देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरस

देशान्तर

कति कुरा अरू थिए । तर सबभन्दा पहिले ‘कोरोना भाइरस’ । चीनमा अहिले संक्रमितहरूको संख्या बढ्दैछ, कोरोना भइरसले । यो नयाँ हुनाले यसलाई ‘नोबेल’ भनियो । यसले चीन जस्तो ठूलो र आर्थिक व्यवस्था बलियो भएको देशलाई समेत हल्लाइदिएको छ । तर चीन सरकारको प्रयास अत्यन्त प्रशंसनीय मात्र होइन, उदाहरणीय पनि छ । म त एउटा कुरामा चकित छु । चीनले एक हप्तामै एउटा एक हजार शैय्याको अस्पताल यसका लागि निर्माण गरिदिएको छ । यस्तो तीव्र निर्माण मैले सुनेको थिइनँ । सरकारले लापर्बाही गर्ने स्वास्थ्यकर्मी माथि तत्काल कारबाही गरेको छ । मर्नेहरूको र संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढिरहेको छ । ‘विश्व–संकट’ घोषित भइसकेको छ, कोरोना भाइरस । केही देशमा संक्रमण पनि देखिएको छ । हाम्रो देश पनि ‘अलर्ट’मा छ । आफ्ना देशका नागरिकलाई झिकाउने प्रबन्ध भइसकेको छ, भन्ने खबर छ । ‘ढिलो भयो’ भन्नु अघि नै हाम्रा विद्यार्थी, नागरिकहरू आइपुगुन् यही कामना छ । यहाँ त यो संक्रमण नछिरोस्, यही कामना गरौं, उपाय गरौं ।
………
तैपनि एकाध आशाको सञ्चार हुने ठाउँ देखिन थाल्यो रे । चिसोमा फिजिएकोले चिसो कम हुन थालेपछि कोरोनाको प्रकोप कम हुँदै जान्छ, भन्छन् । केही देशका वैज्ञानिक यस रोगको खोप खोजिरहेका छन् । तिनको भनाइअनुसार लगभग डेढ वर्षमा त्यो खोप खोजिन्छ रे । तपाईंलाई याद छ, पहिले सवा वर्षको अनुमान गरिएको थियो । तर त्यो काम थाल्नुअघिको कुरो थियो । यथार्थ अलिक फरक भइहाल्छ । हाम्रो त कामना छ, चाँडो सफलता मिलोस् ती वैज्ञानिकलाई । एक दिनमा १०३ व्यक्तिको मृत्यु भएछ, चीनमा । मुटु हल्लाउने खबर थियो त्यो । तर त्यसैसित नत्थी भएर एक आशावादी खबर पनि आएको थियो । त्यस दिनपछि संक्रमितको संख्या अलि कम भएको छ । यो संख्या घट्दै जाओस् यही हो चाहना विश्वको । संसारमा, हर वर्ष, कहिले यो भाइरस, कहिले त्यो भाइरस आइरहन्छ । ग्रिन हाउस इफेक्ट, ग्लोबल वार्मिङ, बढ्दो प्रदूषण, केकेमा लुकेको छ यसको कारण । पशुपन्छीबाट लाग्ने रोगभन्दा यो त मानिसबाटै सर्ने रोग रहेछ । विडम्बना के भने, जुन विशेषज्ञ डाक्टरले यसबारे विश्वलाई पहिलोपटक जानकारी दिए, तिनकै मृत्यु भएछ ।
………
दिल्लीको चुनावमा अरविन्द केजरीवाल यति बेस्सरी जिते कि त्यही पनि आश्चर्य प्रकट गरिँदैछ । ९ वर्ष मात्र अघि राजनीतिमा प्रवेश गरेका केजरीवाल, २०७० मा ६२ सिटमा जिते । दोस्रो पार्टी भयो बीजेपी, तर अन्तर हेर्नुस्, उसको जम्मा ८ सिट आयो । कांग्रेस त के भयो ? सारा मिडियामा व्यंग्य गरिँदैछ, स्थिर रह्यो, पहिले पनि शून्य, यसपालि पनि शून्य । ‘नील बरे सन्नाटा’ भन्ने हिसाबमा पारेका छन् कांग्रेसलाई । भारतको सबैभन्दा ठूलो, पुरानो पार्टी कांग्रेसलाई । नेहरू–पटेलजस्ता नेताले मलजल हालेको–हुर्काएको पार्टी । महात्मा गान्धीको आशीर्वाद पाएको पार्टी । के भयो त्यसलाई । बीजेपी त, भोजपुरीको उखानजस्तै ‘पकाइल बानी त का हथवा उपरे नु बा’ भन्दै भन्न थालेको छ, पहिलेभन्दा भोट प्रतिशत बढेको छ । ठीक छ, यो पनि चित्त बुझाउने बाटो हो । कांग्रेससँग त त्यो पनि भएन । त्यसकारण अहिलेसम्म कांग्रेस ‘मौन व्रत’ धारण गरेर बसेको छ । एउटै प्रतिक्रिया ठूला नेताको सुनिएको छैन । मोदीसमेत यो लेख्दासम्म केही बोलेका छैनन् । मिडियामा लेखिँदै छ, केजरीवाललाई– ‘तेरा झाडु चल गया’ । झाडु ‘आप’को चुनाव चिन्ह हो । अनि यो प्यारोडी के को बनाइएको हो थाहा छ ? एउटा पुरानो हिन्दी फिल्मी गीत छ, ‘तेरा जादु चल गया…’ त्यसैको हो । केजरीवालले बत्तीको ‘लोडसेडिङ’ मात्र बन्द गरेनन्, सस्तो मात्र होइन, ‘फ्रि’ आदि आदि । भोट त त्यसैले पाए । केजरवाल भन्थे, प्रचार गर्दा, काम गरेको छ भने भोट देऊ नभए नदेऊ । तिनै ‘फ्रि’ कामका कारण जनता प्रभावित भए मुख्य रूपमा भनिन्छ । उनका विरोधीहरू भन्दैछन्, ‘दिल्लीका जनतालाई, मुफ्तखोर बनायो, केजरीवालले । जेसुकै होस् अब ‘आप’ छलाङ मारेर, अर्को चुनावमा केन्द्रतर्फ पनि भिड्न सक्छ भन्ने अनुमान पनि गरेका छन् । हामीकहाँ त ‘फ्रि’ त छाडिदिऊ, अहिले लोडसेडिङ हटेको छ, त्यही पर्याप्त छ । कुलमान घिसिङकलाई आज बच्चाबच्चा सम्झिन्छन् । उनको नाउँ कण्ठ छ सबलाई । नत्र याद गर्नुस् त, हामीले १८ घण्टासमेत ‘लोडसेडिङ’ को मार झेलेको हो । कहिले कुलेखानी सुक्थ्यो । कहिले अनावृष्टि हुन्थ्यो, कहिले यो कहिले त्यो । तर लोडसेडिङ हुन्छ–हुन्छ । कुलमान घिसिङपछि कति सब कारणहरू दिनबाट जोगिएका छन्, महारथीहरू । अनि ? फ्रिको कुरो सोच्ने त हाम्रो अधिकारै थिएन ।