ –‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरकारको कार्य प्रभावकारी बन्न सकेको छैन । पार्टी र सरकार दुवैमा स्वच्छता र सुशासन कायम गर्दै सरकार र पार्टी दुवैको काम प्रभावकारी बनाउनुपर्ने निष्कर्ष अध्यक्षद्वयले निकालेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (२७ असोज) दुई अध्यक्षबीच भएको ‘वान टु वान’ छलफलमा नेकपाका नेतालाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वच्छता र सुशासनमा ध्यान दिन दिएको सुझावलाई लागू गर्ने सहमत भएको छ । पार्टी र सरकार सञ्चालनमा सीका सुझाव कार्यान्वयन गर्दा मुलुक र जनताको हितमा हुने निष्कर्ष ओली र दाहालको रहेको बालुवाटार स्रोतले जनाएको छ ।’

यहाँ उल्लेख भएजस्तै अवको शासन वास्तवमा नै सुशासनमा आधारित भयो भने देशका लागि यो सानो उपलव्धि हुने छैन । यतिबेलासम्म सरकार जे गर्छु भनिरहेको छ काम चाहि त्यसको उल्टो भइरहेको थियो । माध्यमहरूले वारम्वार सचेत गराउँदा पनि कतिपय अवसरमा त त्यस्ता कुरालाई सरकारले पचाउन नसकेका अभिव्यक्तिहरू आइरहेका थिए । माथि उल्लेख भएको विवरणलाई आधार मान्ने हो भने सरकार आफैं पनि सुशासन कायम गराउन नसकेको बोधमा पुगेको मान्नु पर्छ । राष्ट्रपति सी भ्रमणको यो पक्ष त्यसकारण पनि उल्लेख्य रहेको मानिएको हो । हेर्दा कुरा सामान्य होला तर अरूले भनेको मान्दै नमान्ने सरकारका लागि यो एउटा चेतावनी पनि हुन सक्तछ । स्मरणीय छ यो भ्रमण हुनुभन्दा केही दिन अघिमात्र सत्तारूढ दल नेकपाले चिनियाँ कम्युनिष्ट पार्र्टीको विचारधारा अनुकरण गर्ने भनी जानकारी बाहिर ल्याइएको थियो । त्यसलाई आधार मानिँदा चिनियाँ पक्षबाट अनुशासन नमान्ने यस्तो विचारको अनुसरण गरेर कुनै अर्थ हुँदैन भन्ने जवाफ आएको बुझ्न सकिन्छ । कुरो जेहोस् यसमा सुधार आयो भने त्यसलाई पनि यो भ्रमणको देन मानौं ।

आफ्नो भ्रमणको पहिलो दिन र पहिलो भाषणमा नै व्यक्त भएका राष्ट्रपति सीका भनाइमा जोड दिइएको विषय थियो योजना कार्यान्वयन र कुराभन्दा काममा जोड दिनुपर्ने कुरा । यो पनि देशका लागि त्यत्तिकै सान्दर्भिक हुनुपर्छ । राष्ट्रपति सीको पहिलो सम्बोधनमै भनियो –‘म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरूलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष मनाएका छौं । हाम्रो उद्देश्य छ– दुई शतवाषिर्कीका दुई लक्ष्य । यसको पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष्य चाहिँ ३० वर्षपछिको हो । तर हाम्रो काम गर्ने मार्ग स्पष्ट छ– लिइएका लक्ष्यहरूलाई कार्यान्वयन गर्नुपर्छ ।’

एउटा छिमेकी भए पनि विगत २३ वर्ष देखि नभएको यस्तो उच्च तहको राजकीय भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङको पहिलो. सम्बोधनको पहिलो वाक्य नै किन यसरी प्रकट भयो भन्ने एउटा जिज्ञासा हुनु सक्तछ । उहाँले भन्नु भएकोे ‘हामीले बनाएका योजनाहरूलाई पूरा गरेरै छोडौं, हामीले चीनमा पनि यस्तै गरेका छौं’ भन्ने भनाइको अर्थ शासकीय शैली विशेष नै रहला । त्यसमाथि ‘हामीले चीनमा पनि यस्तै गरेका छौं’ भनी विशेषरूपले दिइएको जोडले बुझाउँछ नेपालको शासन योजनाहरू बनाउने र त्यसलाई पूरा गर्ने खालका देखिएनन् भन्ने । त्यसै पनि योजनाहरू लहडमा घोषणा हुने गरेका आरोप लागिनै रहेको अवस्थामा पाहुनानबाट यस्तो भनाइ आएको हो । राष्ट्रपति सीले नेपालको भ्रमण गरिरहँदाको समयमा पनि नेपाली आमतहमा नै नेपालको यतिबेलाको शासन केवल भाषण गर्ने तहको मात्र रहेको बुझाइ थियो । भाषण चाहिँ धेरै गर्ने अर्थात् विकासे कुराले आकाश–पाताल जोडिदिने तर सोअनुसार काम चाहिँ गर्ने नगरिएको आरोप प्रतिक्रियात्मक रूपमा आइरहेका थिए । चिनियाँ विशिष्ट पाहुनाको बुझाइ पनि त्यस्तै रहेछ अर्थात् नेपालीले महसुस गरेअनुसार नै । माथि उल्लेख भएजस्तो सुशासनमा जस्तै यसमा पनि सुधार आए मुलुकलाई फाइदा नै हुनेछ ।

उत्तरी छिमेकी मुलुकका राष्ट्रपति सीको यो भ्रमणको राजनीतिक भेटघाटको आरम्भ नेपाली कांग्रेसका सभापति एवं प्रतिपक्षी दलका नेतासँग भेटवार्ता बाट सुरु भयो । निश्चय पनि यो तारतम्य यहाँको सरकारी पक्षले मिलाएको होला भन्ने मानेनन् पर्यवेक्षकहरूले । त्यस्तो थियो भने सरकारले पहिले नै सूचना दिने थियो होला । त्यस्तो केही भएन । त्यसकारण यो काम बरु चिनियाँ पक्षकै सुझबुझ र अग्रसरतामा भएको बुझायो । समाचारमा आएअनुसार नेकाका सभापतिसँगको भेटमा राष्ट्रपति सीले नेपाली कांग्रेस र तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीनसँग स्थापित गरेको सम्बन्धको सुदृढ जगको स्मरण गरेर इतिहास सम्झाइदिएको प्रसंग निकै चल्यो । सीको यो भ्रमण हुनु अघिसम्म सरकार प्रतिपक्षप्रति निकै नै असहिष्णु थियो । राष्ट्रपति सीले जव पहिले नै प्रतिपक्षलाई भेट्नु भयो त्यसलगत्तै सरकारको व्यवहारमा परिवर्तन आयो जुन कुरा नेपाली कांग्रसले आयोजना गरेको चियापान कार्यक्रममा प्रकट नै भयो । यो पनि यो भ्रमणको एउटा सकारात्मक पक्ष हुनुपर्छ नेपाली जनताले बुझेको तहमा ।
(महर्जन, नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।)