देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गमला बनाएर मासिक ५० हजार कमाई

देशान्तर

झापा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ ।

उनले गमला बनाएर नै घर धानेकी छन् । शुरुमा गमलासहित  दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनी गमला मात्रै बनाउँछिन् ।

ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उनीसहित उनका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कन्छन् । गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउँछिन् ।  सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।

पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्छन् । एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्छन् ।  साताकै रु १५  हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ ।

त्यसो त माटो खरीदका लागि मासिक १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् । “बुबा (बाबुलाल) ले यही काम गर्नुभयो”, रामेश्वरले भने, “बुबाले गरेको देखेर सिकेको हो यो काम, यही कामले हामीलाई बचाएको छ, चार छोराछोरी हुर्कायौँ, बढायौँ र पढायौँ पनि ।”

हिउँदयाममा मात्रै गरिने यो कामसँगै उनीहरु खेती पनि गर्छन् ।  तर, खेतीबाट भन्दा गमला बनाउँदा नै धेरै आम्दानी हुने गरेको रामेश्वरले बताए । “खेती गर्दा कहिले उत्पादन राम्रो दिन्छ, त कहिले उत्पादन दिदैन”, उनले भने, “गमला बनाएपछि नबिक्ला भन्नु पर्दैन, घर बाटै बिक्री हुन्छ । खेतीभन्दा राम्रो आम्दानीको स्रोत हाम्रो गमला बनाउने काम हो ।”

त्यसो त पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन् । उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षौदेखि जीवन निर्वाह गर्दै आएका छन् । “हातमा सीप भए जिउन सकिनेरहेछ”, सावित्राले भनिन्, “हामी यहाँ फरक–फरक सामग्री बनाएर बिक्री गर्छौँ, कसैले गमला त कसैले दियो, कसैले खुत्रुके अनि कसैले घैला । यही कामले हामीलाई बचाएको छ ।” रासस